Comments Add Comment

सरकारले भन्यो : बाहिरबाट आउँदैमा कोरोना परीक्षण गर्न बाध्य नपार्नू

३२ जेठ, काठमाडौं । सरकारले लकडाउन खुकुलो भएपछि एक जिल्लाबाट अर्को जिल्लामा जाने व्यक्तिलाई कोरोना परीक्षणका लागि बाध्य नपार्न आग्रह गरेको छ ।

लकडाउन खुकुलो भएपछि घरबाट काठमाडौं र अन्य जिल्लामा काममा फर्किने मानिसको संख्या बढेसँगै त्यस्ता मानिसलाई स्थानीय तह, घरधनीहरुले कोरोना परीक्षण गराउन बाध्य पार्ने गरेका छन् ।

यसप्रति ध्यानाकर्षण भएको जनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफूले जारी गरेको निर्देशिका विपरीत कोरोना परीक्षण हुन नसक्ने बताएको छ । उसले निर्देशिकाभन्दा बाहिर गएर कोरोना परीक्षण नगर्न प्रयोगशाला, स्वास्थ्यकर्मी र अस्पतालहरुलाई पनि आग्रह गरेको छ ।

‘बाहिर गएर आउँदा, यात्रा गर्दा संक्रमित हुने जोखिम हुन्छ नै त्यसो भनिरहँदा यात्रा गर्दा वा घरबाहिर गएर आउँदैमा परीक्षण गराइहाल्नुपर्छ भन्ने कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको व्प्यवस्था निर्देशिकामा छैन’ मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेशबाट हालै आएका, क्वारेन्टिनमा बसेका र संक्रमण फैलिएको क्षेत्रका स्थानीय वासिन्दाको कोरोना परीक्षण गर्ने नीति बनाएको छ ।

उनले जहिलेसुकै र जोसुकैको परीक्षण गर्दा स्रोत साधनको दुरुपयोग हुने र प्राविधिक रुपमा पनि जुन समयमा भाइरस सक्रिय हुन्छ त्यही बेला पारेर परीक्षण गर्नुपर्ने बताए । ‘त्यसैले अत्यावश्यक नपरी यात्रा नगर्ने र घरबाहिर ननिस्कने, जानैपर्ने भए स्वास्थ्य मन्त्रालयले भनेअनुसार सुरक्षाको मापदण्ड अपनाएर जानुपर्छ’ प्रवक्ता डा. गौतमले भने ।

यात्रा गरेर आएका व्यक्ति क्वारेन्टिनमा वा आइसोलेसनमा बस्नु एक मात्र प्रभावकारी उपाय भएको उनले बताए । ‘आफैंलाई गाह्रो भएको ख्याल गर्न र स्वास्थ्यकर्मीलाई सम्पर्क गर्नुहुन अनुरोध छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment