Comments Add Comment

कृषिमन्त्रीलाई प्रदीप गिरीले भने-अभिमन्यु चक्रव्यूहमा पसेझै‌ं तन्त्रमा प्रवेश गर्नुभो

२४ जेठ, काठमाडौं । कांग्रेस सांसद प्रदीप गिरीले बजेटले कोरोनाको संकटलाई अवसरमा बदल्ने आशा ध्वस्त गरेको बताएका छन् । मन्त्रालयगत विनियोजनमाथि संसदमा बोल्दै सांसद गिरीले सबै मिलेर अडाएको र पटक-पटक फेरिएको प्रणालीबाट हुन नसकेको काम कोरोना संकटका कारण हुन्छ कि भन्ने अपेक्षा गरिए पनि बजेट आएपछि त्यो आश मरेको बताए ।

यस्तो बजेट ल्याउने अर्थमन्त्री र त्यसलाई स्वीकार्ने प्रधानमन्त्री र मन्त्रिपरिषद्ले गणतन्त्रपछि आएको अवसर सदुपयोग गर्दै परिवर्तनको अनभूति दिन नसकेको गिरीले बताए ।

‘कृषिमन्त्री घनश्याम भुसाल प्रतिभाशाली र प्रतिबद्ध हुनुहुन्छ, उहाँले लेखेको भूमिका पनि पढेँ, उहाँका त्यसबाहेकका अभिव्यक्ति पनि आएका छन्। मन्त्री भएपछि के-के न गरुँला भनेको केही पनि गर्न सकिने रहेनछ भन्नुभएको छ,’ गिरीले भने,’तपाईं अभिमन्यु चक्रव्यूहमा प्रवेश गरेझै‌ं एउटा तन्त्रमा प्रवेश गर्नुभएको छ ।’

अप्ठेरोमा परेको भन्ने कृषिमन्त्रीको आत्मानुभूतिका लागि धन्यवाद भन्दै गिरीले भुसाललाई परेको अप्ठ्यारोमा प्रधानमन्त्रीमात्रै जिम्मेवार नभएको बताए । संसदीय व्यवस्था र संसदको राग पनि दोषी रहेको गिरीको भनाइ थियो।

‘तपाईंलाई अभिमन्युसँग तुलना गरेपछि मैले बाँकी भन्नु परेन, अभिमन्यु निकै गौरवशाली पात्र थिए र छन्,’ उनले भने,’तपाईंले जस्तै दुस्साहस एकजना पूर्वामन्त्री शैलजा आचार्यले संसदीय फोरमबाट गर्नुभएको थियो र कडा मूल्य तिर्नुभएको थियो ।’

गिरीले यो बजेटमा कृषिलाई सबैभन्दा बढी महत्व दिनुपर्नेमा खतरनाकसँग कनिका छरिएकोजस्तो पैसा छरिएको गरिएको बताए । उनले चक्रव्यूहमा परेकाहरूलाई त्यसबाट सुरक्षितसँग फर्किनुहोला भन्ने शुभकामना पनि दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment