Comments Add Comment

दुलाल हत्या प्रकरण : विवाहेत्तर सम्बन्धले श्रीमतीको हातमा हत्कडी

५ जेठ, विराटनगर । औषधि व्यावसायी देवीप्रसाद दुलालको हत्या भएको तेस्रो दिन भयो । तर उनको अन्त्येष्टि गरेर किरिया बस्दा नबस्दै उनकी पत्नी मीना श्रेष्ठ दुलालको हातमा हत्कडी लागेको छ ।

प्रहरीको प्रारम्भीक अनुसन्धानको निष्कर्ष छ, विवाहेत्तरसम्बन्धका कारण मीनाले नै देवीप्रसादको हत्या योजना बनाए । आफैं सहभागी भएर हत्या गरिन् । र, घटना लुकाउने प्रयासमा छिमेकीलाई बोलाएर अस्पताल लगिन् ।

देवीप्रसादको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले मीनासँगै सिराह लहान घर भई विराटनगर बस्दै आएका २१ वर्षिय ब्रहमदेव साह, सुनसरी इटहरी उपमहानगरपालिका –१२ का सोनु साहलाई पक्राउ गरेको छ ।

प्रहरीले सुरुमा नै मीनामाथि शंका गरेको थियो । र, आइतबार देवीप्रसादको अन्त्येष्टिलगतै मीनालाई आफ्नो नियन्त्रणमा लिएको थियो । ब्रम्हदेव पनि आइतबार नै पक्राउ परे भने सोनु सोमबार समातिएका छन् ।

घटनाको अनुसन्धानका क्रममा तीनजनाले मिलेर हत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

सबक सिकाउने योजना

मृतक दुलालको घर सुनसरी खनार हो । उनले मीना श्रेष्ठसँग १० वर्षअघि प्रेम विवाह गरेका थिए । उनीहरू वैदेशिक रोजगारीका लागि डेनमार्क पुगेर फर्किएका थिए । तर करिब ६ वर्षयता विराटनगरमा बसेर माँ देवी पाथिभरा फर्मा सञ्चालन गरिरहेका थिए । र ८ वर्षीय छोरा छन् ।

प्रहरी उपरीक्षक अधिकारीका अनुसार पक्राउ परेका ब्रम्हदेव चार वर्षअघिदेखि दुलालको माँ देवी पाथिभरा फर्मामा काम गर्थे । त्यही क्रममा दुलालकी श्रीमतीसँग ब्रम्हदेवको हिमचिम बढ्यो । यसबारे थाहा पाएपछि दुलालले श्रीमतीलाई सम्झाए । तर उनी श्रीमानको कुरा सुन्ने पक्षमा थिइनन् । बरु ब्रम्हदेवसँग मिलेरे श्रीमानलाई सबक सिकाउने योजना बनाइन् ।
त्यही योजनाअनुसार शनिबार मध्यरातमा दुलालको हत्या भएको प्रहरीको दाबी छ ।

पक्राउ परेकाहरुले दिएको बयानअनुसार शनिबार राति दुलालको डेरामा औषधि व्यवसायी हरिमोहन श्रेष्ठ र धनबहादुर काफ्ले पुगेका थिए । ७ बजेतिर पुगेका उनीहरुले मापसे गरे र, राति करिब नौबजे निस्किए ।

दुलाल सुत्न गए । विवादका कारण दुलाल दम्पत्ति एउटै कोठामा छुट्टाछुट्टै पलङमा सुत्ने गरेको पाइएको छ । पक्राउ परेकाहरुको बयानअनुसार दुलालका साथी निस्किएपछि पूर्व योजनाअनुसार ब्रम्हदेव र सोनु डोरी र सर्जिकल ग्लोब्स लिएर पुगेका थिए । तर देवीप्रसाद निदाएका थिएनन् । त्यसैले मीनाले लुक्क लगाए । उनी निदाएपछि आफैं बोलाइन् ।

मदिराको नसामा सुतेका देवीले थाहा नपाउँदै ब्रम्हदेवले घाटीमा प्लास्टिकको डोरी दुई फेरा लगाएका थिए भने मीना र सोनु सहयोग गरे । देवीप्रसादले प्रतिकार गर्न खोज्दा झ्यालङको बिममा निधार ठोक्कियो । तर तीन जनाका अगाडि उनको केही लागेन र करिब आधा घण्टामा उनीहरुले देवीप्रसादले हत्या गरेका थिए । घाटी र निधारमा चोट लुकाउन मीनाले पाउडर छर्किएको पाइएको प्रहरीले जनाएको छ ।

ब्रम्हदेव र सोनी त्यहाँबाट निस्किएको केही समयपछि राति पौने ३ बजेतिर मीनाले आफ्ना श्रीमान् अचेत भएको भन्दै छिमेकी र दुलालका साथीहरुलाई बोलाएकी थिइन् । एम्बुलेन्समा राखेर गोल्डेन अस्पताल पुर्‍याइन् ।

चिकित्कसहरुले दुलालको मृत्यु भइसकेको घोषणा गरेपछि मीनाले रुवाबासी सुरु भयो ।
यो पनि पढ्नुहोस औषधि व्यवसायी दुलालको हत्यामा श्रीमतीको संलग्नता !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment