Comments Add Comment

अझै केही दिन बदलीसँगै वर्षाको सम्भावना

२९ वैशाख, काठमाडौं । जारी बदली र वर्षाको श्रृंखलाले अझै केही दिन निरन्तरता पाउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विगत केही दिनदेखि नेपालमा स्थिर रहेको मौसमी प्रणालीको प्रभाव सक्रिय रहेकाले यो अवस्था कायम रहने मौसमविद्को भनाइ छ ।

देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव हुनुका साथै बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव कायमै रहेकाले बदलीसँगै वर्षा भइरहेको मौसमविद् राजु प्रधानांगले बताए । यी मौसमी प्रणाली तत्काल हट्ने सम्भावना नदेखिएकाले अझै केही दिन बदलीसँगै वर्षा भइरहने अनुमान उनको छ ।

यस वर्ष पश्चिमी न्यूनचापीय प्रणाली विकसित भई सक्रिय अवस्थामै रहेकाले निरन्तर वर्षा भइरहेको बताइएको छ । वायुमण्डलमा जलवाष्पयुक्त हावाको प्रवेश र दिउँसोका समयमा घाम नलागेकाले अधिकतम तापक्रम घटेकाले चिसो महसुस भएको मौसमविद्को भनाइ छ ।

हाल देशको सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ भने बाँकी सबै प्रदेशमा बदली रहेको छ । दिउँसो देशको अधिकांश भूभागमा सामान्य बदली रही पहाडी भूभागका केही स्थान र तराईका एक/दुई स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार देशको अधिकांश भूभागमा सामान्य बदली भई देशका केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहको औंल्याएको छ । बुधबार देशको अधिकांश भूभागमा सामान्य बदली रही देशको धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलव ८ डिग्री र अधिकतम तापक्रम २५ दशमलव ४ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ९ दशमलव ६ डिग्री र सबैभन्दा बढी वीरेन्द्रनगरको अधिकतम तापक्रम ३४ दशमलव ६ डिग्री सेल्सियस रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment