Comments Add Comment

कपिलवस्तु रेड जोनमा, ५ हजार मानिस क्वारेन्टाइनमा

फाइल तस्वीर

३ जेठ, कपिलवस्तु । कपिलवस्तुमा कोरोना संक्रमित हुनेको संख्या ४३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस विज्ञप्तिअनुसार यो जिल्लामा आज मात्रै ३ नयाँ संक्रमित थपिएका हुन् ।

जिल्लामा देखिएका नयाँ तीन संक्रमित शिवराज नगरपालिका ८ विशनपुर का ३४ र ४४ वर्षीय दुई पुरुष र वडा नं ११ थुन्हियाका २५ वर्षीय एक पुरुष रहेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।

गत वैशाख २५, २६ र २७ गते उनीहरु भारत लुकिछिपी नेपाल आएका थिए । पुष्टि भएका तीन जना शिवराज ३ सुपादेउराली क्वारेन्टिनबाट कोरोना अस्पाताल बेलझुन्डी दाङ लैजाने तयारी भइरहेको प्रजिअ पौडेलले बताए ।

वैशाख २९ गते शिवराज नगरपालिकाको क्वारेन्टाइनमा रहेका ६६ जनाको स्वाब संकलन गरिएको शिवराज स्वास्थ्य शाखा संयोजक चूडामणि भट्टराईले जानकारी दिए । शिवराज ३ खरेन्द्रपुर सुपादेउराली क्वारेन्टिन र वडा नं ९ प्रकाश माध्यमिक विद्यालय सुन्दरी डाड क्वारेन्टाइनमा अहिले ३३८ जना छन् ।

नगरको वडा नं ८ विसनपुरका एक युवक गत वैशाख २५ र अर्को वैशाख २७ गते सिमानाबाट लुकेर आएको खबर पाउनेबित्तिकै गाउँको बगैँचाबाटै क्वारेन्टिन पठाइएको वडाध्यक्ष शंकर अहिरले बताए । संक्रमित दुवै युवा कसैको सम्पर्कमा नआई तत्काल क्वारेन्टाइनमा गएको जनाइएको छ ।

शिवराज ११ का संक्रमित युवक वैशाख २६ गते नेपाल आएपछि टोल बाहिरैबाट क्वारेन्टाइनमा बस्न गएको वडाध्यक्ष रामेश्वर वर्माले जानकारी दिए । वडा नं ११ का अहिले १० जना क्वारेन्टाइनमा रहेको बताइएको छ ।

नयाँ थप भएसंँगै जिल्ला कोरोना संक्रमणको हटस्पट बनेको छ । कपिलवस्तु जिल्लाका यशोधरा गाउँपालिकामा १२, कपिलवस्तु नगरपालिकामा नौ, कृष्णनगर नगरपालिकामा आठ, बुद्धभूमि नगरपालिका र मायादेवी गाउँपालिकामा चारचार, वाणगंगा नगरपालिका र विजयनगर गाउँपालिकामा एकएक तथा शिवराजका तीन जनामा कोरोना संक्रमण भएको छ । जिल्लामा चार सुरक्षाकर्मी, एक स्टाफ नर्स, दुई कर्मचारी र एक ६ वर्षीया बालिकामा संक्रमण भएको हो । कपिलवस्तु जिल्लाभरका क्वारेन्टिनमा हाल झण्डै पाँच हजार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment