Comments Add Comment

उपत्यकाका मेयरहरूको एक स्वर : विकास प्राधिकरण खारेज गरियोस्

२६ जेठ, काठमाडौं । उपत्यका नगरपालिका फोरमले काठमाडौं उपत्यका विकास प्राधिकरण अविलम्ब खारेज गर्न संघीय सरकारसँग आग्रह गरेको छ। फोरमले विज्ञप्ति जारी गरी सहरी विकासमन्त्री बसन्तकुमार नेम्वाङ र राज्यमन्त्री रामवीर मानन्धरसँग यस्तो आग्रह गरेको हो।

विज्ञप्ति जारी गर्नुअघि फोरमका अध्यक्ष समेत रहेका काठमाडौ‌ं‌ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले सहरी विकास राज्यमन्त्री मानन्धरसँग छलफल गरेको थियो ।

२०४५ सालमा तत्कालीन राजा वीरेन्द्रले लालमोहर लगाएको ऐनका आधारमा चलेको उपत्यका विकास प्राधिकरणलाई अहिलेको संविधानले नचिनेको भन्दै नगरपालिका फोरमले पटक-पटक खारेजीको माग गर्दै आएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरण २०६८ मा पहिलो संशोधन भएको थियो ।

२०७६ साल वैशाख २५ गते फोरमका अध्यक्ष शाक्यको अध्यक्षतामा सम्पन्न चौथो विस्तारित बैठकले पनि तत्काल प्राधिकरण खारेजीको माग गरेको थियो ।

‘प्राधिकरण २०४५ सालमा गठन भएको संस्था हो । यो संस्था राजा वीरेन्द्रले जारी गरेको पञ्चायती अवशेषको ऐनमा टेकेर बसिरहेको छ । यसको जग नै बलियो छैन,’ फोरमका सचिव श्रेष्ठले भने, ‘प्राधिकरण मुलुकमा गाउँपञ्चायत रहँदा स्थापना भएको संस्था हो । अहिले गाविस हुँदै स्थानीय सरकार बनिसकेको अवस्थामा र वर्तमान संविधानले समेत नचिनेको संस्था राखिराख्न उचित छैन ।’

उनले उपत्यकाको राजनीतिक, सामाजिक, आर्थिक, प्रशासनिकसँगै मानिसको चेतनामा पनि व्यापक परिवर्तन भइसकेको वर्तमान अवस्थामा प्राधिकरणको कुनै औचित्य नरहेकाले खारेजीको अर्को विकल्प नभएको पनि बताए।

‘नेपालमा पञ्चायती व्यवस्था हटेर बहुदल हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल स्थापना भएको छ । तर अहिले उपत्यकामा नयाँ सहर निर्माणका लागि त्यही पञ्चायती अवशेषको ऐनमा टेकेको उपत्यका प्राधिकरणलाई अघि सार्न खोजिएको छ । यसमा पुनर्विचार गर्नुपर्छ । हामीले सहरी विकास मन्त्री र राज्यमन्त्री दुवै जनालाई यही आग्रह गरेका छौ‌ं,’ श्रेष्ठले भने, ‘यसमा पुनर्विचार नगर्ने हो भने उपत्यकाका सबै नगरपालिकाको असहयोग रहन्छ ।’

उपत्यकाका संघीय र प्रदेश सांसदहरूसँगै विज्ञहरुसँग पनि यस विषयमा छलफल गरेर त्यसको निष्कर्षसहित प्रधानमन्त्रीलाई भेट्नेसम्मको तयारीमा उपत्यका नगरपालिका फोरम रहेको श्रेष्ठले जानकारी दिए ।

‘स्थानीय तहका निर्णय नमान्ने, स्थानीय तहका आयोजनामा सहयोग गर्ने, जनप्रतिनिधिलाई निर्देशन दिने, नगरसभाले गरेका निर्णयविरुद्ध अदालतमा मुद्दा दायर गर्न जाने जस्ता कार्यमा प्राधिकरण लागिरहेको छ,’ उनले भने, ‘अधिकार क्षेत्रबाहिर गएर स्थानीय तहको अधिकार प्रयोगमा समेत बाधा पुर्‍याइरहेको यो संस्था खारेजीबाहेक अरू कुनै विकल्प छैन ।’

उनले नगरपालिका र उपत्यका प्राधिकरणको काम, कर्तव्य र अधिकार ९० प्रतिशतभन्दामाथि मिल्दोजुल्दो रहेको भन्दै संघीय संरचनाअनुसारको स्थानीय सरकारलाई बाइपास गरेर प्राधिकरणलाई अघि सार्ने कुरा कुनै हालतमा स्वीकार्य नहुने दाबी गरे ।

‘उपत्यकाका १८ वटा नगरपालिकाका मेयरको पनि मेयर हुँ भन्ने भ्रम प्राधिकरणको नेतृत्वमा छ,’ उनले भने, ‘त्यहीअनुसारको गतिविधिमा नेतृत्व लागेको छ । यो संघीयताको मर्म विपरीत छ । त्यसैले संविधानले नचिनेको यो संस्था खारेज हुनुपर्छ भन्ने हाम्रो माग हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment