Comments Add Comment

गण्डकी प्रदेश : ग्रिन जोन कि भयावहको पर्खाइमा ?

राति लुकेर आउनेले जोखिम बढाए : मुख्यमन्त्री

३१ वैशाख, पोखरा । कामका लागि भारतको कर्नाटक पुगेका एक युवक १२ दिन लगाएर मंगलबार पोखरा आइपुगे । भारतमा कति ठाउँमा हिँडे, कतै प्रहरीलाई पैसा दिँदै गाडी चढे र उनी नेपाल छिरे । नेपाल छिरेपछि उनी तरकारी बोक्ने गाडी चढेर पोखरा भित्रिए ।

युवक फर्किएको स्थानीयबासीले थाहा पाए र प्रहरीलाई खबर गरे । प्रहरी पुग्दानपुग्दै उनले छतबाट हाम फाले । अहिले उपचार गराइरहेका युवकको स्वाब परीक्षणका लागि पठाउने र क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको छ ।

केही दिनअघि यसरी नै भारतदेखि एक युवक गोरखाको गोरखकाली रबर उद्योगसम्म आइपुगे । उनी गण्डकी प्रदेशको नाका मुग्लिनबाट छिर्न नसक्ने ठानेपछि कुरिनटारबाट झोलुंगे पुल तरेर जंगलको बाटो हिँड्दै रबर उद्योग पुग्दा स्थानीयले देखेका थिए ।

दुई दिनअघि झापाबाट केही मानिस लेकसाइडमा आए । झापाको स्थानीय प्रशासनले दिएको पास लिएर लेकसाइडका एक होटल सञ्चालकसहितको टोली पोखरा आएको थिएका थिए ।

बागलुङमा भेटिएका दुई जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमित निको भएपछि सुरक्षित भनिएको गण्डकी प्रदेशभित्र लकडाउन केही खुकुलो बनाइएको छ । प्रदेश सरकारले सुरक्षा मापदण्ड पालना गरेर अत्यावश्यक उद्योग, विकास निर्माण र कृषि उत्पादन सुरु गर्ने निर्णय गरेको छ । यसले बजारमा चहलपहल मात्र बढेको छैन भारत र अन्य प्रदेशबाट गण्डकी प्रदेश भित्रनेको संख्या पनि बढिरहेको छ ।

कोही भारतदेखि त कोही अन्य सवारी पास बोकेर गण्डकी प्रदेशका विभिन्न जिल्ला पुगेका छन् ।

लकडाउनकै बेला बागलुङबाट पोखरा हुँदै पर्सामा पुगेका १४ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यसले ग्रिन जोन भनिएको गण्डकीमा जोखिम बढेको सरोकारवाला बताउँछन् । नेपालमा कोरोनाको संक्रमणको संख्या तीव्र गतिमा बढिरहेका बेला गण्डकी प्रदेश प्रवेश नरोकिँदा बढी जोखिम बढेको डा. श्रीकृष्ण श्रेष्ठ बताउँछन् ।

‘गण्डकीमा कोरोना देखिए पनि निको भइसक्यो । त्यो हिसाबले गण्डकी प्रदेश अहिलेसम्म सुरक्षित नै देखिन्छ । तर यसो भनेर ढुक्क बस्ने अवस्था छैन,’ डा. श्रेष्ठले भने, ‘भोलि भयावह अवस्था आउन सक्छ । बाहिरबाट आउनेको पहिचान गर्न र टेस्ट तथा क्वारेन्टाइनमा राख्न नसके भोलि परिस्थिति असामान्य हुन सक्छ ।’

अहिले गण्डकी प्रदेशमा भित्रिरहेका तरकारी, खाद्यान्न, दूध, कच्चा पदार्थका गाडीमा भारत तथा अन्य प्रदेशबाट मानिसहरु आउने गरेका छन् । ‘गाडीले पृथ्वीचोक मण्डीमा ल्याउने गरेको पायौं,’ शान्ति वन बाटिकाका तरकारी तथा फलफूल उपज केन्द्रका एक पूर्वअध्यक्ष भन्छन्, ‘यस्तै अवस्था हो भने यहाँको अवस्था पनि भयावह हुन सक्छ ।’

मानिसहरु आउने क्रम नरोकिने र समुदायस्तरमा परीक्षणको दर पनि कम भएका कारण जोखिम बढेको सांसद धनञ्जय दवाडीले बताउँछन् । ‘अब गण्डकी प्रदेशमा पनि कोरोनाको संक्रमण विस्तार हुनसक्छ,’ उनले भने, ‘प्रदेश सरकारको ध्यान कम भयो ।’

पोखरा बाहिर जान र आउन रोक लगाउनु पर्ने सामाजिक अभियान्ता तीर्थ श्रेष्ठ बताउँछन् । ‘आइसकेकाहरुको पहिचान गर्ने, क्वारेन्टाइनमा राख्ने र स्वास्थ्य परीक्षण गराउन सरोकारवाला निकायले अग्रसरता देखाउनु आवश्यक छ,’ श्रेष्ठले भने, ‘पोखरालाई सुरक्षित ठानेर आश्रय लिन आउनेहरुको संख्या अझ बढ्ने सम्भावना छ ।’

प्रदेश भित्रिएकाहरुको तथ्यांकै छैन

गण्डकी प्रदेशमा लकडाउन भएयता ४ हजार ४३९ वटा अत्यावश्यक सवारी साधन भित्रिएको प्रदेशको तथ्यांकले देखाएको छ । त्योबाहेकबाक गाडी आएको तथ्यांक कसैसँग छैन ।

