 
																			२१ जेठ, काठमाडौं । सरकारले कोभिड १९ को संक्रमणदेखि मृत्यु हुँदासम्म निको नभएका व्यक्तिलाई मात्र कोभिड १९ का कारण मृत्यु भएको मान्ने भएको छ ।
सरकारले तयार पारेको नयाँ परिभाषाअनुसार कोरोना पोजेटिभ देखिए पनि कोरोनाबाहेकका कारणबाट मृत्यु भएको स्पष्ट भएमा कोभिड १९ बाट मृत्यु भएको मानिने छैन ।
यसअघि मृत्यु हुँदाको बखत कोरोना संक्रमण देखिएको व्यक्तिलाई कोभिड १९ का कारण मृत्यु भएको मान्ने गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले डब्लुएचओको मापदण्डका कारणले नेपालमा अन्य कारणले मृत्यु भएका बिरामीलाई पनि कोभिड १९ का कारण मृत्यु भएको मान्नुपरेको आशयको अभिव्यक्ति दिएका थिए ।
यसैबीच कोभिड १९ का कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधि २०७६ को संशोधन गरी सरकारले कोभिड १९ बाहेकका अन्य कारणबाट मृत्यु भएको स्पष्ट भएमा कोभिड १९ का कारणले मृत्यु भएको नमानिने नियम बनाएको छ।
संशोधित कार्यविधिमा भनिएको छ, ‘… कोभिड १९ बाट मृत्यु भन्नाले कोभिड १९ को क्लिनिकल लक्षण तथा चिह्नहरू र प्रयोगशाला निदानका आधारमा सम्भावित वा पुष्टि भएका केसहरूलाई भन्ने बुझ्नुपर्छ । कोभिड १९ ले बिरामी भएदेखि मृत्यु हुँदासम्मको अवधिबीचमा निज पूर्णतः निको नभएको हुनुपर्छ । कोभिड –१९ बाहेकका कारणबाट मृत्यु भएको स्पष्ट भएमा कोभिड १९ कारणले मृत्यु भएको मानिने छैन ।’

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार बिरामीको कोभिड-१९ सँग कुनै पनि सम्बन्ध नभएको घटना (जस्तै: चोटपटक) बाट मृत्यु भएको पुष्टि भए मात्र कोभिड १९ का कारण मृत्यु नभएको मानिन्छ ।
शव व्यवस्थापनसम्बन्धी कार्यविधिमा के–के छ ?
कोभिड १९ रोग श्वासप्रश्वासबाट निस्कने छिटाहरूबाट, बिरामीसँगको प्रत्यक्ष सम्पर्कबाट र बिरामीले छोएको वस्तुसँगको अप्रत्यक्ष सम्पर्कबाट सरे पनि मृत शरीरको संसर्गबाट रोग सरेको प्रमाण फेला नपरेको कार्यविधिमा जनाइएको छ ।
संशोधित कार्यविधिमा कोभिड १९ का कारण मृत्यु भएका व्यक्तिको शव परम्परागत रुपमा चलिआएका अन्त्येष्टि गर्ने स्थानमा विशेष सावधानी अपनाएर गर्न सकिने उल्लेख गरिएको छ । कोभिड १९ का कारण मृत्यु भएकाहरूको शव स्थानीय प्रशासनको समन्वयमा नेपाली सेनाले गर्नेछ ।
बेवारिसे व्यक्तिको कोभिड १९ का कारण मृत्यु भएमा उसको शवलाई भने गाड्ने कार्यविधिमा उल्लेख गरिएको छ।
नयाँ कार्यविधिमा कोभिड १९ का कारण मृत्यु भएका व्यक्तिको शव शववाहनबाहेक खटमा बोक्न पनि पाउने व्यवस्था पनि गरिएको छ । ‘शववाहन नभएको स्थानमा शव बोक्न प्रयोग हुने साधन (खट) बोक्ने व्यक्तिले मृत शरीर नछुने गरी बनाउनु पर्छ’ कार्यविधिमा भनिएको छ ।
कार्यविधिमा मृतकले प्रयोग गरेको लत्ताकपडा तातोपानी र साबुनमा भिजाएर धुने र घाममा सुकाएर पुनः प्रयोग गर्न सकिने पनि उल्लेख गरिएको छ ।
कोभिड १९ का बिरामीको घरमै मृत्यु भएमा परिवारका सदस्यले सजगता अपनाई अन्तिम संस्कारमा सहभागी हुन सक्ने कार्यविधि बनाइएको छ । जसमा बच्चा र ६० वर्ष माथिका व्यक्तिलाई सहभागी नगराउने भनिएको छ ।
अन्तिम संस्कार गर्ने स्थलमा कार्यरत व्यक्तिहरूलाई शवबाट कोभिड १९ को जोखिम हुँदैन भन्ने जानकारी गराउनुपर्ने पनि कार्यविधिमा उल्लेख छ ।
मृतकको शरीरसँग सिधै सम्पर्कमा नआउने गरी धार्मिक विधि, जस्तै– पूजापाठ गर्ने, पानी छर्किने जस्ता क्रियाकलापमा समस्या नहुने पनि कार्यविधिमा उल्लेख गरिएको छ।
हेर्नुहोस् संशोधित कार्यविधि
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4