Comments Add Comment
कोरोना नियन्त्रणमा सरकारी नीतिको समीक्षा–५ :

‘नेपालमा संक्रमण सामुदायिक चरणमा प्रवेश गरिसकेको छैन’

‘पीसीआर नगरी घर नपठाऔं, चाँडो पीसीआर गर्दा क्वारेन्टिनको चाप घट्छ’

 अनलाइनखबरले केही दिनयता कोरोना नियन्त्रणमा सरकारले चालेका प्रयासहरुको समीक्षा विभिन्न विज्ञहरुमार्फत गर्दै आएको छ । हामीले अहिलेसम्म विज्ञ डाक्टरहरु शरद वन्त, डा. समीरमणि दीक्षित, डा. सेनेन्द्र उप्रेती लगायतलाई प्रस्तुत गरिसकेका छौं । र, यहाँ बरिष्ठ जनस्वास्थ्यविद डा. महेश मास्केलाई प्रस्तुत गरेका छौं ।

डा. महेश मास्के भन्नासाथ धेरै मानिसले कूटनीतिज्ञ अर्थात, चीनका लागि पूर्वनेपाली राजदूतलाई सम्झने गर्छन् । तर, पूर्वराजदूत अर्थात कूटनीतिज्ञ बाहेक डा. मास्केको अर्को ‘प्रोफेसनल’ व्यक्तित्व पनि छ– बरिष्ठ जनस्वास्थ्यविदका रुपमा ।

डा. मास्केले अमेरिकाको बोस्टर्न युनिभर्सिटीबाट सन् २००१ मा इपिडिमियोलोली विषयमा डाक्टर अफ साइन्स (महाविद्यावारिधि) गरेका छन् । यो विषयमा डाक्टर अफ साइन्स गर्ने उनी पहिलो नेपाली हुन् ।

नेपाल जनस्वास्थ्य प्रतिष्ठानका संस्थापक अध्यक्ष एवं नेपाल हेल्थ रिसर्च काउन्सिलका पूर्वअध्यक्ष समेत रहेका डा. मास्केले सरुवा रोग तथा पब्लिक हेल्थका सम्बन्धमा प्राध्यापन गर्नुका साथै विभिन्न अन्तरराष्ट्रिय जर्नलहरुमा चर्चित रिसर्च आर्टिकलसमेत लेख्दै आएका छन् । उनी अहिले नेपाल जनस्वास्थ्य प्रतिष्ठानमार्फत जनस्वास्थ्य सम्बन्धी अध्ययन अनुसन्धानमा सक्रिय छन् ।

हाल विश्वमा देखापरेको कोरोना महामारी र त्यसले नेपालमा पारिरहेको प्रभावबारे गहिरो अनुसन्धान गरिरहेका डा. मास्केसँग अनलाइनखबरले लाजिम्पाटस्थित जनस्वास्थ्य प्रतिष्ठानमै पुगेर लामो कुराकानी गरेको छ ।

कोरोना भाइरस के हो र नेपालमा यसको फैलावटको विशेषता कस्तो देखिएको छ भन्ने विषयमा हामीले डा. मास्केसँग जान्ने प्रयास गरेका छौं ।

त्यसैगरी सरकारले घोषणा गरेको लकडाउन, हाल भइरहेको टेस्टिङ अनि लकडाउन खुकुलो भएको अबको परिस्थितिमा हुन सक्ने जोखिमबारे  पनि हामीले आम पाठकलाई बुझ्न सजिलो होस् भनेर विज्ञ डाक्टर मास्केसँग अलि लामै कुराकानी गरेका छौं । विषयवस्तुको गहिराइका कारण प्रश्नहरु कम र जवाफ अलि लामा हुन गएका छन् । जसले मास्केसँगको यो अन्तरवार्ता निकै नै लामो हुन पुगेको छ ।

कोरोना भाइरस र नेपालमा यसको फैलावटबारे डा. मास्केको विचार अरु विज्ञहरुको भन्दा केही फरक पाइयो । उनले नेपालमा कोरोनाको फैलावट जंगलको डढेलोजसरी जस्तो सम्भावना अलि कम देखेका रहेछन् । साथै नेपालमा समुदायस्तरमा कोरोना फैलने जोखिम पनि कम देखिएको डा. मास्केको निश्कर्ष रहेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दशैंपछि कोरोना बढी फैलिने र आगामी फागुनमा समाप्त हुने विश्लेषण गरिरहेकै बेला इपिडिमियोलोजीमै महाविद्यावारिधि गरेका विज्ञ के भन्छन् त ?

प्रस्तुत छ, डा. मास्केसँग अनलाइनखबरको टिमले गरेको कुराकानी-

एकजना जनस्वास्थ्य विज्ञको आँखाबाट हेर्दा कोभिड १९ (कोरोना) महामारीले विश्व समुदायलाई कस्तो सन्देश दिइरहेको छ जस्तो लाग्छ ?

कोभिड १९ महामारीको कुराकानी गर्नुअघि हामी एकपटक हरेक विपदको पृष्ठभूमिको कुरा गरौं। हरेक विपदसँग तीनवटा कुरा जोडिएर आएका हुन्छन्। पहिलो प्रकृति, दोस्रो विज्ञान  र तेस्रो व्यवस्थापन। कोरोना महामारीको पृष्ठभूमि पनि यस्तै हो ।

यो महामारीले धेरै क्षतिसँगसँगै ठूलो शिक्षासमेत दिइरहेको छ। यसले हाम्रो परम्परागत र  विशेषत: नवउदारवादी  विकासका मोडलहरूले स्वास्थ्य क्षेत्रमा काम गर्न नसक्ने रहेछन् भनेर देखाएको छ। अब हामीलाई बिल्कुल नयाँ  ढंगले सोच्न बाध्य पारेको छ । सारा संसारलाई एउटा भाइरसले खुम्च्याइदिएको छ । यो भाइरसले हामी सबैलाई प्रकृतिसँग सह-अस्तिवपूर्ण र आदरपूर्ण व्यवहार गर्नुपर्ने रहेछ भनेर सिकाएको छ। साथै हाम्रो अस्तित्वका लागि चाहिने आधारभूत अवश्यकताहरुमा प्रत्येक देश आत्मनिर्भर  हुनुपर्ने रहेछ भन्ने बोध गराएको छ ।

मानिसहरूमा  जोखिम उठाउने र  लापरवाही  गर्ने एक किसिमको स्वभाव छ । चुरोट खानुहुन्न भन्छौं, तर खान्छौं। साबुनपानीले हात धुनुपर्छ भन्ने थाहा छ । तर, धुन्नौं। परीहाले चिन्ता गर्ने, तर समयमै ध्यान नदिने हाम्रो बानी छ। त्यसैले  ‘हाइजिन’ (स्वच्छता)  कोभिडमा मात्र होइन, अरू संक्रामक रोगको सन्दर्भमा पनि  किन महत्वपूर्ण छ  भन्ने अहिले कोभिड १९ ले हामीलाई  सिकाएको पाठ हो ।

सुरू–सुरूमा अन्य ठाउँहरुमा झैँ नेपालीहरू पनि कोरोना भाइरसदेखि धेरै नै डराएका थिए। त्यसका लागि विज्ञानको कठिनाइ वा गलत प्रयोग  पनि निकै  हदसम्म जिम्मेवार छ । यो भाइरस नितान्त नयाँ अनुभव भएकाले हरेक महिनाजसो यसबारे नयाँ-नयाँ कुरा आइरहेका छन् ।

धेरै अन्धकार छ, थोरै उज्यालो फेला परेको छ । त्यसका आधारमा यससँग लड्नुपर्ने बाध्यता छ । तर, थोरै जानकारीका आधारमा ठूला ठूला भविष्यवाणी गर्ने लहर  नाम चलेका  विज्ञहरुमा पनि देखापर्यो ।  त्यसले विशेषतः सञ्चार माध्यममा सन्सनी फैलने काम भयो र त्यसमार्फत जनमानसमा ।

अर्कोतिर यसको खतराको चरम उपेक्षा  गरेर कतिपय राजनीतिज्ञहरु विशेषज्ञभन्दा बढ्ता जान्ने भएर पनि देखा परे र त्यसको असर महामारी  नियन्त्रणको  हेलचेक्रयाइँमा देखा पर्यो । अमेरिकी राष्ट्रपति डोनाल्ड  ट्रम्प   यसका  ज्वलन्त  उदाहरण  हुन् । त्यतिबेला कतिपय विज्ञहरुबाट अत्याउने किसिमका अभिव्यक्तिहरु आएको म सम्झन्छु, नेपालमा मात्रै होइन, विश्वमै । आवश्यकता सावधानी, सतर्कता र तैयारीको थियो ।

नेपालमा कोरोनाको महाव्याधिबारे जसरी बढाई–चढाई  भविष्यवाणी भैरहेको थियो, त्यसप्रति म सहमत थिइनँ ।  नेपालका तथ्यहरुले त्यस्तो चित्रण गरेको छैन  र विश्व स्वास्थ्य संगठन का प्रतिवेदनले अहिले पनि त्यसो भनेको छैन । हामीलाई नेपालमा धेरै संक्रमित भैसके भन्ने लागे पनि डब्ल्युएचओले  नेपाललाई स्पोरडिक संक्रमितहरुको  शुरुकै चरणमा राखेको  छ । त्यसपछिको चरण हो  संक्रमितहरुको झुण्ड (क्लस्टर अफ केसेस  )  र, त्यसपछि आउने हो सामुदायिक संक्रमण ।

भारतलाई पनि यसले  संक्रमितहरुको झुण्डकै चरणमा राख्नु विचारणीय छ । जबकि बंगलादेशलाई सामुदायिक संक्रमणको चरणमा प्रवेश गरिसकेको घोषणा गरेको छ । नेपाल  समग्रमा स्पोरेडिक भए पनि केही प्रदेशहरु बने संक्रमितहरुको झुण्डको चरण(क्लस्टर अफ केसेस  ) मा प्रवेश गरेको मानिएको छ ।

भारतको केरला र नेपालकाे तुलनात्मक ग्राफ

जहाँसम्म व्यवस्थापनको कुरा छ सीमित  ज्ञानका आधारमा गरिने   व्यवस्थापन  चुनौतीपूर्ण  हुन्छ   नै । त्यसमाथि हाम्रोजस्तो सीमित श्रोत साधन भएको देशका लागि । तथापि यो पक्षमा धेरै कमी कमजोरी रहेको देखिन्छ, जसलाई समयमै सच्च्याउन  सकिन्थ्यो । त्यसमा भ्रस्टाचार पनि मुछिनु दुर्भाग्यपूर्ण हो । अहिले पनि ती कमजोरीहरुबाट  शिक्षा लिएर अघि बढ्नु हाम्रा लागि उचित हुनेछ ।

लकडाउनकै औचित्यलाई कसरी हेर्नुभएको छ ? अब  लकडाउन खुल्ने अवस्थामा  ‘यो कोरोना केही हैन रहेछ‘ भन्न थालेको पनि  सुनिन्छ । हामी नेपालीले कोरोनाबाट सतर्क र सावधान  हुनुनपर्ने नै हो त 

अहिले आएर हामीकहाँ दुई किसिमका सोचहरु  देखिएका छन्। पहिलो, यो कोरोना केही होइन, यसको संक्रमणले केही हुन्न भन्नेहरू छन् । उनीहरू लकडाउन पनि विनाअर्थ गरिएछ भन्छन् । अनि, अर्कोखाले सोंच चै कोरोनाले सखाप पार्छ भन्दै आतंकित भैरहने लकडाउन नै खोल्न हुँदैन भन्ने । दुई किसिमको सोचाइको  अतिले नै हो  समस्या निम्त्याउने ! वास्तविक चुनौती  फेरि पनि संक्रमितहरुको पहिचान र उनीहरुको उचित व्यवस्थापनमै छ । हाम्रो समग्र शक्ति त्यतै केन्द्रित हुनुपर्छ ।

नेपालमा कोरोनाको ग्राफ चढ्न थालेको लकडाउनको केहीअघि र लकडाउनकै बेलामा भारतबाट नेपाल प्रवेश गरेका नेपालीहरुमा  संक्रमण फेला पर्न थालेपछि र क्वारेन्टिनभित्रै संक्रमण बढ्न थालेपछि हो । समुदायमा भुसको आगो सल्केसरि भएर नेपालमा कोभिड  केसहरु बढेका होइनन् । त्यसो हुँदो हो त ६/७ हजार मात्रै होइन, यो पाँच महिनाको अवधिमा लाखौंको संख्यामा  मानिसहरु संक्रमित  भैसक्ने  थिए ।

समुदायको सम्पर्कमा आउन  नदिन नेपालले भरमग्दुर प्रयत्न गरेको हो, केही दिनअघिसम्म । समुदायमा संक्रमण  फैलन नदिनका लागि नेपालीहरुले अनेक कष्ट सहेर बिताएको लकडाउनको अत्यन्त ठूलो  महत्व छ । त्यसोहुँदा पनि केही छिटफुट  सामुदायिक संक्रमण भएको छ कि भन्ने शंका गरिनुपर्ने केसहरु पनि फेला नपरेको होइन ।

