Comments Add Comment

क-कसले पाउँदैछन् कोरोना जोखिम भत्ता ?

९ जेठ, काठमाडौं । जोखिमभत्ता उपलब्ध गराउने प्रयोजनका लागि ‘कोरोना भाइरसको संक्रमणको उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापनसम्बन्धी आदेश’ तयार भएको छ ।

मन्त्रिपरिषद्ले ९ चैत २०७६ मा ले कोरोना भाइरस (कोभिड-१९) संक्रमणको पहिचान, रोकथाम, नियन्त्रण तथा उपचार कार्यमा संलग्न जनशक्तिलाई जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो ।

भत्ता व्यवस्थापनसम्बन्धी आदेशअनुसार करिब एक दर्जन सेवा र क्षेत्रमा कार्यरत कर्मचारी तथा जनशक्तिले कोरोना जोखिम भत्ता प्राप्त गर्ने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी पारेको भत्ता व्यवस्थापनसम्बन्धी आदेशअनुसार सबैभन्दा जोखिमपूर्ण क्षेत्रमा कार्यरत जनशक्तिले पारिश्रमिकको शतप्रतिशत भत्ता पाउँदैछन् । अन्य जनशक्तिलाई भने जोखिमको अवस्था हेरेर भत्ता दिइने भएको छ ।

सरकारले कोरोना संक्रमणको रोकथाम, नियन्त्रण तथा उपचारमा संलग्न वा अप्रत्यक्ष रुपमा संलग्न हुने कर्मचारी र जनशक्तिलाई कोरोना जोखिम भत्ता दिने भएको छ । यस सूचीमा चिकित्सक, नर्स, पारामेडिक्स र प्रयोगशालाकर्मी रहेका छन्।

साथै, इमेजिङ सेवा प्रदायक, एम्बुलेन्स चालक तथा सहायक, इलेक्ट्रिसियन तथा प्लम्बर, सुरक्षाकर्मी र सफाइमा संलग्न कर्मचारीले समेत यस्तो भत्ता प्राप्त गर्ने भएका छन् ।

प्रशासनिक तथा अन्य कर्मचारी र सहयोगी साथै कार्यालय प्रमुखले कोभिड-१९को नियन्त्रण, उपचारमा संलग्न हुनेगरी खटाएको सबै जनशक्तिले यस्तो भत्ता पाउने गरी भत्ता व्यवस्थापनसम्बन्धी आदेश बनाइएको छ ।

कुन-कुन जनशक्तिले पाउँछन् ?

कोरोना भाइरसको नियन्त्रण र उपचारमा प्रत्यक्ष संलग्न हुने कर्मचारी तथा जनशक्तिसँगै अन्य जोखिमपूर्ण क्षेत्रका जनशक्तिले समेत यस्तो भत्ता पाउनेछन् । यसअनुसार त्रिभुवन विमानस्थलको हेल्थ डेस्कमा खटिएका सेवा गरेका सबै कर्मचारीले यो सुविधा पाउने भएका छन् ।

स्थलगत नाकामा खटिएका हेल्थ डेस्कका कर्मचारीलाई समेत भत्ता दिइने भएको छ । सरकारले आवश्यक ठानी विभिन्न स्थानमा खडा गरेको हेल्थ डेस्कमा खटिएका कर्मचारीले समेत यस्तो भत्ता पाउने नियम सरकारले बनाएको छ ।

सरकारले विदेशबाट नेपाल आएका व्यक्तिको निगरानीका लागि बनाएका क्वारेन्टाइनको व्यवस्थापनमा खटिएका कर्मचारीले समेत भत्ता पाउने आदेशमा उल्लेख छ । त्यसबाहेक स्वदेश भित्र विभिन्न स्थानमा खडा गरिएका क्वारेन्टाइनको व्यवस्थापनमा खटिएका कर्मचारीलाई पनि यस सूचीमा राखिएको छ ।

यसभित्र संघ, प्रदेश र स्थानीय तह सबै तहमा खटिने कर्मचारी तथा जनशक्तिले समान रुपमा भत्ता पाउने प्रावधान बनाइएको छ। भत्ता पाउने सूचीमा संक्रमणको आशंका लागेका व्यक्तिको परीक्षण र त्यस क्रममा सहयोग पुर्‍याउन खटिने कर्मचारीलाई समेत समेटिएको छ।

कोरोना पुष्टि नभएपछि आंशकामा बिरामीलाई आइसोलेसनमा राखेका बेला बेड र वार्डमा खटिने कर्मचारीलाई समेत सरकारले प्रोत्साहन तथा जोखिम भत्ता दिने भएको छ । संक्रमण भई उपचारमा रहेका व्यक्तिको उपचारमा खटिएका जनशक्ति, कोरोना विशेष अस्पताल भनी तोकिएका अस्पतालमा कार्यरत सबै कर्मचारीलाई यस्तो भत्ता दिइने भएको छ।

प्रयोगशाला अर्को जोखिमपूर्ण क्षेत्र हो । सरकारले शंकास्पद व्यक्तिको नमुना संकलन, प्याकिङ र ढुवानीमा खटिने सबै जनशक्तिलाई भत्ता दिने भएको छ ।

बिरामीसँग सम्बन्धमा आएका व्यक्तिको खोजी (कन्ट्याक्ट ट्रेसिङ)मा खटिने जनशक्ति र यी सबै कामको अनुगमन, मूल्यांकन तथा व्यवस्थापनमा खटिने कर्मचारीलाई समेत कोरोना विशेष भत्ता दिइने भएको छ । भत्ता पाउन आफू सम्बन्धित काममा खटेको प्रमाणित हाजिरी भने हेरिने भएको छ ।

यस्तो भत्ता अर्थ मन्त्रालयबाट माग गरि स्वास्थ्य मन्त्रालय वा स्वास्थ्य सेवा विभागबाट सम्बन्धित कार्यालयलाई उपलब्ध गराइने भएको छ । भत्ता व्यवस्थापन भने जुन निकायले कर्मचारीलाई खटाउँछ, त्यहीबाट कर्मचारीलाई भत्ता दिएर ती कार्यालयले मन्त्रालय वा विभागबाट सोधभर्ना लिनुपर्ने प्रावधान राखिएको छ । स्थानीय र प्रदेशले भने सोही तहबाट भत्ताको जोहो गर्नुपर्ने भएको छ ।

निजी, सामुदायिक, सहकारी र गैरसरकारी सबै अस्पतालमा कोरोनाविरुद्ध खटिएका जनशक्तिले यस्तो भत्ता दिनुपर्ने भएको छ। अस्पतालले सेवा दिएको बिरामीको विवरणका आधारमा सम्बन्धित अस्पताललाई रकम उपलब्ध गराउने भएको छ ।

कति पाउँदैछन् भत्ता ?

संक्रमणको शंका लागि आइसोलेसनमा राखिएका वा संक्रमण पुष्टि भई उपचारमा रहेका बिरामीको उपचारमा प्रत्यक्ष संलग्न जनशक्तिले सरकारले तोकेको सुरुको तलब स्केलको शतप्रतिशत भत्ता पाउने भएका छन् ।

साथै, शंकास्पद तथा संक्रमण पुष्टि भएका बिरामीको नमुना संकलन गर्ने जनशक्तिले समेत शतप्रतिशत भत्ता पाउने प्रावधान राखिएको छ । यस कार्यक्रममा प्रत्यक्ष सहभागी हुन नपरेपनि अप्रत्यक्ष रुपमा खट्नुपर्ने सहयोगी कर्मचारीले भने ७५ प्रतिशत भत्ता पाउने भएका छन् ।

विमानस्थल, विभिन्न हेल्थडेस्कमा खटिएका कर्मचारी, संकलन भएको नमुना संकलन ओसारपसार र संक्रमित तथा आंशका गरिएका बिरामीको ओसार-पसारमा संलग्न सवारी साधन कर्मचारीले भने तलब स्केलको ५० प्रतिशत भत्ता पाउने भएका छन् ।

प्रयोगशालामा प्रत्यक्ष रुपमा परीक्षण र प्रमाणीकरणमा खटिने जनशक्तिले तलव स्केलको शतप्रतिशत भत्ता पाउने भएका छन् । यो कार्यमा सहयोगीको भूमिका खेल्ने कर्मचारीले भने तलबको ५० प्रतिशत भत्ता पाउने गरी प्रावधान तोकिएको छ ।

कति अवधिको भत्ता मिल्छ ?

सरकारले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा खटिएका कर्मचारीलाई २८ पुस २०७६ यताको अवधि गणना गरी भत्ता दिने भएको छ ।

विमानस्थल, विभिन्न नाकाका हेल्थ डेस्कमा डेस्क सञ्चालनमा आएको मितियता गणना हुने भएको छ । अन्य क्षेत्रमा कार्यरत जनशक्तिको हकमा भने ९ चैतदेखि मान्य हुने गरी प्रावधान तोकिएको छ ।

यस्तो भत्ता पाउने अन्तिम अवधि भने सरकारले कोरोनाको जोखिम सकिएको घोषणा गरेको मिति वा असार मसान्त २०७७ मध्ये जुन छिटो आउँछ, त्यसलाई मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment