Comments Add Comment

लकडाउनमा कृषक : वर्षौंदेखि बाँझिएको जग्गामा कागती खेती

९ जेठ, गुल्मी । गुल्मीका कृषकहरूले वर्षौंदेखि बाँझिएको जमिनमा पुनः खेती गर्न थालेका छन् । लकडाउनले फुर्सद भएपछि ग्रामीण भेकमा किसानहरूले बाँझो छोडेको जग्गामा खेती गर्न थालेका हुन् ।

रेसुङ्गा नगरपालिका-४ सेउघामा ५ जना कृषकको समूहले लकडाउनको समयमा वर्षौंदेखि बाँझो रहेको तीन सय रोपनी खेतीयोग्य जमिनमा कागती लगाउँदैछन् ।

स्थानीय नरेन्द्र थापा, टीका थापा, उमाशंकर पन्थी, झबी पाण्डेय, भेषराज पन्थी र श्याम क्षेत्रीले बाँझो जमिनमा कागती खेती सुरु गरेका हुन्। गाउँमा खेतीलगाउने समयमा खेतालाहरू नपाउने, बजारमा नहुनु र कृषक अन्य पेसा व्यवसायमा लाग्दा लामो समयदेखि उक्त जमिन बाँझैै थियो ।

खेतीयोग्य जमिनमा उत्पादन गर्न छोडेसँगै वनमारा, उत्तिसलगायत विभिन्न घाँसहरू उम्रिएर झाडी बनेको थियो । बाँझो जमिनमा अहिले कागती लगाउन खाडल खन्ने काम भैरहेको छ । बाँझो खेतमा खेती गर्न थालेपछि खाडल खन्ने काममा स्थानीय केही युवाहरूले रोजगारसमेत पाएका छन् ।

१० वर्ष पहिले धान खेती हुँदै आएको खेतमा अहिले उम्रिएका विभिन्न बोटहरू काटेर कागती खेती अभियान सुरु गरेको कृषक नरेन्द्र थापाले बताए । हाल बाँझो रहेको ८० रोपनी जमिनमा १२ सय कागतीका बिरुवा लगाइने उनले बताए ।

कागती लगाउन उनीहरूलाई रेसुङ्गा नगरपालिकाले खाल्डो खन्न र बिरुवामा अनुदान दिएको छ । कागती लगाएको दोस्रो र तेस्रो वर्षमा मल राख्न पनि नगरपालिकाले अनुदान दिने मेयर डिल्लीराज भुसालले बताए ।

बजारमा कागतीको माग धेरै भएकोले कृषकहरूका लागि यो अवसर भएको रेसुङ्गा नगरपालिका वडा नम्बर ४ का अध्यक्ष विजय मरासिनीले बताए । नगरपालिकाले चार सय ४० रोपनी अर्थात् २२ हेक्टर बाँझो जमिनमा कागती खेती गर्ने तयारी गरेको रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताए ।

नगरपालिकाले प्रति २० रोपनी जग्गामा चार सय बोट कागती लगाउने किसानलाई पहिलो वर्ष ९६ हजार जति खर्च हुनेमा ७२ हजार अनुदान दिने भएको छ ।

चार सय बिरुवा कागती र ढुवानी खर्चको समेत नगरपालिकाले उपलब्ध गराउने भएको छ । त्यसैगरी दोस्रो र तेस्रो वर्षमा उक्त कागतीलाई मल राख्न ४० हजारका दरले उपलब्ध गराउने रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले बताए ।

कागती खेतीका लागि आवश्यक जग्गा, खाडल र मलको नगरपालिकाले मापदण्ड बनाएको प्रमुख प्रशासकीय अधिकृत मरासिनीले बताए । नगरपालिकाका कृषि शाखा प्रमुख हरिशरण पन्थीका अनुसार चार सय ४० रोपनी जग्गामा प्रतिरोपनी २० बिरुवाको दरले आठ हजार आठ सय बोठ कागती रोप्ने तयारी भएको बताए ।

कागतीको लागि खाडल एक मिटर गहिराइ र एक मिटरको वर्गाकार खाडल खनिने र त्यसमा २५ किलोग्राम गाईभैँसीको मल राख्नेगरी काम भएको पन्थीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment