Comments Add Comment

‘लकडाउन’ लोकसेवा तयारीका लागि सुवर्ण अवसर !

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन देशमा अहिले लकडाउन गरिएको छ । यो लकडाउन लोकसेवा परीक्षाको तयारी गर्नेहरुका लागि एउटा अवसर हो ।

समस्याहरुले चुनौती मात्रै दिँदैनन्, अवसर पनि लिएर आएका हुन्छन् । निजामति सेवामा प्रवेश गर्नका लागि लोकसेवा आयोगले लिने परीक्षा पास गर्नुपर्छ । लोकसेवा परीक्षा पास गर्नका लागि एकदमै मेहनत गर्नैपर्छ । यो तयारीका लागि लकडाउनले राम्रो अवसर दिएको छ ।

निजामति सेवामा प्रवेश गर्न चाहने, सुरक्षा निकायमा प्रवेश गर्न चाहने, बैंक तथा वित्तीय क्षेत्रमा प्रवेश गर्न चाहने अथवा लोकसेवा पास गर्न चाहानेहरुका लागि अहिले यो ‘गोल्डेन चान्स’ हो ।

किनभने, अहिले अफिसमा काम गर्नेहरुलाई अफिस जानुपरेको छैन। अनावश्यक भेटघाट बन्द भएका छन् । अनावश्यकरुपमा खेर जाने समय बचेको छ । यो समयको सदुपयोग गर्दै अहिले लोकसेवाको तयारी गर्न सकिन्छ ।

अरुका लागि ठूलो चुनौती भए पनि लकडाउन लोकसेवा तयारी गर्नेका लागि एउटा अवसर बनेको छ । लोकसेवा तयारी गर्नका लागि कक्षा लिनुपर्ने वा विज्ञलाई भेट्नैपर्छ भन्ने छैन । कुनै विशेष विषयमा बुझ्न विज्ञलाई भेट्नुपर्छ, नत्र घरमै बसेर स्वअध्ययनबाट लोकसेवा पास गर्न सकिन्छ ।

कुन विषयको तयारी गर्ने हो, त्योसँग सम्बन्धित पाठ्यपुस्तक सामग्रीहरु संकलन गर्ने र त्यसपछि सबै आफैंले अध्ययन गर्नुपर्छ । यसरी अध्ययन गरिसकेपछि पाठ्यक्रम हेर्ने र गत वर्ष सोधेका प्रश्नको जवाफ लेख्ने कोशिस गर्नुपर्छ । जवाफ लेखिहाल्न सकिएन भने प्रश्नोत्तर शैलीमा आएका किताबहरु अध्ययन गर्न सकिन्छ । यसले एउटा आइडिया दिन्छ ।

पढ्दापढ्दै कुनै विषय अस्पष्ट भयो भने अनलाइन क्लासहरु पनि सञ्चालन भइरहेका छन् । विभिन्न निकायहरुले युट्युव, फेसबुक लाइभमार्फत क्लास दिइरहेको अवस्था छ ।

चैतन्य इन्स्टिच्युट अफ म्यानेजमेन्टले अनलाइन कक्षा दिइरहेको अवस्था छ । अनलाइन सामाग्री नेपालका मात्रै होइन, पाठ्यक्रम मिल्ने अन्य देशका पनि हेर्न सकिन्छ । भारतको युनियन पब्लिक सर्भिस कमिशन (यूपीएससी) छ, त्यसबाट पनि हामीले सामग्रीहरु लिएर, भिडियोहरु हेरेर आइडिया लिन सक्छौं ।

भौतिकरुपमा भेट गर्न अहिले मिलेन, कुनै कुरा अस्पष्ट भयो भने विज्ञसँग अनलाइनकै माध्यमबाट पनि कक्षा लिन सकिन्छ । लकडाउनले भेट्न गाह्रो भएको छ । तर, युट्युवमा भिडियो हेरेर अध्ययन गर्न तथा घरमै बसेर पढ्न सजिलो भएको छ ।

सुरक्षित ढंगले विषय मिल्ने, पाठ्यक्रम मिल्ने, रुचि मिल्ने निजामति सेवामा प्रवेश गर्ने साथीहरु हुनुहुन्छ भने बढीमा तीनजना समूहमा अध्ययन गर्न पनि सकिन्छ । यसका लागि पनि यो धेरै राम्रो समय हो । यतिबेला कलेज पनि छैन, दिमाग अन्त ‘डाइभर्ट’ नहुने भएकाले अध्ययनका लागि यो समय धेरै राम्रो हो ।

यो वर्ष लोकसेवाले परीक्षा हुँदैन कि भन्ने एक किसिमको सूचना गएको छ । लोकसेवा आयोग एउटा संवैधानिक निकाय हो । आयोगले छलफल गरेर ठोस निर्णय नगरी परीक्षा गर्दैन भन्न मिल्दैन । विज्ञापन भइसकेका र परीक्षाको चरणमा प्रवेश भइरहेकाको परीक्षा हुन्छ ।

यो वर्ष हुने नायव सुब्बा, शाखा अधिकृत, उपसचिव, सहसचिवको परीक्षाहरु रोकिने अवस्था छैन । यी तयारीका लागि सामग्री संकलन, अध्ययनका साथसाथै लेखका अध्यास पनि गर्नु जरुरी छ । हामी लोकसेवा आयोगमा जति पास भयौं, लेखनशैली भएका कारण पास भयौं । जति फेल भयौं, त्यो लेखनशैली नभएका कारण फेल भयांै ।

मलाई त के लाग्छ भने, लोकसेवा परीक्षा दिने मान्छे एक तहको ज्ञान नभई त्यहाँसम्म पुग्दै पुग्दैन । अर्को, शाखा अधिकृत र त्योभन्दा तलका परीक्षा त प्रथम चरण पनि पास गर्नुपर्छ । नलेज नभएको मान्छेले त पहिलो चरण पनि पास गर्दैन ।

त्यसैले द्वित्तीय चरणमा प्रवेश गरेको मान्छेले एकखालको नलेज, आइडिया लिइसकेको हुनुपर्छ । त्रुटि कहाँ हुन्छ भने समय व्यवस्थापनमा । सबै प्रश्नको समान ढंगले जवाफ लेख्न सक्दैन, कुनैलाई लामो लेख्ने र कुनैलाई छोटो लेख्ने त कुनै प्रश्नको जवाफ पूरै लेख्ने र कुनै लेख्दै नलेख्ने हुन्छ ।

लेख्ने कुराहरु फम्र्याटमा लेखिएका हुँदैनन् । हामी परिचय दिँदा पनि पहिला नाम भन्छौं अनि ठेगाना भन्छौं । आफ्नो रुचीका बारेमा बताउँछौं । शैक्षिक योग्यताका बारेमा बताउँछौं । यसै गरी सररर बग्ने गरी लेख्नुपर्छ ।

पाँच टिप्सहरु

परीक्षाको तयारीका लागि हामीले एउटा हातमा भएका औंला बराबरको तयारी गर्‍यौं भने पुग्छ ।

पहिलो पाठ्यक्रमको संकलन र व्यवस्थित अध्ययन हो । दोस्रो आफ्नो पाठ्यक्रममा भएका विषयहरुमा तथ्य/तथ्यांकहरुको अपडेट गर्ने कुरा हो । तेस्रो, योसँग आएका नयाँ विषयवस्तुहरुमा विज्ञ तथा साथीहरुसँग छलफल गर्ने हो । चौथो, लेखाइलाई शुद्ध, स्पष्ट र राम्रो बनाउने कुरा हो । पाँचौं, समय व्यवस्थापन गरेर पढ्ने र निर्धारित समयमा लेख्ने हो ।

यी पाँच विषयमा ध्यान दिने हो भने फलामको चिउरा चपाएजस्तो लोकसेवा आयोग पास गर्न नसकिने कुरा होइन ।

कतिपय मानिसहरु एक वर्ष, दुई वर्षको तयारीमै लोकसेवा पास गर्छन् । कोही वर्षौं परीक्षा दिँदा पनि पनि उत्तीर्ण हुँदैनन् । उनीहरुको समस्या भनेको लेखन शैली नै हो ।

भर्खरै सार्वजनिक भएको उपसचिव, सहसचिवको परीक्षामा केही अपेक्षा गरेका मानिसहरुले नाम निकाल्न सकेनौं भने । खास उनीहरुको समस्या लेखनमै थियो ।

उनीहरुले लेखनसिप सुधार्नुपर्ने थियो । तर, उनीहरु पढ्नतिरमात्रै लागे । तीन घण्टाको समयमा चित्तबुझ्दो गरी लेख्न सक्नु निकै ठूलो कुरा हो । यसमा ध्यान दिनुपर्‍यो । निर्धारित समयमा पढ्ने लेख्ने गर्ने हो भने सहज हुन्छ । वर्षौ वर्ष परीक्षा दिइराख्नुपर्दैन । धेरै वर्ष कक्षा लिइरराख्नु पनि पर्दैन ।

प्रथम पत्रका लागि ट्युसन, आर्थिक सर्वेक्षण, बजेट, पत्रपत्रिकाको धेरै उपयोग देखियो । आफ्नै विवेक लगाएर लेख्नुपर्‍यो । आफूले लेखेको कपी आफूले हेरेर भन्न सकिन्छ, म यति लेखें भने पास गर्न सक्छु ।

हाम्रोजस्तो विकासोन्मुख मुलुकमा सरकारी सेवामा बसेर नागरिकको सेवा गर्नु, सरकारको सेवा गर्नु र राष्ट्र निर्माणमा योगदान गर्न पाउनु भनेको अत्यन्तै महत्वपूर्ण र ठूलो अवसर हो ।

यो अवसरका लागि प्रतिस्पर्धात्मक परीक्षामा अब्बल ठहरिनैपर्छ । यो परीक्षामा अव्वल ठहरिनका लागि स्कूल, कलेजमा डिस्टिङसन ल्याउनुपर्दैन । सामान्य विद्यार्थीले पनि पास गर्न सकिन्छ ।

लकडाउन लम्बियो भनेर आत्तिने होइन, ट्युसन सेन्टर धाएर होइन, घरमै पढेर पास गर्न सकिन्छ । तपाई आफूले नै विवेक प्रयोग गरेर अघि बढ्नुभयो भने पास गर्न सक्नुहुन्छ । बजारमा पाइने सबैथरीका किताव किनेर पनि पढ्नुपर्दैन आवश्यक र विज्ञ व्यक्तिले लेखेकाका केही पुस्तकहरु अध्ययन गर्न सकिन्छ ।

लकडाउन भनेको एउटा उचित अवसर हो । लोकसेवा तयारीका लागि यसलाई भरपुर उपयोग गर्न सकिन्छ । लकडाउनले अवसरहरु दिएको छ । यसबाट लोकसेवा पास गर्ने राम्रो वातावरण बनेको छ ।

(हाल सहकारी विभागका रजिष्ट्रार रहेका सहसचिव पाण्डेसँग अनलाइनखबरले गरेको कुराकानीमा आधारित ।)

तस्वीर/भिडियो : आर्यन धिमाल/अनलाइखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment