Comments Add Comment

प्रदेश २ का अव्यवस्थित क्वारेन्टिन नै कोरोनाको कारखाना

रौतहटस्थित एक क्वारेन्टिनको दृश्य ।

२० जेठ, वीरगञ्ज । सर्लाहीको कविलासी नगरपालिकास्थित अगरवा माध्यमिक विद्यालय क्वारेन्टिनमा बस्दै आएका ३६ जनामा एकसाथ कोरोना संक्रमण पुष्टि भयो ।

भारतको महाराष्ट्रबाट विभिन्न समयमा फर्किएका ५५ जनालाई यो क्वारेन्टिनमा राखिएको थियो । उनीहरूमध्ये ९ वर्षीया बालिका, १४ वर्षीय बालकदेखि ७० वर्षका वृद्ध समेत संक्रमित छन् । क्वारेन्टिनका भान्सेमा समेत संक्रमण देखिएको छ ।

मेयर कैलाशकिशोर यादवका अनुसार ११ गते स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । तर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट १९ गते मात्र रिपोर्ट आयो । त्यसैले नेगेटिभ आएका १९ जनाको ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गर्ने निर्णय भयो । आरडीटीमा तीन जनाको पोजेटिभ आएको छ ।

रौतहटको परोहा नगरपालिकास्थित लौकाहा माध्यमिक विद्यालयको क्वारेन्टिनमा रहेका १२ जनामा एकसाथ संक्रमण देखियो । यहाँ भारतबाट आएका ७० जना बसेका छन् ।

उनीहरूमध्ये ५४ जना र नेपाली सेनाका १० जनाको स्वाब संकलन गरेर पठाएको थियो । त्यसमध्ये क्वारेन्टिनमा बसेका १२ जना र सेनाका दुई जनाको रिपोर्ट पोजेटिभ आएको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जलन्धरप्रसाद यादव भन्छन्, ‘यो क्वारेन्टिन नगरको अरूभन्दा व्यवस्थित छ । उनीहरूलाई अलगअलग सुत्ने व्यवस्था गरिएको छ । तर उनीहरू अरू बेला एकै ठाउँमा भेला हुन्छन्, गफ गर्छन् । त्यसैले क्वारेन्टिन स्थलमा पनि संक्रमित भएको हुन सक्छ ।’

धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ वीरेन्द्र बजारस्थित श्री माध्यमिक विद्यालयको क्वारेन्टिनमा ७३ जना जना छन् । उनीहरूमध्ये एक जनालाई आइतबार संक्रमण पुष्टि भए पनि आइसोलेसनमा लगिएको छैन । विद्यालयमा सवारी साधन पार्किङका लागि बनाइएको सेडमा उनलाई राखिएको छ । संक्रमित र अरूले एउटै शौचालय प्रयोग गर्छन्, स्नान गर्ने ठाउँ पनि एउटै छ ।

यसरी बस्दा संक्रमणको जोखिम बढ्ने भन्दै सोमबार साँझ क्वारेन्टिनमा बसेकाहरूले विरोध गरे । भारतबाट आएर क्वारेन्टिनमा बसेका बाबुलाल विश्वकर्मा भन्छन्, ‘संक्रमितसँगै हामीलाई नराख्नुस् भनेर विरोध जनायौं, तर सुनुवाई भएन ।’

सरकारी तथ्यांकअनुसार प्रदेश २ का ८ जिल्लामा झण्डै २२ हजार मानिस क्वारेन्टिनमा छन् । अधिकांश क्वारेन्टिनस्थल विद्यालय भवनहरूमा बनाइएको छ । तर सामाजिक दुरीलगायतका स्वास्थ्यसम्बन्धी मापदण्ड पालना भएको छैन ।

मापदण्डअनुसार क्वारेन्टिन नहुँदा समस्या विकराल हुन लागेको नारायणी अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट डा. रामाशंकर ठाकुर बताउँछन् । ‘भारतबाट एकैपटक ठूलो संख्यामा मानिसहरू आए, उनीहरूलाई जन्तीलाई बसाए जसरी राखिएको छ’ डा. ठाकुर भन्छन्, ‘कम्तीमा एक मिटरको दुरी त पालना हुनुपर्ने हो । त्यो पनि भएको छैन एक जनामा संक्रमण भयो भने सबैलाई सर्छ ।’

क्वारेन्टिन स्थलबारे आफूकहाँ आएका अनौठा सूचना सुनाउँदै उनले भने, ‘ईशानाथ नगरपालिकाले मठियामा सञ्चालन गरेको क्वारेन्टिनमा खाना दिँदैनन् रे । भारतबाट आएका एक जनाको परिवारले घरबाट खाना लिएर बालबच्चासहित गएर सँगै खाना खाएर फर्किन्छिन् रे । अर्का एकजनाले त दिनभरि क्वारेन्टिनमा बसेपछि राति सुत्न घर पठाउने गरेको घटना पनि सुनाए । यस्तै हो भने संक्रमितको उपचार होइन, सम्हाल्न नसक्ने अवस्था आउँछ ।’

प्रदेश २ का प्रदेश योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा पनि प्रदेश २ मा कोरोना संक्रमितको संख्या बढ्नुको एउटा कारण क्वारेन्टिन पनि भएको स्वीकार गर्छन् । भारतको विभिन्न सहरबाट यहाँ आइपुग्दा थकाइ, अनिन्द्रा, भोकप्यासले पनि मानिसलाई कमजोर पारेको हुन्छ’ उनले भने ‘यहाँ पनि व्यवस्थित ठाउँमा राख्न सकिएन, मानिस कमजोर हुँदा भाइरसले सजिलै आक्रमण ग¥यो ।’

सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरे पनि अझै केही साता प्रदेशका लागि चुनौतीपूर्ण भएको भन्दै सबै मिलेर चुनौतीको सामना गर्नुपर्ने बताउँछन् ।

कति जना छन् आइसोलेसनमा ?

प्रदेश २ नम्बर प्रदेशमा हालसम्म ६९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरूमध्ये एक जनाको मृत्यु भएको छ भने १०४ जना कोरोना मुक्त भएका छन् ।

५८९ जना आइसोलेसनमा छन् । सप्तरीको गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा २४ जना, राजविराजस्थित साइकृष्ण अस्पतालमा ३० जना, सिराहाको महेन्द्र गेनाई अस्पतालमा २५ जना, जनकपुरस्थित कोभिड–१९ विशेष अस्पतालमा २८ जना र धनुषाको लक्ष्मीनिया गाउँपालिकास्थित वी.पी. मेमोरियल पोलिटेक्निकल इन्स्टिच्युटमा ३७ जना संक्रमित छन् ।

महोत्तरीको जलेश्वर अस्पतालमा २४ जना, सर्लाहीको मंलगवामास्थित अल्पामाई रामनारायण यादव नर्सिङ्ग कलेजमा ४४ जना, रौतहटको चपुर अस्पतालमा ८ जना, गौर नर्सिङ्ग इन्स्टिच्युटमा ३१ जना, राजपुर फरहदवा प्राथमिक स्वास्थ्य केन्द्रमा ४२ जना, देवाही गोनाही नगरपालिकास्थित देवाही गोनाही पोलिटेक्निक इन्स्टिच्युट धरहरीमा २२ जना पुरुष, गरुडा नगरपालिकास्थित नेपाल प्रहरी विद्यालयमा ७५ जना कोरोना संक्रमितलाई राखिएको छ ।

यस्तै बाराको कलैया अस्पतालमा ५० जना, वीरगञ्जस्थित कोभिड–१९ विशेष गण्डक अस्पतालमा २० जना छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment