Comments Add Comment

मदिरा व्यवसायी भन्छन्- भाटभटेनीले रक्सी बेच्यो, सरकार भन्छ- समात्छौं !

क्याबिनेटमा मन्त्रीले रक्सीको कुरा गर्दा सबै मौन !

३० वैशाख, काठमाडौं । लकडाउनका बेला सुपरमार्केटहरुबाट मदिरा बिक्री गरिएकोे तर, साना पसलहरुलाई रोकिएको भन्दै मदिरा व्यवसायीहरुले सरकारको आलोचना गरेका छन् ।

देशभरका मदिरा व्यवसायीहरुको छाता संगठन नेपाल मदिरा व्यवसायी महासंघले सुरक्षा उपाय अपनाएर मदिरा व्यवसाय सञ्चालन गर्न दिन सरकारको वैशाख २२ गते एक प्रेस विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गराएका हुन् ।

मार्ट र सुपर मार्केटहरुमा निर्वाध मदिरा बिक्री भइरहेको, तर सरकारको पक्षपातपूर्ण नीतिका कारण सानो कारोबार गर्ने व्यवसायी टाट पल्टिने अवस्थामा पुगेको मदिरा व्यवसायी महासंघका अध्यक्ष सोनाम शेर्पाको गुनासो छ ।

‘मदिरा व्यवसाय खोल्ने सरकारको नीति छैन’

अति आवश्यक खाद्य वस्तु बाहेक मदिराको कारोबार खोल्ने नीति सरकारको नभएको गृह मन्त्रालयले जनाएको छ । ‘मदिरा कारोबार पूर्णनिषेधित छ, यसलाई कार्यन्वयन गर्न सुरक्षाकर्मी खटिएका छन्,’ गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता केदारनाथ शर्मा भन्छन् ।

मदिरा व्यवसाय सञ्चालन सम्बन्धमा थप कुनै निर्णय नभएकाले यसबारे सरकारको नयाँ नीति नभएको भनेर बुझ्न उनले आग्रह गरे । ठूला मार्ट र सुपरमार्केटमा पनि खाद्यान्न बिक्री मात्रै खुल्ला गरिएको गृह मन्त्रालयले जनाएको छ ।

भाटभटेनीले खुलेआम मदिरा बेचेको आरोप

नेपाल मदिरा व्यवसायी महासंघले नामै किटेर केही मार्टसहित भाटभटेनीले खुलेआम मदिरा बिक्री गरेको उल्लेख गरेको छ । महासंघका अध्यक्ष सोनाम शेर्पाले जारी गरेको विज्ञप्तिमा राज्यको नीतिले मदिरा मात्रै कारोबार गर्ने व्यवसायी टाट फर्किने अवस्था आएको उल्लेख गरिएको छ ।

‘अत्यावश्याक वस्तुको नाममा विभिन्न मार्ट र भाटभटेनीले खुलेआम मदिराको बिक्री वितरण गर्दै आइरहेका छन्, यसबाट मदिराको मात्रै व्यवसाय गरी आएका व्यवसायीहरु मर्कामा परेका छन् ।’ विज्ञप्तिमा भनिएको छ ।

मदिरा बिक्री गरेको सम्बन्धमा कुरा गर्न भाटभटेनी सुपर मार्केटले भने अस्वीकार गर्‍यो । लकडाउनको समयमा सबैभन्दा लामो समय सञ्चालनमा ल्याइएको भाट–भटेनीको मुख्य आउटलेट टंगालकी म्यानेर रमिता मर्हजन यसबारे अनलाइनखबरसँग बोल्न मानिनन् ।

रक्सी किन्न रोक्नु भन्ने आदेश छैन : प्रहरी

मदिरा व्यवसाय गर्न नपाएको गुनासो व्यवसायीले गरिरहँदा नेपाल प्रहरीले भने मदिरा किन्न रोक्ने आदेश प्रहरीलाई नआएको बताएको छ ।

डिपार्टमेन्ट स्टोर्समा रक्सी खरिद भइरहेको र यसलाई रोक्न प्रहरीलाई स्पष्ट आदेश नभएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक निरजबहादुर शाहीले बताए ।

‘मदिराकै मात्रै भनेर सञ्चालित पसल खोल्न दिईएको छैन तर डिमार्टमेन्ट स्टोर्समा मदिरा बिक्री भइरहेको छ,’ प्रवक्ता शाहीले भने ।

शान्ति सुरक्षाका अलावा सरकारले तोकेको उद्योग तथा व्यवसाय सञ्चालनमा प्रहरीले सहजीकरण गरिरहेको उनको भनाइ छ । मदिरा व्यवसाय सञ्चालनबारे स्थानीय तह तथा आन्तरिक राजश्वलाई प्रहरीले सहायता मात्रै दिने नीति अख्तियार गरिएको प्रवक्ता शाहीले बताए । यसबारे स्पष्ट निर्देशन भए प्रहरीले कार्यान्वयन गर्ने पनि उनको भनाइ छ ।

उच्चस्तरीय समिति भन्छ- मदिरा बेच्नेलाई पक्राउ गर्नु

मदिरा बिक्री वितरण तथा सामूहिक सेवन सरकारले पूर्णत निशेध गरेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले जनाएको छ ।

अति आवश्यक खाद्यान्न र वस्तुबाहेक व्यवसाय सञ्चालन गर्न नपाइने कोरोना प्रधानमन्त्री कार्यालयका सचिव एवं रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका प्रवक्ता नारायण प्रसाद बिडारीले अनलाइनखबरलाई बताए ।

‘मदिरा बिक्री गर्न त पाइँदै पाइन्न सुपरमार्केट होस् वा अन्य कतै कसैले यस्तो व्यवसाय सञ्चालन गरेको भए पक्राउ गर्न प्रहरीलाई भनिएको छ,’ सचिव बिडारीले भने ।

जहाँ यस्ता व्यवसाय सञ्चालन हुन्छ तीनलाई पक्राउ गर्न समितिले स्पष्ट निर्देशन दिएको पनि उनले बताए । ठूला मार्टहरुलाई अत्यावश्यक खाद्यान्न मात्र बिक्री मात्रै अनुमति दिइएको पनि सचिव बिडारीले स्पष्ट पारे ।

यसैवीच अघिल्लो साताको क्याबिनेटमा एक मन्त्रीले भारतमा लकडाउनका बेलामा पनि मदिरा व्यवसाय सञ्चालनमा आएको प्रशंग कोट्याएका थिए । तर, मन्त्रीको मागलाई अरुले वास्ता नगरेको स्रोतले अनलाइनबखरलाई बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment