
४ जेठ, गोरखा । पालुङटार नगरपालिका-९ घडेरी खोला नजिकै आइतबार बिहान घाइते अवस्थामा भेटिएको वयस्क पोथी चितुवा मरेको छ ।
गाउँ नजिकै मान्छे नबस्ने घरभित्र चिुतवा लडिरहेको देखेपछि स्थानीयले डिभिजिन वन कार्यालयलाई खवर गरेका थिए ।
उद्धारका लागि कार्यालयको टोली उक्त ठाउँमा नपुग्दै चितुवा मरेको डिभिजनल वन अधिकृत तोयानाथ पौड्यालले बताए । ‘स्थानीयले खबर गर्दासम्म घ्यार-घ्यार गर्दै थियो रे, हाम्रो टोली नपुग्दै मरेछ,’ उनले भने ।
शरीरमा कुनै चोटपटक नभए पनि कसैले मारेको हुन सक्ने आशंकामा मृत्त चितुवालाई पोष्टमार्टमका लागि चितवन सौराहामा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोष लैजाने तयारी भइरहेको उनले जानकारी दिए ।
केही दिन अघिमात्र पालुङटार नगरपालिकामा चितुवा र सिरानचोक गाउँपालिकामा रतुवा मृग मृत्त अवस्थामा फेला परेका थिए ।
पछिल्लो समय वन्यजन्तु मृत्त अवस्थामा फेला पर्न थालेपछि कार्यालयले विशेष निगरानी बढाएको डिभिजनल वन अधिकृत पौड्यालले बताए । ‘पटकपटक वन्यजन्तु मृत अवस्थामा फेला परेकाले यसको अनुसन्धानमा हामी लागेका छौं, यदि कसैले सिकार गरेको पाएमा कानून बमोजिम हदैसम्मको कारबाही गर्छाै,’ उनले भने ।
प्रतिक्रिया 4