१ असार, काठमाडौं । स्पानिस ला लिगामा अन्तर्गत आइतबार भएको खेलमा रियल मड्रिडले आइबरलाई पराजित गर्दै शीर्ष स्थानको बार्सिलोनासँग अंक दूरी घटाएको छ ।
क्लबको युथ टिमको मैदान डे स्टाफानोमा भएको खेलमा रियलले आइबरलाई ३-१ ले हरायो । रियलले पहिलो हाफमै ३ गोल गरेको हो ।
खेलको चौथो मिनेटमै टोनी क्रुसले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ३०औं मिनेटमा कप्तान सर्गियो रामोसले गोल गर्दै अग्रता दोब्बर पारे । ३७औं मिनेटमा मार्सेलोले गोल गरेपछि रियलले ३-० को अग्रता बनायो ।
आइबरका लागि दोस्रो हाफमा पेड्रो बिगासले एक सान्त्वना गोल फर्काए । घरेलु मैदान सान्टियागो बर्नाबेउ पुनर्निर्माणको क्रममा रहेकाले रियलले होम म्याच युथ टिम कास्टिलाको मैदानमा खेलेको हो ।
जितपछि रियलले २८ खेलबाट ५९ अंक जोडेको छ शीर्ष स्थानको बार्सिलोनासँग अंक दूरी २ मा झारेको छ । समान खेलबाट लिग लिडर बार्सिलोनाको ६१ अंक छ ।
यस्तै चौथो स्थानको रियल सोसिडाड भने ओसासुनासँग १-१ को बराबरीमा रोकिएको छ । सोसिडाडको घरेलु मैदानमा भएको खेलमा एड्रिएन लोपेजले २९औं मिनेटमा पेनाल्टीमा गोल गर्दै ओसासुनालाई अग्रता दिलाएका थिए । सोसिडाडका लागि मिकेल ओयाजाबालले बराबरी गोल फर्काए ।
बराबरीपछि २८ खेलबाट ४७ अंकसहित सोसिडड चौथो स्थानमै यथावत छ । तेस्रो स्थानको सेभियाभन्दा ३ अंकले पछि रहेको सोसिडाडले गेटाफे र एट्लेटिको मड्रिडलाई समान एक अंकले पछि पारेको छ ।
प्रतिक्रिया 4