गण्डकीमा ४ हजार ६५९ जना विदेशबाट प्रवेश गरेको तथ्यांक छ । तर अन्य प्रदेशबाट कति गण्डकी प्रदेशमा प्रवेश गरे भन्ने तथ्यांक छैन । लकडाउनको अवधिमा कति जना भित्रिए भन्ने तथ्यांक न प्रदेश सरकारसँग छ, कुनै जिल्ला प्रशासनसँग छ ।

पछिल्लो समय विकास निर्माण तथा आयोजनाहरुमा मजदुरसमेत बाहिरबाट ल्याउन थालिएको छ । सवारी साधनको अनुमति लिएर प्रदेश गर्नेहरुको संख्या पनि ठूलो छ ।

तर, प्रदेशमा न भित्रनेको तथ्यांक छ न बाहिरिनेको । ‘कति जना भारतबाट आए, कति जना अन्य विदेशबाट र कति अन्य प्रदेशबाट भन्ने तथ्यांक अहिलेसम्म लिइएकै थिएन,’ गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव किरणराज शर्माले अनलाइनखबरसँग भने, जेठ १ बाट बल्ल तथ्यांक लिन थाल्ने छौं ।’

लुकेर र सुतेर आउँदा जोखिम बढ्यो : मुख्यमन्त्री

गण्डकी प्रदेश सुरक्षित र ग्रिन जोन भनिएको थियो । के त्यस्तै अवस्था हो त ? मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ भन्छन्, ‘मान्छेहरुको ओहोर–दोहोरले ग्रिन जोन बन्न सकेनौं ।’

नाकामा कडाइ गरेर उत्पादन, कृषि र निर्माणका काम गर्ने भनिए पनि राति राति लुकेर आउनेले जोखिम बढाएको मुख्यमन्त्री गुरुङले बताए । तरकारी, कच्चा पदार्थ, निर्माण सामग्री ल्याउनैपर्ने भएपछि कडाइ गर्ने भनिए पनि नसकिएको मुख्यमन्त्री गुरुङको भनाइ छ ।

तरकारीको ट्रकमा सुतेर आउने अनि राति राति लुकेर आउनेहरुका कारण गण्डकीमा पनि जोखिम बढेको मुख्यमन्त्रीले बताए । ‘राति–राति भागेर आउनेलाई रोक्न सकिएन । मुग्लिन र राम्दीतिरबाट पनि भागेर आउने काम भयो,’ मुख्यमन्त्री गुरुङले भने, ‘कोही पनि छिर्न नसक्ने गरी कडाइ गर्नुपर्‍यो भनेकै हो । अस्ति म काठमाडौं जाँदा मुग्लिन झरेर, सबैको नाम र ठेगाना राख्नु भनेको छु । व्यक्ति व्यक्तिको विवरण राख्नुस् भनेको छु । तर, तरकारी र खाद्यान्नको गाडीमा सुतेर आउनेलाई छेक्न सकिएन ।’

अब समुदाय स्तरबाटै निगरानी राखेर प्रहरी प्रशासनलाई खबर गर्नुपर्ने देखिएको मुख्यमन्त्री गुरुङले बताए । ‘गण्डकी सुरक्षित छ भन्ने पनि परेर झन् लुकेर आउने थाले । कहाँ कहाँ समस्या आएको हो भनेर अझै कडाइ राख्छौं,’ मुख्यमन्त्री गुरुङले अनलाइनखबरसँग भने, ‘भरसक आउनै नदिने र आइहाले पनि समुदायस्तरबाट निगरानी राख्नुपर्ने रहेछ । गाउँको समुदायस्तरमा बरु चाँडो निगरानी हुने रहेछ, सहरमा गाह्रो भो ।’

संघीय सरकारको ठोस योजना नभएको र आफ्नो हिसाबले चल्दा पनि समस्या बढेको मुख्यमन्त्री गुरुङले बताए । ‘कडा निगरानी र सतर्कता अपनाउनुको विकल्प छैन,’ उनले भनेका छन्,, ‘प्रदेश सरकार लागिरहेकै छ । अब समुदाय स्तरबाट पनि सहयोग गर्नुपर्‍यो ।’

यस्तो छ गण्डकीको अवस्था

बागलुङका २ जना संक्रमित निको भएर घर फर्किएपछि गण्डकी प्रदेशमा थप संक्रमित भेटिएका छैनन् ।

सुरुमा स्वाब परीक्षणका लागि काठमाडौं पठाइए पनि पछिल्लो समय पोखरामै नै टेष्ट हुने गरेको छ ।गण्डकीमा अहिलेसम्म पीसीआर परीक्षणका लागि ७ सय २४ जनाको स्वाब संकलन गरिएको छ, जसमध्ये ६ सय ९५ जनाको नतिजा नेगेटिभ आएको छ भने २ जनाको पोजेटिभ देखिएर पनि घर फर्किएका छन् । २७ जनाको नतिजा आउन बाँकी छ ।

कोरोनाको पीसीआर टेष्टका लागि चाहिने आरएनए एक्सट्याक्सन किट गण्डकी प्रदेशमा अब २ सय पिस मात्र बाँकी छ । त्यति नै संख्यामा आरपीटी किट पनि बाँकी रहेको प्रदेश स्वास्थ्य निर्देशनालय प्रमुख विनोदविन्दु शर्माले जानकारी दिएका छन् ।

यस्तै गण्डकीमा अहिलेसम्म ६ हजार ५ सय १४ जनाको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गरिएको छ र सबैको नतिजा नेगेटिभ आएको छ । समुदाय स्तरमा परीक्षण नगरेको गुनासो छ नि भन्ने प्रश्नमा शर्माले भने, ‘विश्व स्वास्थ्य संगठनको प्रोटोकलअनुसारै परीक्षण गराइरहेका छौं । कुनै लक्षण नदेखिइकन परीक्षण गराउनै हिँड्ने कुरा भएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment