Comments Add Comment

ईदले आपसी सदभाव र सहिष्णुतालाई प्रगाढ तुल्याउने राष्ट्रपतिको विश्वास

१२ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ईदको अवसरमा सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायुको कामना गरेकी छन् ।

सोमबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले विश्वका विभिन्न स्थानमा रहेका नेपालीको धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व र पारिस्परिक सहयोगलाई थप प्रगाढ तुल्याउन प्रेरित गर्ने पनि उल्लेख गरेकी छन् ।

सबैले संयम र धैर्यका साथ सरकारको आह्वानबमोजिम लकडाउन पालना गरी घरभित्रै सुरक्षित रहेर पर्व मनाउने उनले विश्वास व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले कोरोना भाइरस (कोभिड–१९) को महामारीले आक्रान्त पारिरहेकाले यस महामारीबाट बच्न नेपाल सरकारले लागू गरेको स्वास्थ्यसम्बन्धी नियमको पालना गर्नु सबै नेपालीको कर्तव्य भएको शुभकामाना सन्देशमा उल्लेख गरेकी छन् ।

सावधानी अपनाएर इद मनाउन उपराष्ट्रपतिको आह्वान

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले अहिलेको प्रतिकूल परिस्थितिमा इस्लाम धर्मावलम्बीले घरघरमै बसेर इद उल फित्र पर्व मनाउने विश्वास व्यक्त गरेका छन् ।

इस्लाम धर्मावलम्बीको महान् पर्व ईदको अवसरमा शुभकामना सन्देश दिँदै उनले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि देश लकडाउनमा रहेको बेला आवश्यक सावधानी अपनाएर पर्व मनाउनुपर्ने उल्लेख गरेका छन् ।

स्वदेश तथा विदेशमा रहेका सबै नेपाली इस्लाम धर्मावलम्बीको प्रगतिको कामना गर्दै उपराष्ट्रपति पुनले विभिन्न समुदायका चाडपर्व, रीतिरिवाज र धर्म संस्कृतिले आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई बलियो बनाउँदै आएको बताएका छन् ।

नेपालमा कोरोना भाइरसबाट तीन जनासहित विश्वका विभिन्न देशमा जीवन गुमाएका धेरै नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति श्रद्धाञ्जलि र उनीहरूका परिवारजनमा समवेदना व्यक्त गर्दै उपराष्ट्रपति पुनले संक्रमितको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment