Comments Add Comment

बहस : शेयर बजार खोल्नैपर्छ, खोल्नु हुँदैन !

कोरोना भाईरसको महामारीबाट जोगिन लागु गरिएको लकडाउनले अर्थब्यवस्था चकनाचुर बनाउनुका साथै सामाजिक ब्यवस्थामा पनि नकारात्मक प्रभाव पारिरहेको महसुस भएकै कारणले विभिन्न मूलुकहरुले संक्रमण बढदै गएता पनि लकडाउनको मोडालिटिमा परिवर्तन गर्न थालेका छन् ।

हाम्रो देशमा २०७६ चैत्र ११ देखि लकडाउन लागु गरिएको हो । ७३ दिन वित्दा २००० नाघि सकेको संक्रमितको संख्या ८६ औं दिन (२०७७/०३/०४ गते ) सम्म आईपुग्दा ७००० भन्दा बढी भैसकेको छ जुन अझै तिव्र रुपले बढने संभावना देखिएको छ । अर्थात ८६ दिनको हाम्रो योगदानले केही काम गरे तापनि बढदो संक्रमणलाई रोक्नका लागि अहिलेकै मोडालिटीमा लकडाउनलाई बढाउने हो भने जनतामा आक्रोस बढन गई सरकारले प्रत्युद्पादक अवस्था ब्यहोर्नुपर्ने हुन्छ ।

लकडाउन कोरोना महामारीको सम्पूर्ण समाधान होइन भन्ने महसुस भएपछि लामो समय सम्मको लकडाउन पश्चात नयाँ संक्रमित थपिँदै जानुको बावजुद अर्थ ब्यवस्थालाई क्रमशः खुला गरिँदैछ । यसको मुख्य कारण भनेको रोगले भन्दा पनि भोक र मानसिक तनावले मर्ने चिन्ता ब्यापक हुँदै गई सरकार प्रतिको विद्रोहको श्वर बढदै जानु हो ।

त्यसैले असार १ गतेदेखि सरकारले लकडाउन खुकुलो पारी कतिपय क्षेत्रलाई नियन्त्रित रुपले खुला गरेको छ । यसरी खुला हुने क्षेत्रमा बैक तथा वित्तीय संस्था, सरकारी कार्यालयहरु, सानातिना उध्योग ब्यवसायहरु छन् । तर, काठमाण्डौंमा ५० र मोफसलमा तिनकै शाखाहरु गरी करिब ७०/८० को संख्यामा कार्यालयहरु रहेका शेयर ब्रोकर कार्यालय खुला नगरी शेयर कारोबार रोक्का नै राखिएको छ ।

शेयर बजार खोल्नुहुँदैन र खोल्नुपर्छ भन्ने समूहको आ-आफ्नै तर्क छन्

बजार खोल्नुहुँदैन भन्ने पक्षका तर्क

कोरोनाको माहामारीका कारणले शेयर बजार खुला गर्दा ठूलो गिरावट आउने भएकाले बजार बढने वातावरण बनाएर मात्र बजार खोल्नुपर्छ भन्ने पक्षमा छन् र मागहरुको ठूलै फेहरिस्त प्रस्तुत गरिएका छन् ।

प्रस्तुत गरिएका विभिन्न मागहरु कुनै एक निकायको क्षेत्राधिकारभित्र मात्र नपर्ने भएकाले नियामकीय निकायको ( धितोपत्र वोर्ड तथा नेप्से) एक्लो प्रयासले मात्र माग संबोधन हुने अवस्था देखिदैन ।

अतः लगानीकर्ताको हित संरक्षण गर्ने नाममा छोटो समयमा आफ्ना माग पूरा नभई बजार खोल्नु हुन्न भन्ने अत्तो थापेर कतै पुँजी बजार संग सम्बन्धित लगानीकर्ता संघहरु ठूला खेलाडीको गोटी त भएका होइनन् ? यतातिर शंका गर्ने आधारहरु त प्रशस्तै छन्, जसको पुष्ट्याई समयले गर्छ नै ।

विश्वमा कतै पनि यति लामो समयसम्म शेयर बजार बन्द भएको छैन । शेयर बजारलाई नकारात्मक असर पर्ने कुनै पनि घटना घटने वितिकै शेयर मूल्यमा गिरावट आउनु स्वभाविकै हो । अब त्यसरी गिरावट आउँछ भन्दैमा शेयरबजार बजार बढने संभावनाको ग्यारन्टी नगरी बजार खोल्नु हुँदैन भनेर अत्तो थापेर आम लगानीकर्ताको संवैधानिक हक माथि खेलवाड गर्नु कत्तिको जायज हो ।

बजारले तत्काल कुनै अशुभ भविष्यको संकेत गर्‍यो भन्दैमा यो सत्यलाई लुकाउनु भनेको आफूलाई लागेको उच्च ज्वरो अरुले थाहा पाउँछन भनेर थर्मामिटर लुकाउनुजस्तै हो ।

बजार खोल्नुपर्छ भन्ने पक्षका तर्क

बजारको मुख्य काम विध्यमान सबै तत्वहरुको आधारमा क्रिया प्रतिक्रिया जनाई मूल्य निर्धारण गरी तरलता प्रवाह गर्नु हो । बजारमा देखा पर्ने अनेकथरी ज्ञात अज्ञात तत्वहरुले बजारको क्षमतालाई असर गरिरहेको हुन्छ । त्यसैले गर्दा कसैको लागि उही मूल्य उचित लाग्छ भने अर्काथरी त्यो मूल्यमा कारोबार गर्न ईच्छुक हुदैनन् ।

अतः उचित मूल्य भन्दा पनि तरलतालाई बढी महत्व दिने लगानीकर्ताहरु बजारमा रहेसम्म बजारलाई कुनै पनि बहानामा बन्द गर्नु उचित हुँदैन । यसो गर्नु भनेको लगानीकर्ताको कारोबार गर्ने नैसर्गिक अधिकारलाई कुण्ठित गर्नु हो ।

त्यस्तै लामो समयसम्म बजार बन्द गर्नु भनेको बजारबाट बाहिरिन खोज्ने लगानीकर्ता तथा बजार प्रवेश गर्न ईच्छुक लगानीकर्ताको लागि शेयर बजारको ढोका बन्द गर्नु हो । त्यसैले बजारलाई लामो समय सम्म बन्द नगरी खुला राख्नु पर्छ ।

बजारलाई लामो समयसम्म बन्द गराएर बजार क्र्यास गराउने षडयन्त्र हो कि ?

कोरोनाजस्तो राष्ट्रिय संकटको बेलामा पुँजी बजारसँग सम्बन्धित विभिन्न संघहरुले बजार खोल्न नदिन विभिन्न मागहरु तेर्स्याएर बजारलाई अनिश्चयको भूमरीमा धकेल्नु किमार्थ पनि लगानीकर्ताको हितमा हुँदैन । मागहरु भनेको रातारात पूर्ति हुने कुरा होइन । यो एकभन्दा बढी पक्षहरु वीच हुने लगातारको बार्गेनिगबाट प्राप्त हुन्छ । मागको सम्बोधनमा गर्ने कार्यमा सरकारी तथा गैरसरकारी विभिन्न पक्षहरुले योगदान दिनुपर्ने हुनाले यसमा समय लाग्ने नै हुन्छ । अतः माग पूरा नहुन्जेल बजार नखुलाउनतिर जोडबल गर्नु भनेको आफ्नै खुट्टामा बन्चरो प्रहार गर्नु हो । यसलाई सानो उदाहरणबाट ग्रहण गर्न सकिन्छ ।

बर्षा शुरु हुनु पूर्व खोलामा कमजोर बाँध बनाएर पानीको प्रवाहलाई केही समय त रोक्न सकिएला । तर, जब बाँधले दबाव थेग्न सक्दैन, त्यो भत्किन्छ नै र त्यसले ल्याउने विध्वसं बाँध नबनाउँदाको भन्दा कैयौं गुणा बढी हुन्छ ।

अहिले शेयरको कारोबार रोक्नु भनेको पनि यस्तै हो । लामो समय बजार बन्द हुँदा लगानीकर्ताको नगद आवश्यक्ता बढदै जान्छ र बजार खुल्दा यसले सृजना गर्ने अत्यधिक बिक्रीको प्रेसरले बजार ओरालो लाग्नु स्वभाविक नै हुन्छ भने अर्कोतर्फ ठूला तथा खेलाडी लगानीकर्ताबाट कृत्रिम बिक्रीको चाप बढाई सूचकमा ठूलो गिरावट ल्याउने षडयन्त्र नहोला भन्न सकिन्न ।

नियामक निकाय बर्गेल्ती उम्रेका संघहरुको गोटी हुनु हुँदैन

अत्यधिक भिडभाड हुने तथा आवत जावत हुने बैंङ्क तथा वित्तीय संस्था, सरकारी कार्यालयहरु खुला भैसकेको अवस्थामा काठमाण्डौंमा ५० र मोफसलमा तिनकै शाखाहरु गरी करिब ८० को संख्यामा कार्यालयहरु रहेका शेयर ब्रोकर कार्यालय खुला नगरी शेयर कारोबार रोक्का राखिरहनु औचित्यपूर्ण देखिँदैन ।

शेयर बजार बन्द गर्ने कि खोल्ने भन्ने निर्णय सरकार तथा नियामकीय निकायले लिने कुरा हो । तिनले लिने निर्णयमा लगानीकर्ताको हितको आवरणमा आफ्नो व्यक्तिगत स्वार्थपूर्तिको अभिलाषा पूरा गर्ने उद्धेश्यले खुलेका संघहरुबाट तेर्स्याईएका मागलाई हावी हुन दिनु आफ्नो विश्वसनीयता माथि ग्रहण लगाउनुसरह हो ।

अतः सरकार तथा नियामकीय निकायले सम्पूर्ण लगानीकर्ताको हक हितका लागि यस्ता संघहरुबाट उठाइएका औचित्यपूर्ण मागहरु पूरा गर्ने वातावरण बनाउनुका साथै बजार यथाशिघ्र खुला गरी लगानीकर्ताको कारोबार गर्न पाउने नैसर्गिक अधिकारको सरंक्षण गर्नुपर्छ ।

किन बजार बन्द गर्नु हुँदैन ?

शेयर बजारलाई सानो-सानो कुराले पनि असर गरिरहेको हुन्छ । त्यसैले यो अत्यधिक चलायमान हुन्छ र यो नै, यसको सुन्दर पक्ष पनि हो । किनकि, शेयर बजारमा बजार घट्दा र बढ्दा दुबै अवस्थामा लाभ लिने पर्याप्त अवसरहरु हुन्छ । त्यसलै बजार घट्छ भनेर बजार बन्द गर्नु भनेको घटेको बजारबाट फाइदा लिने लगानीकर्ता तथा तरलताको जोहो गर्न बिक्री गर्ने लगानीकर्ताको अधिकारलाई अंकुश लगाउनु हो । जुन कि स्वस्थ शेयर बजारका लागि घातक सिद्ध हुन सक्छ ।

जब ब्यक्तिको आफ्नो सम्पतीमाथिको पहुँच अवरुद्ध हुन्छ, तब तिनमा त्रासको भय सिर्जना हुन्छ । बजार बन्द गर्नु भनेको “run on the bank” मानसिकताको शुरुवात हुनु हो । जसरी कुनै बैङ्क डुब्न लाग्यो भन्ने डरले ठूलो संख्याका निक्षेपकर्ता आफ्नो निक्षेप झिक्नका लागि बैङ्कतिर कुदछन्, तब बैंक सबैलाई निक्षेप फिर्ता गर्न सक्दैन र त्यसले ठूलै त्रासको वातावरण सिजना गर्दछ । ठीक त्यसैगरी शेयर बजारलाई लामो समयसम्म बन्धक बनाई खुला गर्दा लगानीकर्तामा “run on the bank” मानसिकताको शुरुवात हुन गई बजार ठूलो अंकले घटने संभावना रहन्छ ।

शेयर बजार अन्य क्षेत्रसँग पनि सम्बन्धित हुने भएकाले बजार बन्द गर्दा यसले अन्य क्षेत्रको विकासमा पनि असर गर्ने हुन्छ । १५/१६ खर्बको शेयर बजार बन्द हुँदा बैंकमा थुप्रिएको निक्षेप परिचालित नहुनुका साथै बैङ्कले प्राप्त गर्नु पर्ने साँवा ब्याज पनि समयमै प्राप्त गर्न नसकी बैङ्कको नाफामा प्रतिकूल असर पर्न जानुको साथै तरलता अभावले आर्थिक गतिविधिमा संकुचन आई समग्र अर्थब्यवस्थामा समेत प्रभाव पर्न जान्छ ।

लगानीकर्ताले अब के गर्ने त ?

सर्वप्रथम त बजार खुलेपछि बजारमा सिर्जना हुने कृत्रिम तथा क्षणिक बियर ट्र्याप तथा बुल ट्र्यापबाट आफूलाई जोगाउने ।

मानसिक तनावको अहिलेको क्षणमा तुरन्तै केही गर्नबाट आफूलाई हर संभव रोक्ने, आफ्नो डरमाथि नियन्त्रण कायम राख्ने र त्यतिबेलासम्म केही नगर्ने, जबसम्म तपाई मानसिकरुपले तयार हुनु हुन्न ।

शेयर बजार विगतको प्रतिविम्ब मात्र होइन कि कम्पनीले भविष्यमा हासिल गर्ने सफलताको ऐना पनि हो । बजारले तत्काल कुनै अशुभ भविष्यको संकेत गर्‍यो भन्दैमा यो सत्यलाई लुकाउनु भनेको आफूलाई लागेको उच्च ज्वरो अरुले थाहा पाउँछन भनेर थर्मामिटर लुकाउनुजस्तै हो । यसले केही समयका लागि स्वस्थ छु भन्ने अनुभूति त गराउँछ, तर, यथार्थमा अवस्था झन झन खराब हुँदै गइरहेको हुन्छ । त्यसैले आफ्नो नगद तथा होल्डिङ्ग क्षमता अनुसार ब्यवहार गर्नु उत्तम हुनेछ ।

बजार बन्द गराउनु पछाडिको सम्भावित राजनीति

लकडाउन शुरु हुनुअघि बजार १६०० को विन्दुसम्म पुग्दा ठूला तथा खेलाडी लगानीकर्ताले आफ्ना शेयर बिक्री गरी बाहिरिइसकेका छन् । त्यस्ता लगानीकर्ताहरु बजारलाई निकै तल पुर्याई सोझासाझा लगानीकर्ताहरुको शेयर उठाउने प्रयास गर्नु स्वभाविकै हो ।

केही समय पहिले २ दिन खुलेको बजारमा करिब ५० अंकको गिरावट आई सूचक १२०० मा रहेको छ । कोरोनाको महामारीले थलिएको अर्थब्यवस्थाले शेयर बजारमा नकारात्मक असर पुर्याउनु स्वभाविकै हो । १२०० को विन्दुमा खरिद गरिएको शेयरलाई १४०० को विन्दु सम्म पुर्याउन त्यति सहज हुने छैन ।

त्यसैले बजारमा प्यानिक अवस्थाको सिर्जना गराएर १५०/२०० विन्दु झारेर शेयर उठाउन सकिएमा पुनः केही सकारात्मक समाचारहरु प्रवाहित गरी बजारलाई १२००/१३०० को विन्दुमा पुर्याएर विक्री गरी छोटो समयमै प्रतिफल लिन सकिने भएकोले यस्ता लगानीकर्ताहरु बजार झार्न हर संभव प्रयास गरिरहेकै हुन्छन् ।

केही समयअघि खुलेको बजारले निरन्तरता पाएको भए बजार तिनले सोचेजस्तै धेरै तल पुर्याउन सफल हुन नसक्ने भएकाले पुँजी बजारसँग सम्बन्धित लगानीकर्ता संघहरुलाई अगाडि सारेर बजारलाई बन्द गराइयो ।

ती संघहरुले पनि आम (?) लगानीकर्ताको हितलाई संरक्षण गर्ने भन्ने बाहनामा विभिन्न मागहरु प्रस्तुत गरेर बजारलाई बन्द गर्न सफल भए । जबकि वास्तवमा यसरी बजार बन्द गर्दा विभिन्न लगानीकर्ताहरुको शेयर बिक्री गर्नुपर्ने संख्या थुप्रिँदै गएको छ, बाँधले बर्षाको पानी थुनिएजस्तै । त्यसैले बजार खोल्न जति ढिलो गर्‍यो, त्यति नै त्यो प्रत्युद्पादक हुनेछ । किनकि, त्यस्तो अवस्थामा ढिलो गरी बजार खुलेमा बिक्री प्रेसर अत्यधिक (बाँध फुटेर पानीको ठूलो भेल एकैचोटि प्रवाहित भएजस्तै) भई सूचकमा ठूलै गिरावट आउन जान्छ । परिणाम सोझा साझा लगानीकर्ताको शेयर ठूला तथा खेलाडी लगानीकर्ताको हातमा जान्छ ।

निचोडमा, बजार खुलेपछि अरुको भनाइ तथा भिडको पछि लाग्नुको सट्टा आफ्नो स्वविवेकको प्रयोग गर्नु राम्रो हुन्छ । हुलमुलमा जिउ जोगाउनु, अनिकालमा बिउ जोगाउनु भनेजस्तै अहिले धैर्यपूर्वक आफ्नो सम्पतीको उचित ब्यवस्थापन गर्दै खरिद बिक्रीको निर्णय लिनुपर्छ ।

(नोटः माथिको विश्लेषण उपलब्ध तथ्याङ्क तथा चलेका सुत्रका आधारमा गरिएको हो । यसैका आधारमा शेयर खरिद बिक्री गर्नुभन्दा पहिले आफैंले पनि विश्लेषण गरी निर्णय लिनु राम्रो मानिन्छ ।)

–लेखक भट्टराई अर्थ मन्त्रालयका अवकासप्राप्त उपसचिव हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment