Comments Add Comment

लकडाउन खुकुलो पार्न सीसीएमसी र उच्चस्तरीय समितिको प्रस्ताव मर्ज हुँदै, आजै प्रस्ताव तयार हुने

२५ जेठ, काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड १९ (नोबल कोरोना भाइरस) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन खुकुलो बनाउने प्रस्ताव तयार पारेर (आज) आइतबार मन्त्रिपरिषदमा पठाउँदैछ । लकडाउनको मोडालिटीलाई अन्तिम रुप दिन आजै साँझसम्म मन्त्रिपरिषद बैठक बस्न सक्ने उच्च स्रोतले जनायो ।

जेठ १७ गते बसेको मन्त्रिपरिषद बैठकले उच्चस्तरीय समितिलाई लकडाउनको मोडालिटी तय गर्ने जिम्मेवारी दिएको थियो । क्याबिनेटले निर्देशन दिएको ८ दिनपछि बल्ल उच्चस्तरीय समितिले लकडाउनलाई चरणवद्धरुपमा खुकुलो बनाउने मोडालिटीलाई अन्तिम रुप दिन लागेको हो ।

यसवीचमा जेठ २२ गते पनि बालुवाटारमा मन्त्रिपरिषदको बैठक बसेको थियो । तर, सो बैठकमा उच्चस्तरीय समितिले लकडाउनको मोडल प्रस्तुत गर्न सकेन

सरकारले लकडाउनको मोडालिटी तय गर्न नसकिरहेकै बेला काठमाडौं लगायत विभिन्न सहरमा जनस्तरबाटै लकडाउनलाई खुकुलो बनाउने क्रम सुरु भइसकेको छ । आइतबार पनि काठमाडौंमा लगायतका सहरमा अधिकांश पसलहरु खुलेका छन् । सडकमा सवारी साधन बाक्लिएका छन् ।

सरकारी अलमल

यसवीचमा  उच्च स्तरीय समितिले जेठ २५ बाटै लकडाउन खुकुलो पार्ने, सयभन्दा कम कोरोना संक्रमित रहेका जिल्लामा आन्तरिक सवारी साधन चलाउने, असार १ देखि आन्तरिक हवाइ उडान सञ्चालन गर्ने र लामो दुरीका यातायात चलाउने लगायतको प्रस्ताव तयार पारेको थियो । असार १७ गतेदेखि शैक्षिक संस्थाहरु खोल्ने उच्चस्तरीय समितिले प्रस्ताव तयार पारेको थियो ।

तर, आज जेठ २५ गते भइसक्दा पनि यो प्रस्ताव कार्यान्वयनमा आउन सकेन । उपप्रधानमन्त्रीले तयार पारेको प्रस्तावमा नेपाली सेनाले असहमति जनाउँदा ढीलो भएको स्रोत बताउँछ ।

उच्चस्तरीय समितिकै सचिवालयका रुपमा काम गर्ने गरी नेपाली सेनाको ब्यारेकमा खोलिएको कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) एमसीले पनि बेग्लै मोडालिटी तय गरेर उच्च स्तरीय समितिमा प्रस्तुत गरेको छ । यसले गर्दा ईश्वर पोखरेलको प्रस्ताव एकातिर, सीसीएमसी अर्कोतिर हुन पुगेको छ । मन्त्रालयको काममा सेना हावी भएको भन्दै सरकारमै रहेमा कतिपय मन्त्रीहरु असन्तुष्ट देखिएका छन् ।

तर, अब उपप्रधानमन्त्री पोखरेलको समिति र सीसीएमसीले तयार पारेका दुबै प्रस्तावलाई आपसमा मर्ज गरेर अन्तिम प्रस्ताव तयार पार्ने गृहकार्य उच्चस्तरीय समितिले थालेको छ । स्रोतले अनलाइनखबरसँग भन्यो, ‘दुवै प्रस्तावलाई मर्ज गरिँदैछ, सीसीएमसीले हप्ताका आधारमा मोडालिटी बनाएको थियो, त्यसलाई अब ‘चरण’ भनिने छ । अब लकडाउन खुकुलो पार्ने मोडालिटी ‘पहिलो हप्ता, दोस्रो हप्ता’ नभनेर ‘पहिलो चरण, दोस्रो चरण’ का आधारमा गरिने छ । एउटा चरण एक हप्ताभन्दा बढी जान सक्छ ।

उच्चस्तरीय समितिले सदस्य रहेका शनिबार मन्त्रीहरुलाई प्रस्तावको मस्यौदा वितरण गरेको छ । सो मस्यौदामा सुझावहरु आएपछि आजै त्यसलाई अन्तिमरुप दिएर मन्त्रिपरिषदमा पठाइने स्रोतले अनलाइनखबरलाई बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment