Comments Add Comment

शिक्षक दरबन्दी नभएपछि सिन्धुपाल्चोकका चार सामुदायिक विद्यालय गाभिए

३ असार , काठमाडौं । सरकारी शिक्षककाे दरबन्दी अभावको कारण सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको ४ वटा सामुदायिक विद्यालय गाभ्ने भएकाे छ । रैथाने मावि, चिलाउने मावि, सातकन्या र टालटुले आधारभुत प्राथमिक विद्यालय गाभेर एउटा नयाँ विद्यालय बनाइने भएकाे हाे ।

चार वटै स्कुलमा मावि तहको सरकारी दरबन्दी नभएकाले निजी स्रोतबाट स्कुल चलाउनु परेकाले गाउँपालिकाले आर्थिक भार कम गर्न मर्जरको बाटो अपनाएको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले बताए ।

अध्यक्ष लामा भन्छन्,‘हाल सञ्चालन भइरहेको विद्यालयहरुमा विद्यार्थी अभाव भएकाले मर्ज गरेका होइनौं । गाउँपालिकाको बजेट शिक्षकहरुलाई तलब दिँदै सकिने भएकाले विद्यालय मर्ज गरेर आर्थिक व्ययभार कम हुन्छ र गुणस्तरीय शिक्षा र नमुना विद्यालय बनाउन स्कुल पनि बनाउन सकिन्छ भनेर गाभेका हौं।’

हाल सञ्चालन भइरहेको विद्यालयहरुमा ८ सय जना भन्दा बढि विद्यार्थी अध्यरत छन् भने ६० बढी शिक्षक कार्यरत छन् ।  त्यसैले चार वटै स्कुल गाभिनुको कारण भने विद्यार्थी अभाव नभएको अध्यक्ष लामा बताउँछन् । गाभिएको बिद्यालयको नाम थाङ पाल भ्याली माध्यमिक बिद्यालय रहेको छ।

नयाँ विद्यालयको लागि भवन बन्दै

गाउँपालिको वडा नं ४ मा रहेको चार वटै स्कुललाई गाभेर नयाँ विद्यालय बनाउन भवन निर्माणको काम सुरु गरेकाे छ । ०७८ फागुन पहिलो साताभित्र भवन तयार हुने गरी ०७६ फागुन ४ गतेबाट भवन निर्माणको काम सुरु भएको हो ।

विद्यालयको लागि आवश्यक भवनको जग राख्ने काम सकिएको गाउँपालिकाका अध्यक्ष टासी लामाले बताए । उनले भने, ‘नयाँ शैक्षिक सत्र २०७७ बाट भवन निर्माण सम्पन्न नभएसम्म हाल भइरहेको स्कुलमै कक्षा सञ्चालन गर्ने र स्कुलको प्रध्यानाध्यापक भने एक जना मात्रै हुनेछ । नयाँ शैक्षिक सत्र सुरु हुनु अघि नै विद्यालय व्यवस्थापन समिति गठन गरी नयाँ प्रध्यानाध्यापन छनोट हुनेछ ।’

अहिले चिलाउने मावि र रैथाने माविमा १० कक्षा सम्म सञ्चालन भइरहेको छ भने टालटुले आधारभुत प्राथमिक र सात कन्यामा ५ कक्षा मात्रै पढाइ हुने गर्दछ । मर्ज भएका थाङपाल भ्याली माविमा तत्काल १० कक्षा सम्म सञ्चालन हुने र पछि उच्च शिक्षाकाे लागि पनि व्यवस्था गर्ने तयारी छ ।

विद्यालयको नयाँ भवन निर्माणको लागि एसियाली विकास बैक एडीबीले २२ करोड लगानी गर्न लागेको जनाइएकाे छ । गाउँपालिकाकाे वडा नं ४ कोटगाउँमा बन्दै गरेको स्कुलमा बाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले ५० लाख रुपैयाँ सहयोग हुनेछ ।

१९ रोपनी जग्गामा बन्दै गरेको थाङपाल भ्याली मावि सिन्धुपालचोक जिल्लाकै नमुना र आवसीय स्कुल बनाउने लक्ष्य रहेको लामाले बताए । स्कुलको नयाँ भवन तयार नभएसम्म विद्यार्थीहरु हाल पढिरहेका स्कुलमा पढ्नेछन् भने भवन बनेपछि विद्यार्थीहरुलाई नयाँ स्कुलको भवनमा सारिनेछन् ।

नयाँ बन्ने विद्यालयमा झण्डै १ हजार विद्यार्थी पढ्ने क्षमता रहने छ । विद्यालयको नयाँ भवन बनाउन गाउँपालिकाले जग्गाको व्यवस्था गरेको हाे । नयाँ भवनमा स्कुल सञ्चालन हुने भएपछि अभिभावकहरु पनि खुसी देखिएका छन‍् ।

स्थानीय अभिभावक माइला तामाङ सुविधा सम्पन्न स्कुलमा आफ्नो बच्चा पढ्न पाउने भएपछि खुशी व्यक्त गरे । उनले भने, ‘आफूले त पढ्न पाइएनऽ अब छोराछोरीले यहीँ उच्च शिक्षा पनि लिन पाउने भए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment