Comments Add Comment

कोरोना होस् वा नहोस्, पाकिस्तान बन्यो लकडाउनमुक्त मुलुक

२८ जेठ, काठमाडौं । पाकिस्तानमा कोरोना भाइसरस (कोभिड-१९) को संक्रमण दिनानुदिन बढ्दो क्रममा छ । यस्तो अवस्थामा लकडाउनमा दिइएको छुटको स्वतन्त्रता पनि बढेको छ । पाकिस्तानको सरकारले महामारी नियन्त्रणको लागि भौतिक दुरी कायम गर्ने विषयसँग जोडिएका नियम पालना भएको बताइरहेको छ । तर, वास्तविक अवस्था भने निकै भिन्न छ ।

मानिसहरुको बीचमा आवश्यक दुरी कायम राख्न किराना पसलहरु तथा औषधि पसलअघि कोरिएका लाइन मेटिइसकेको छ । साथै पसलभित्र पनि धेरै मानिस जम्मा नहुन् भनेर राखिएका सुरक्षाकर्मीहरु हटिसकेका छन् ।

बुधबार दिइएको जानकारी अनुसार पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक लाख १३ हजार नाघेको छ । स्वास्थ्य विभागका अनुसार सबैभन्दा धेरै संक्रमित पाकिस्तानको पञ्जाब र सिन्ध प्रान्तमा फेला परेका छन् । पाकिस्तानमा अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दुई हजार २५५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र पाकिस्तानमा कोरोना भाइरसबाट ८३ जनाको मृत्यु भएको छ ।

अहिलेको अवस्थालाई मध्यनजर गर्दै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले पाकिस्तानलाई कोरोना भाइरसको संक्रमण उत्कर्षमा पुग्नुभन्दा पहिला नै लकडाउन खोल्ने निर्णय पाकिस्तानको लागि घातक हुन सक्ने चेतावनी दिएको छ ।

डब्ल्यूएचओको यस्तो चेतावनीप्रति पाकिस्तानको सबैभन्दा प्रभावित राज्य पञ्जाबकी स्वास्थ्यमन्त्री यासमिन राशिदले एक अन्तर्वार्तामा भनेकी छिन्, ‘डब्ल्यूएचओलाई जे सही लाग्छ त्यो गरोस् तर हामीले आफ्नो परिस्थिति हेरेर अघि बढ्नुपर्ने हुन्छ ।’

राशिदको प्रतिक्रिया प्रधानमन्त्री इमरान खानले लिएको अडानसँग पनि मेल खान्छ । उनले गरिबीको अगाडि लकडाउन कहिल्यै पनि विकल्प नहुने बताउँदै आएका छन् ।

यद्यपि पाकिस्तानका स्वास्थ्यकर्मीहरु भने मुलुकमा कोरोना भाइरसको संक्रमण रोक्नका लागि लकडाउनमा कडाइ गरिनुपर्ने पक्षमा छन् । यो विषयमा शुरुवातदेखि नै राजनीति पनि भइरहेको छ । विपक्षी पार्टीहरुले पनि मुलुकमा लकडाउन गर्नुपर्ने माग गरिरहेका छन् । तर, सरकारले लकडाउनसँग सम्बन्धित करिब सबै प्रतिबन्ध हटाइसकेको छ । त्यसैले कोभिड-१९ होस् वा नहोस् पाकिस्तान लकडाउनमुक्त मुलुक बनेको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment