Comments Add Comment

जब सर्पले डसेका बिरामी कोरोना पोजेटिभ भएको थाहा भयो…

२८ जेठ, सुर्खेत । कर्णाली प्रदेश अस्पतालको इमर्जेन्सीमा उपचार गराइरहेका एक जना विरामी कोरोना संक्रमित भएको थाहा भएपछि प्रदेश अस्पतालमा खैलाबैला मच्चिएको छ ।

सुर्खेत बराहताल गाउँपालिका–४, को क्वारेन्टिनमा बस्दै आएका ५० वर्षीय एक जना पुरुषलाई सर्पले डसेपछि मंगलबार उपचारका लागि प्रदेश अस्पताल वीरेन्द्रनगर ल्याइएको थियो । तर ती बिरामी क्वारेन्टिनमा बस्दै आएको भन्ने औपचारिक जानकारी अस्पताललाई दिइएको थिएन ।

इमर्जेन्सी कक्षमा उपचार गराइरहेका ती पुरुष क्वारेन्टिनमा बस्दै आएको अस्पताललाई मंगलबार साँझ मात्र थाहा भयो । उनको उपचारमा ४ जना चिकित्सकहरु खटिएका थिए । ती पुरुषको मंगलबार नै पीसीआर रिपोर्ट पोजेटिभ आएको अस्पताललाई थाहा भएपछि अस्पतालमा केहीबेर खैलाबैला मच्चिएको थियो ।

डाक्टर भन्छन्– स्थानीय तहको गैरजिम्मेवारीपन

प्रदेश अस्पतालका निर्देशक डा. डम्मर खड्काले भने स्थानीय तहको गैरजिम्मेवारीपनले अस्पतालको इमर्जेन्सी वार्ड बन्द गर्नुपर्ने अवस्था आएको बताए ।

‘ती पुरुषको आरडीटी रिपोर्ट पनि पोजेटिभ रहेछ । क्वारेन्टिनको विरामी भन्ने समयमै जानकारी दिएको भए, त्यही अनुसार पीपीइ सहित उपचार गरिन्थ्यो,’ उनले भने, ‘स्थानीय तहको गैरजिम्मेवारीपनले इमर्जेन्सी वार्ड नै बन्द गर्नुपर्ने स्थिति आएको छ ।’

सबैवाट यस्तै व्यवहार भए अस्पतालले दिइरहेको सबै सेवाहरु बन्द हुने अवस्था आउने उनको भनाइ छ ।

उपचारमा खटिएका चिकित्सक, एम्बुलेन्स चालक र अन्य केही कर्मचारीको स्वाब संकलन गरेर पीसीआर परिक्षणका लागि पठाइसकिएको छ । उनीहरुलाई क्वारेन्टिनमा पठाउने तयारी पनि भरहेको निर्देशक डा. खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment