Comments Add Comment

कोरोनासामु अरु समस्या गौण हुन् : मुख्यमन्त्री शाही

५ जेठ, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोनाको संकट समाधानका लागि एकतावद्ध भएर लाग्न आवश्यक भएको बताएका छन् ।

लकडाउनको कारण उद्योग व्यवसायमा परेको असरका विषयमा जानकारी गराउन सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेका उद्योग वाणिज्य संघ सुर्खेतका प्रतिनिधिहरुलाई कोरोनाले निम्त्याएको समस्याका सामु अरु समस्या गौण रहेको मुख्यमन्त्री शाहीले बताए ।

विश्वव्यापी संकटका रुपमा देखिएको कोरोनाका विरुद्ध सरकार सबै शक्तिका साथ लडिरहेको बताउँदै सबै क्षेत्रको सहयोग आवश्यक रहेको मुख्यमन्त्री शाहीको भनाइ छ ।

अत्यावश्यक सामाग्रीको आपूर्ति बाहेकका अन्य व्यापार व्यवसाय तत्कालका लागि सञ्चालन गर्न नसकिने भन्दै मुख्यमन्त्री शाहीले नागरिकको जीवन सुरक्षा नै सरकारको प्राथमिक दायित्व भएको बताए ।

उनले भने-‘अहिले हामीले निकै नै संकटपूर्ण अवस्था भोगिरहेका छौं, संकट व्यवस्थापनका लागि सरकारले गरेका निर्णय कार्यान्वयन गर्नु सबै नागरिकको कर्तव्य हो ।’
मुख्यमन्त्री शाहीले प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि नीति, कार्यक्रम र बजेटको तयारी गरिरहेको बताउँदै अहिलेको अवस्थामा सरकारले लिने नीतिका सम्बन्धमा निजी क्षेत्रको सुझाव दिन आग्रह गरे ।

‘कर्णालीको बस्तुगत अवस्थामा टेकेर पारदर्शी रुपमा आगामी नीति कार्यक्रम र बजेट निर्माण गर्ने सरकार सोच छ,’ उद्योग वाणिज्य संघका प्रतिनिधिसँग मुख्यमन्त्री शाहीले भने, ‘अहिलेको संकटले निजी क्षेत्रलाई पारेको असर सम्बोधन कसरी गर्न सकिन्छ ? तपाईंहरुको सुझाव सरकारलाई चाहिएको छ ।’

मुख्यमन्त्री शाहीले कर्णालीको विकासका लागि निजी क्षेत्रको सहभागिता अनिवार्य रहेको भन्दै विकास र समृद्धिको अभियानमा निजी क्षेत्रलाई पनि सँगै लिइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment