Comments Add Comment

बोर्ड अध्यक्षका चुनौती र फिल्मीकर्मीको आशा

हरेक कार्यकालमा चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त हुने चलचित्रकर्मीलाई बधाईको ओइरो नै लाग्छ। बधाईको ओइरो यस अर्थमा लाग्छ कि उनले चलचित्र क्षेत्रका लागि केही न केही नयाँ काम गर्नेछन् भन्ने आशा चलचित्रकर्मीमा देखिन्छ ।

तर कार्यकाल सम्हाल्दै गएपछि उनीबाट देखिएका चलचित्रकर्मीका आशा निराशामा बदलिन्छन् । यसपछि बोर्ड अध्यक्ष जसोतसो दुई वर्षे कार्यकाल सक्छन् र बोर्डबाट बाहिरिन्छन् ।

चलचित्र विकास बोर्डमा जाने अध्यक्षबाट चलचित्र क्षेत्रले उल्लेख्य काम आजसम्म पाएको छैन । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयबाट नियन्त्रित हुने भएकाले पनि बोर्ड अध्यक्षले खुलेरै काम गर्न नसकेको हुन सक्छ । यसैले पनि चलचित्र विकास बोर्ड स्वायत्त हुनुपर्ने माग उठ्दै आएको छ ।

यो पनि पढ्नुहोस विकास बोर्ड अध्यक्षमा दयाराम दाहाल नियुक्त

नेपाल सरकारले चलचित्र विकास बोर्डको अध्यक्ष पदमा निर्देशक दयाराम दाहाललाई नियुक्त गरेको छ । बोर्ड अध्यक्षमा नियुक्त भएसँगै दयरामलाई बधाईको ओइरो लागिरहेको छ । सामाजिक सञ्जा‍लमा बधाई दिँदै गर्दा चलचित्रकर्मीहरूले उनीबाट ठूलो अपेक्षा गरेका छन् । यस्तै, अपेक्षा यसअघि बोर्डमा पुगेका निर्माता केशव भट्टराईमाथि पनि थियो ।

तर दयारामले चलचित्र विकास बोर्डको अध्यक्ष पदमा निकै नै चुनौतीपूर्ण समयमा सम्हालेका छन् ।

चलचित्र विकास बोर्डको अध्यक्ष पद सम्हाल्दै गर्दा उनले पुराना लोकप्रिय नाराहरूलाई मात्र घन्काउने छुट छैन । यसअघिका बोर्ड अध्यक्षहरूले घन्काउँदै आएको बक्स अफिसको नारा मात्र घन्काएर बस्ने छुट उनलाई पक्कै छैन।

किनकि कोरोना सन्त्रासका कारण चलचित्रकर्मीहरू समस्यामा छन् । चलचित्र क्षेत्रका हरेक विधामा काम गर्ने चलचित्रकर्मीहरूसँग समस्यामा मात्रै छन् ।

हल सञ्चालकहरू सरकारले नहेरेको गुनासो गर्दैछन्, निर्माताहरु तत्कालीन राहतको माग गरिरहेका छन् । चलचित्र प्राविधिकहरु एक वर्षसम्म प्राविधिकलाई सरकारले हेर्नुपर्ने माग गर्दैछन् । चलचित्र कलाकार संघ नयाँ भवन बन्न लागेकोमा खुसी छ। चलचित्र क्षेत्रमा सुखद् वातावरण छैन ।

नेपाली चलचित्र क्षेत्रमा लामो अनुभव बटुलेका यी अनुभवी निर्देशकसँग विकास बोर्डको सदस्य पदमा रहेर काम गरिसकेको अनुभव पनि छ । त्यसैले उनले तत्काल केही योजनाहरू अगाडि सार्न सक्नेछन् ।

केही दिन अगाडि उनले एक टेलिभिजनमा दिएको अन्तर्वार्तामा भनेका छन्–‘मैले चलचित्र क्षेत्रमा लागेर करोडौ‌ं कमाउन सक्थेँ । तर म पैसाको पछि लागिन । विकास बोर्डमा मैले पाउने तलबबाहेक अरू पैसा कमाएछु भने सबैको अगाडि आत्महत्या गर्छु ।’

आशा गरौं नयाँ बोर्ड अध्यक्षले गरेको बाचा पूरा गर्नेछन् र यो संकटको घडीबाट चलचित्र क्षेत्रलाई पार लगाउनेछन्। नयाँ बोर्ड अध्यक्ष दाहाललाई शुभकामना।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment