Comments Add Comment

रोकिएन सीमाबाट नेपाल प्रवेश गर्ने क्रम

स्थानीय तहलाई व्यवस्थापन गर्न धौ धौ

नाकामा तैनाथ सुरक्षाकर्मी ।

२८ वैशाख, कपिलवस्तु । भारतसँग सीमा जोडिएको कपिलवस्तुमा कोरोना संक्रमितको संख्या बढेपछि सीमाबाट नेपाल प्रवेश गर्ने क्रम रोकिएको छैन । जिल्लाको सीमा क्षेत्रबाट एक हजार तीन सयभन्दा बढी नेपाली भारतबाट स्वदेश फर्किने पर्खाइमा छन् ।

उनीहरु सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीको आँखा छलेर विभिन्न नाकाबाट नेपाल प्रवेश गरिरहेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । उनले भने, ‘जिल्लामा सबै स्थानीय तह सक्रिय छन् । तर सीमापारि आएर बसेका नेपाली नै मुख्य चुनौती भएको छ ।’

मर्यादपुर नाकामा २९०, भिल्मीमा २८६, कृष्णनगरमा २५९, हरदौना २०३, कोटरियामा १७०, चाकरचौडामा ११६, हथिहवामा ४७ र विजयनगरको सीमाबाट ३० नेपाली स्वदेश फर्किने पर्खाइमा रहेको स्थानीय पालिकाले जनाएका छन् । जिल्लामा १० पालिकाले तयार गरेको १ हजार ३६२ क्वारेन्टिनमा ८८१ जना रहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मनोज सैनीले जानकारी दिए । अहिलेसम्म १ हजार ११० को र्‍यापिड डायग्नोष्टिक टेष्ट भएको छ । उच्च जोखिममा भएकाले तीन क्वारेन्टाइन सञ्चालन गरेको मायादेवी गाउँपालिकाले त्यसको सङ्ख्या वढाएर १७ पुर्याउने निर्णय गरेको उपाध्यक्ष गीता तिवारीले बताइन् । पालिकाको दक्षिण क्षेत्र भारत उत्तर प्रदेशको अलिगढवा पर्छ । साविकको पकडी, फुलिका, अभिराव, डुमरा, विजुवा, पिपरा, हरनामपुर र बलुहवा मिलेर बनेको मायादेवीमा यतिबेला सुरक्षा सतर्कता उच्च बनाइएको छ ।

भारतसँग २८ किलोमिटर सीमा जोडिएको विजयनगर गाउँपालिकामा यतिबेला जंगलको बाटो भएर नेपाल प्रवेश गर्नेहरुलाई रोक्न प्रशासनलाई हम्मेहम्मे परेको छ ।

गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापाले भने, ‘जंगलबाट फर्किएका ७७ लाई त्रिनेत्र आधारभूत विद्यालयको क्वारेन्टिनमा राखेका छौं,’ गाउँपालिकाले दूधधारी मावि, हरिबोध प्रावि, रामशरण प्रावि, लौटनराम दौपदी मावि र त्रिनेत्र आधारभूत विद्यालयमा बनाएको क्वारेन्टिनमा अहिलेसम्म १५७ छन् ।

जिल्लाका कृष्णनगर नाकाबाट पनि स्वदेश फर्कने क्रम नरोकिएको कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाहले बताए । नगरप्रमुख शाहले भने, ‘हामी अत्यन्तै तनावमा छौं, जसोतसो गरिरहेका छौं र उताबाट आउनेलाई विद्यालयमा पाल टाँगेर राखेका छौं ।’ कृष्णनगर नाकाको बढ्नीमा चौबीसै घन्टा रेल चलिरहेकाले भारतका विभिन्न ठाउँबाट नेपाली आइरहेको शाहले बताए ।

जिल्ला सदरमुकाम कपिलवस्तु नगरपालिकामा तीन क्वारेन्टिनमा १०२ छन् । ती सबै भारतबाट लुकिछिपी आएका हुन ।

नगरपालिकाका प्रमुख किरन सिंहका अनुसार, तौलिहवास्थित रत्नराज्य मावि, बुद्धपद्म मावि र महेन्द्र प्राविमा बनाइएको क्वारेन्टिनमा राखिएका सबै भारतबाट आएका हुन् । शिवराज नगरपालिकामा बाहिरबाट आएकालाई तीन क्वारेन्टिनमा राखिएको नगर उपप्रमुख शिवकुमारी चौधरीले बताइन् । उनका अनुसार, सुन्दरीडाँडा वडा नम्बर ९ को प्रकाश माविमा १०, वडा नम्बर ५ को दुर्गा मन्दिरको धर्मशालामा सात र वडा नम्बर ३ को पुरानो छाला फ्याक्ट्रीमा निर्माणाधीन सुपा देउराली रिसोर्टमा २६ छन् ।

वाणगंगा नगरपालिकाका प्रमुख मंगलप्रसाद थारुका अनुसार सिद्धार्थ क्याम्पसमा पाँचलाई राखिएको छ । उनले भने, ‘पहिले वडावडामा राखेका थियौं। अहिले सिद्धार्थ क्याम्पसमा मात्रै राख्न थालेका छौं, महाराजगञ्ज नगरपालिकामा ७८ जनालाई क्वारेन्टिनमा राखिएको छ ।’

उक्त नगरपालिकामा ११ क्वारेन्टिन बनाएर मानिस राखिएको नगर प्रमुख अब्दुल कलामले बताए । बुद्धभूमि नगरपालिकाको गौतमबुद्ध मावि गोरुसिँगेको क्वारेन्टिनमा १७५ जना रहेको नगर प्रमुख केशवकुमार श्रेष्ठले बताए । यशोधरा गाउँपालिका अध्यक्ष गिरजेशकुमार पाण्डेले सीमाबाट भीड बढ्दै गएकामा चिन्ता व्यक्त गरे ।

शुद्धोधन गाउँपालिकाका अध्यक्ष निसार अहमदका अनुसार भारतमा रेल चल्न थालेपछि सीमावर्ती क्षेत्रमा समस्या बढेको छ । हिजोदेखि धेरै चाप बढेको छ । पहिले ९० थिए । भारतमा रेल चल्न थालेपछि मान्छे बढ्न थालेको उनले बताए । उक्त पालिकाका पुड्केश मावि वगदी, अनुराग प्रावि ठूलो नन्दनगर, मदारगढ मावि, असुरैनाको प्रावि, रामउजागिर प्रावि, दोहनीमा रहेको सञ्जय ईश्वरचन्द्र निमावि र कर्मा प्राविमा क्वारेन्टिन बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment