
१ जेठ कैलाली । बोलन्या थलीले बिहीबार सरकारको खोजीको लागि भन्दै डोटीमा दिउँसै टुक्की बालेर प्रदर्शन गरेको छ। पश्चिम सेती निर्माणमा ढिलाइ भइरहेको भन्दै सेती पुलमाथि उनीहरुले ७ सय ५० टुक्की बालेर सरकारको सांकेतिक विरोध जनाएका हुन् ।
उनीहरुले पुलमा आश्वासनका २८ वर्ष पश्चिम सेती कहिले बन्छ ? आजको रोगलाई त जितौला भोलिको भोकलाई के गरौला ? रिभर्स माइग्रेशनको व्यवस्थापन गरौँ, पश्चिम सेती लागु गरौँ लगायत नारा उल्लेख गरिएको व्यानरसमेत प्रदर्शन गरेका थिए ।
सरकारी निकायले चासो नदिदा महत्वपूर्ण परियोजना ओझेलमा परेको भन्दै संकेतिक आन्दोलन गरिएको बोलन्या थलीका संयोजक यादब जोशीले बताए ।
‘दिउँसै ७५० टुक्की बालेर सरकारको खोजी गरेका हौं,’ उनले भने, ‘२८ वर्षसम्म नभेटिएको सरकार अब भेटिन्छ कि भन्ने मेरो आशा छ ।’
आगामी आर्थिक वर्षको बजेटमा पश्चिम सेती निर्माणको लागि आवश्यक बजेट व्यवस्था गर्नसमेत माग गरिएको जोशीले बताए ।
यसअघि पनि काठमाण्डौँको माइतीघर मण्डलामा पश्चिम सेती निर्माणको लागि कचौरा लिएर प्रदर्शन गरिएको थियो । बोलन्या थलिकै आयोजनामा सुदूरपश्चिमबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने १३ जना सांसदसँग छलफल र सङ्गीत सङ्घर्ष कार्यक्रमसमेत भइसकेको छ ।
पश्चिम सेती निर्माणको लागि दबाब दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुदूरपश्चिम प्रदेश बाट १ लाख चिठ्ठी सङ्कलनसमेत गरेको बोलन्या थलिले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएको छ ।
अब ७५० डोकासहित डोटीमा प्रदर्शन र ७५० नागरिक ७५० मिनेट अनशन बस्ने कार्यक्रम रहेको संयोजक जोशीले बताए ।
बिहीबार बोलन्या थलीले आयोजना गरेको विरोध कार्यक्रममा उद्योग बाणिज्य संघ डोटी र होटल व्यवसायी संघले पनि समर्थन गरेको थियो ।
प्रतिक्रिया 4