हाम्रोजस्तो खुला  सिमाना भएको र ठूलो  संख्यामा बाहिर काम गर्न गएका देशवासीहरु फर्कने विशिष्ट परिस्थिति भएको देशमा कोरोना महामारी नियन्त्रण गर्ने चुनौती पनि ठूलै थियो र छ  ।

तथ्यांकहरुले भन्छन् ५ लाखजति लकडाउन शुरु हुनुअघि र २ लाखभन्दा बढी लकडाउनको अवधिमा नेपालीहरु नेपाल भित्रिएका छन् । एकको दुई, दुईको चार हुँदै सल्कने परिकल्पना गरिएको  महामारीमा यतिका महिनापछि पनि सामुदायिक संक्रमणका शंकास्पद रोगीहरु अत्यन्त कम देखिनु नेपालको एउटा उपलब्धि मान्नुपर्छ ।

कोरोना महामारीमा  नेपालका  चारवटा सकारात्मक पक्षप्रति हाम्रो ध्यान जानु आवश्यक छ ।

१. नेपालमा लक्षणबिनाक़ा संक्रमितहरु ९८ प्रतिशत छन् । जुन विश्वक़ा अन्य ठाउँमा देखा परेका भन्दा (१५ प्रतिशतदेखि ५० प्रतिशत) धेरै नै बढी हो । यसले रोग अन्यलाई सर्ने सम्भावना वा रोग गम्भीर हुने सम्भावनालाई कम गर्दछ ।

२. नेपालको मृत्युदर अहिलेसम्म अत्यन्तै कम (०.२९ प्रतिशत) छ । यो भारतभन्दा १० गुना कम,  विश्वको औसतभन्दा १८  गुना कम र  युरोपको औसत भन्दा ४० गुना कम हो ।

३. आइसीयु र भेन्टिलेटर आवश्यक पर्ने केस नेपालमा नगन्य छन् । विश्वको औषत हेर्ने हो भने अहिलेसम्म नेपालमा ३२५ भन्दा बढीलाई त्यस्तो उपचार चाहिनुपर्ने हो । तर, १० जना पनि त्यस्तो संख्या देखापरेको छैन ।

४.  नेपालमा ९५  प्रतिशतभन्दा बढी संक्रमितहरु ५ देखि ५४  बर्षका  छन् । यो उमेर समूहमा अन्य देशमा पनि जोखिम अत्यन्तै कम छ । यो चौथो कारणले अघिल्ला सबैलाई प्रभावित गरेको हुन सक्छ । यो उमेर समुहमा कोरोना रोग प्रतिरोधमक क्षमता बढी हुने सम्भावना  बढी देखिन्छ । त्यसो त यसभन्दा माथिका उमेर समूहमा पनि नेपालमा मृत्युदर कम देखिन्छ ।

यी हाम्रा लागि अनुसन्धानका  विषय हुन् ।

अर्कोतर्फ लकडाउन यो अवस्थामा खुलिरहेको छ, जतिबेला हामीले पहिले गरिरहेको व्यवस्थापन अहिले खस्केको अवस्थामा छ । चाहे त्यो हाम्रो पीसीआर टेस्ट गर्ने क्षमतामा होस्, स्थानीय सरकारले गर्ने क्वारेण्टिनको व्यवस्थापनमा होस् वा घर परिवारले गर्नुपर्ने होम क्वारेण्टिनको सन्दर्भमा होस् । यतिबेला हामीलाई  सतर्कता र सावधानी अझ बढी चाहिएको छ ।

त्यसैले  अहिलेसम्म पनि धेरै केस देखा परेनन् वा धेरैको मृत्यु भएन भन्दै आफ्नो र अरुको सुरक्षाप्रति ध्यान नदिने हो भने यो महामारीले विकराल रुप लिन  सक्छ । किनकि अब व्यवस्थापनको कमजोरी र लकडाउन हटेको स्थितिले गर्दा संक्रमितहरु समुदायमा घुलमिल हुने सम्भावना बढेको छ ।

कोरोना भाइरसको फैलावट कतिको तीब्र र घातक हुन्छ ? हामीकहाँ यो भाइरसको विशेषता कस्तो देखिएको छ विज्ञहरूको अनुसन्धानले के देखाउँछ ?

चीनको वुहानको  तथ्यांकले एउटा मानिसले दुई जनाभन्दा बढीलाई सार्न सक्ने देखाएको थियो। अनि शरीरभित्र भाइरस हुर्कने र सार्ने  समय  कटेपछि  दुईजनाले अर्को चार  जनालाई सार्न सक्ने देखाएको थियो। अर्थात् यो नयाँ भाइरस भएकाले कसैमा पनि रोग प्रतिरोधत्मक  क्षमता हुँदैन र   सप्पैले सप्पैलाई सार्छ भन्ने आकलनका अधारमा  यो महामारीले गुणात्मक छलाङ्गहरु लिँदै तीब्र रुपले बढ्दै जाने प्रक्षेपण गरियो ।

जस्तो कि- सबै  सुकेका रुखैरुख भएको एउटा जंगलको कल्पना गर्नुस्। अनि त्यहाँ भएको एउटा रुखमा आगो लाग्यो भने  त्यो रुखले आफू बलुञ्जेल कतिवटा रुख सल्काउँछ र त्यसरी नै सल्किएका अन्य रुखहरुले आफू बल्ने अवधिमा अन्य कतिवटालाई सल्काउँछन् भन्ने हो । त्यसरी निर्बाध सल्किरहेमा कति अवधिभित्र ७० /८० प्रतिशत रुखहरुमा डढेलो  लाग्छ भन्ने अनुमान गर्ने हो ।

मानव वस्तीमा त्यति प्रतिशत संक्रमण भएपछि  भ्याक्सिनले जस्तै जीवित भाइरसले  मानव शरीरमा विकसित गर्ने  इम्मुनिटीले गर्दा संक्रमित नभएको ब्यक्तिमा पनि  सर्ने सम्भावन कम हुँदै जाने हुन्छ । यसलाई समुह (हर्ड) इम्म्युनिटी भनिन्छ । तथापि संक्रमणले उत्पन्न गर्ने इम्युनिटी कतिको दिगो हुन्छ भन्नेबारे प्रष्ट भैसकेको छैन ।

सम्पूर्ण विश्वमै यो भाइरस त्यसरी फैलिनेछ र ७०/८० प्रतिशत संक्रमित भैसकेपछि मात्रै यसको बेग रोकिने छ । त्यस अवधिमा यति मानिसको मृत्यु हुनेछ भन्ने आकलनको आधार  यही हो र कोरोना सनसनी खेज समाचारको प्रमुख कारण पनि ।

तर, यी अनुमानहरु गलत साबित भैरहेका छन् । संसारका  भिन्न देशहरु मा फरक गतिले संक्रमण मृत्युदर पनि अघि बढेको छ । एउटै  देशभित्र पनि फरक-फरक ठाउँमा संक्रमण र मृत्युदर फरक किसिमले देखा परेका छन् । चीनको वुहानमा मृत्युदर ५ प्रतिशत थियो भने वुहान बाहिर ०.९८ प्रतिशत थियो ।

प्रक्षेपित अनुमानहरु  हास्यास्पद जस्तो देखिने  रुपमा गलत साबित हुनु विज्ञानलाई यान्त्रिक रुपमा बुझ्ने र प्रयोग गर्ने कमजोरीको परिणाम हो । संक्रमण हुन र फैलिन रोगका  जीवाणु, मानिसको प्रतिरोधात्मक क्षमता  र वातावरण, तीनवटैको त्रिकोणात्मक योग चाहिन्छ ।

अघि मैले कम उमेरका मानिसहरु कम जोखिममा परेको उल्लेख गरें । संसारभरि नै यही देखिएको छ । यो भाइरुसविरुद्धको एण्टीबडी त उनीहरुमा छैन । त्यसो भए किन उनीहरु कम जोखिममा छन् ? यसको उत्तर खोज्नुपर्ने जिम्मेवारी वैज्ञानिकहरुमाथि छ । कोरोना सम्बन्धी असम्वेदनशील प्रक्षेपणको गणितीय खेल खेल्नुभन्दा बढी उनीहरुले यसप्रति ध्यान दिनेछन् भन्ने आशा गरौं ।

फैलावटको सन्दर्भमा विज्ञानले संक्रमणको गतिलाई मुख्यतः तीन प्रकारले  चित्रण गर्दछ. एउटा मान्छेले एउटाभन्दा बढीलाई सार्ने गति रहेछ भने  त्यसले महामारीको रुप लिन्छ । एउटाले दुई वा तीन वा चारलाई सार्ने भयो भने महामारी  त्यति नै  चाँडो फैलिन्छ । अर्थात् एक जनाले चारजनालाई सार्नु भनेको त्यो  चारले १६ जनालाई सार्नु हो । अमेरिकामा यसरी नै एक महिनाभित्रै ३०० बाट  ३ लाख  संक्रमित पुग्ने स्थिति बनेको हो ।

एउटाले एउटाभन्दा पनि कमलाई सार्ने अवस्था भयो  भने संक्रमण आफैं विस्तारै लुप्त हुँदै जान्छ । जस्तो कि– चारजना संक्रमितले दुई जनालाई मात्रै सार्न सक्ने गतिले ती  दुईले एक जनालाई मात्र सार्ने स्थिति उत्पन्न हुछ । त्यसरी संक्रमण आफैं नियन्त्रित हुने अवस्थामा पुग्छ ।

तेस्रो अवस्था भनेको एकले एक जनालाई मात्र सार्न सक्ने हो, जसले रोगको उपस्थिति समुदायमा भई नै रहन्छ । तर, महामारीका रुपमा होइन । जस्तो- स्वाइन्फ़्लु वा डेंगी ज्वरो नेपालमा कुनैबेला नयाँ थिए । तर, पछि ‘इण्डेमिक’ भए । कोरोनाको हकमा पनि यसको महामारीको अन्त्यपछि समुदायमा यो छिटफुटरुपमा  भई नै रहने सम्भावना बढी देखिन्छ ।

हामीले विगतमा अपनाएको लकडाउन लगायतका  सम्पूर्ण सावधानीहरु कोरोना संक्रमणको बेगलाई कम गर्न हो र अहिलेसम्म त्यसमा हामीले सफलता पाएका छौं । हाम्रा सावधानीपूर्ण कदमहरुले विस्तारै हामीमा इम्युनिटी बढ्ने स्थिति बन्दै जान्छ र कोरोनाको आक्रमकता र कोरोना सम्बन्धी हाम्रो डर पनि कम हुँदै जान्छ ।  योसँग बाँच्न र बच्न भने हामीले सिक्नैपर्छ ।

पीसीआर र आरडीटी परीक्षणप्रति सरकारको पछिल्लो निर्णयले जनता आन्दोलित बन्ने स्थिति बनेको छ । यसबारे तपाईको धारणा के हो ?

शुरुको अवस्थामा लक्षण देखिएका बिरामीहरुलाई मात्रै पीसीआर गर्ने प्रोटोकोल थियो । पछि लक्षणविनाका संक्रमितहरु फेला पर्न थालेपछि सम्पर्कमा आएका व्यक्तिहरु सबैलाई पीसीआर गर्ने नीति सरकारले लिएको थियो । यो नीति सही थियो । तर, पछि विदेशबाट विशेषत: भारतबाट अत्यधिक संख्यामा केसहरु आउने स्थिति भयो । क्वारेन्टिनमै बसेकाहरुमा पनि धेरै संक्रमित फेला पर्ने स्थिति हुन् थालेपछि  पीसीआर गर्ने सरकारको क्षमतामा ह्रास आउन थालेको हो । निजी  क्षेत्र र विश्वविद्यालयहरुसँग भएको पीसीआर क्षमताको सदुपयोग पनि सरकारले समयमै गर्न सकेन ।

भारतबाट धेरै संख्यामा नेपालीहरु भित्रिने अनुमान सरकारलाई हुँदाहुँदै पनि पीसीआरको क्षमता बढाउनुभन्दा त्यसरी भित्रिनेहरुमध्ये लक्षण देखिएकाहरुमा मात्रै पीसीआर परीक्षण गर्ने अन्यलाई होम क्वारेन्टिनका लागि  घर पठाउन सकिने  नीति बाहिर ल्याएपछि त्यसको तिब्र विरोध भएको हो ।

हामीले पनि नेपाल जनस्वास्थ्य प्रतिष्ठानका तर्फबाट स्वास्थ्यमन्त्रीलाई बुझाएको  अवधारणापत्रमा पीसीआर अनिवार्यरुपमा गरेर मात्र निगेटिभ  आएमा होम क्वारेन्टिनमा पठाउन र पोजिटिभ  आएमा आइसोलेसन वार्डमा पठाउन सुझाव दिएका हौं । त्यसो गर्दा संस्थागत क्वारेन्टिनको भार अत्यन्तै कम हुन जान्छ र अहिले क्वारेन्टिन सञ्चालनमा देखापरेका समस्याहरु पनि धेरै समाधान हुने थिए । क्वारेन्टिन व्यवस्थापनमा लाग्ने खर्च पीसीआर टेस्टमा लगानी गरौं भन्ने हाम्रो सुझाव हो ।

अर्कोतिर नेपालमा २\३ प्रतिशत जति मात्रै संक्रमितहरूमा लक्षण देखिएकाले उनीहरुलाई मात्रै कोरोनाको विशेष अस्पतालका आइसोलेसन वार्डमा राखौं । लक्षण नभएका संक्रमितहरुलाई अन्य अस्पतालहरु  नजिकै कुनै त्यस्तो स्थानमा अस्थायी वार्ड बनाउन सकिन्छ, जो चिकित्सक र स्वास्थ्यकर्मी को हेरचाहमा हुन्छ । तर, त्यहाँ धेरै विशेषज्ञ सेवा  चाहिँदैन । लक्षणविहीन संक्रमितहरुमा लक्षण देखा पर्न थालेपछि उनीहरुलाई अस्पतालको आइसोलेसन वार्डमा राख्ने हो । यसरी केही हप्तापछि उनीहरु निको हुँदै घर फर्कनेछन् । यसरी ‘स्टेप बाइ स्टेप’ संक्रमित भएका र नभएकाहरुको व्यवस्थापन गर्न सकिन्छ ।

अहिले तुरुन्तै सबैलाई टेस्ट गर्न सकिँदैन भने उनीहरुलाई संस्थागत क्वारेन्टिनमै राखौं, घर नपठाउँ भन्ने हाम्रो आग्रह थियो । त्यसमा  स्वास्थ्यमन्त्रीले सहमति जनाउन भएको हो र पीसीआर परीक्षणको क्षमता अत्यधिकरुपमा बढाउन  सम्पूर्ण कोशिस गर्ने वचनवद्धता पनि उहाँले जनाउनुभएको हो । केही हप्ताभित्रै यी सबै व्यवस्थापन हुने विश्वास हामीले पाएका हौं ।

जहाँसम्म  आरडीटीको कुरा हो, राम्रोसँग काम गरिदिएको भए त प्रभावकारी नै हुन्थ्यो ।   आरडीटीले संक्रमणबाट उत्पन्न एण्टीबडीबाट  संक्रमणको स्थिति पत्ता लगाउँछ ।  १४ दिन क्वारेन्टिनमा बसेपछि आरडीटी टेस्ट  गरी घर पठाउने भन्ने नीति बनाइयो ।   तर, यहाँ ल्याइएको आरडीटीको क्वालिटीमै शंका भयो । त्यसको र पीसीआरको परिणाम बाझियो  र आरडीटीले झन ‘कन्फ्युज्ड’ गरायो।

त्यसैले नेपालमा प्रयोग गरिने आरडीटीको प्रभावकारिताबारे उचित परीक्षण नगरिकन यसको प्रयोगलाई न्यायोचित ठहर्याउन सकिँदैन ।  हामीले सरकारलाई आरडीटी होइन, पीसीआर नै गर्नु भनेर सुझाव दिएका छौं, क़्वारेन्टिनबाट बाहिरिने अवस्थाका लागि पनि ।

लक्षणविहीन नै भए पनि पीसीआर टेस्ट चाहिँ अनिवार्य छ ?

नेपालमा पछि  संक्रमित धेरै भएर र पीसीआरको उपलब्धता कम भएर  लक्षण नभएकाहरुलाई  टेस्ट नै गर्न नसक्ने अवस्था नआउला भन्न सकिन्न । त्यतिबेला को कुरा बेग्लै हो । तर, त्यसतर्फ जान नदिने हो  भने अहिले सक्नेबेलामा नेपाल प्रवेश गर्ने सबैलाई पीसीआर गर्नु आवश्यक छ लक्षण नभए पनि ।

जस्तो कि हवाईमार्गबाट आएका प्रायः सबैले पहिले नै पीसीआरको रिपोर्ट ल्याएर भित्र आएका छन् । त्यसरी नल्याउनेहरु क्वारेन्टिनमा बसेका छन् ।   क्वारेन्टिनमा बसेका सबैलाई  पीसीआर नै गर्नुपर्छ। त्यसो गर्दा छिट्टै उनीहरुलाई घर पठाउन सकिन्छ । किनकि, नेपालमा लक्षणविहीन धेरै भएकाले  टेस्ट नगरिकन त हामी लक्षणविहीन संक्रमित हो या होइन भन्ने थाहा नै पाउँदैनौं । त्यसका लागि आर्थिक व्यवस्था गर्न  पछि पर्नहुन्न।

यद्यपि विज्ञानले के पनि भनिरहेको छ भने यदि एउटा व्यक्तिमा संक्रमित भए पनि कहिल्यै पनि लक्षण देखिएन भने त्यसबाट अन्यलाई सर्ने सम्भावना अत्यन्त कम छ । यो सही कुरा हो । तर, समस्या के छ भने कुनै संक्रमित व्यक्तिमा लक्षण देखा पर्नु ३/४ दिनअघिदेखि संक्रमण हुन सक्छ र त्यसपछि त्यो  संक्रमितमा लक्षण देखा पर्न सक्छ । हो, यस्ता लक्षण देखा नपरिसकेका तर भविश्यमा देखा पर्न सक्ने संक्रमितहरुले आफ्नो सम्पर्क व्यक्तिहरुमा सार्न सक्ने भएकाले हामीले पीसीआर टेस्ट नगरी घर पठाउन हुन्न भनेका हौं ।

अहिले लकडाउन खुकुलो भएको छयस्तो अवस्थामा हामीले कोरानाबाट जोगिन के कस्ता कुरामा ध्यान दिनुपर्छ ?

लकडाउनले समुदायमा संक्रमण हुनबाट धेरै हदसम्म बचाएको  थियो, अब यो खुकुलो हुँदा संक्रमण बढ्न सक्छ भनेर हामीले प्रष्टरुपमा भनेका छौं । यसको रोकथाम गर्नका लागि आफूले आफ्नो र परिवारको ख्याल आफैँ राख्नुपर्ने हो । तर,  अचम्म के छ भने रातदिन कोरोना सम्बन्धी समाचारले एकातर्फ  मानिसहरुमा तनाव बढेको खबर सुनिन्छ, अर्कोतर्फ लकडाउन खुल्न थालेपछि सामान्य सावधानी पनि नअपनाउने प्रवित्ति बढेको छ । यसका लागि सरकारलाई दोष दिन सकिँदैन । यस्ता नागरिकहरु आफू, आफ्ना परिवार र अन्यलाई कोभिड  सार्नका लागि जिम्मेवार ठहरिनेछन् भनी म प्रष्ट  भन्न चाहन्छु ।

यतिबेला सावधानीका  कस्ता  उपायहरु अवलम्वन गर्ने भन्ने प्रशस्त सुझावहरु विगत ४  महिना देखि नै हामीले अभ्यास गरिरहेका छौं । लकडाउन खुलेपछि पनि तिनीहरुले अझ सचेतताका साथ निरन्तरता पाउनुपर्छ । सरसफाई, भौतिक दुरी कायम राख्दै बाहिर हिँड्दा र अफिसमा मास्कको प्रयोग अनिवार्यरुपमा गरिनु पर्दछ ।

डा. साहेबका तर्कहरू सुन्दा नेपालमा अझैसम्म कोरोना भाइरस कम्युनिटी (समुदाय) मा सरिसकेको छैन भन्ने हो ?

अहिलेको महामारीको चरणलाई सामुदायिक संक्रमण भन्न मिल्दैन भन्ने मेरो भनाइ हो । सामुदायिक संक्रमणको अवस्थामा पुग्नलाई सम्पर्क र भ्रमणको इतिहास नभएका रोगीहरु ठूलो संख्यामा देखिनुपर्छ । सामुदायिक संक्रमणमा भुसको आगोजस्तो मात्रै सल्कँदैन, आगोको मुस्लोहरु पनि देखिन थाल्छन् ।  त्यसलाई नियन्त्रण गर्न पनि गाह्रो हुन्छ । केही छिटफुटरुपमा त्यस्ता संक्रमितहरु देखा परेका छन् । तर, त्यसलाई नै समुदाय संक्रमणको चरण भन्न मिल्दैन ।

नेपालमा केही विज्ञ  र अन्तररास्ट्रिय संघसंस्थाहरुले पनि पहिलो केस देखा परेपछि सामुदायिक संक्रमणको परिकल्पना गर्दै त्यसको २/३ महिनाभित्र तीसौं  हजार संक्रमित भैसकेको परिकल्पना नगरेका होइनन् । तर, त्यो  आधारहीन परिकल्पनालाई उनीहरुले प्रमाणित गर्न सकेको देखिँदैन ।

नेपालमा सबैभन्दा बढी संक्रमित सबैभन्दा कम उमेरका जोखिम समूहमा छन् । यो हाम्रा लागि अत्यन्तै ठूलो अवसर हो । यसले के भन्छ भने अझै पनि नेपालमा अत्यन्त कम क्षति बेहोरेर कोरोनालाई नियन्त्रण गर्न सकिन्छ ।

हामीले विशेषतः ६५ वर्षभन्दा माथिका उमेर समूह र ५ बर्षमुनिका बालबालिकाहरुको सुरक्षाप्रति बढी ध्यान पुर्याउनुपर्ने हुन्छ । स्वस्थ्य प्रणालीको स्थानीय तह अझ वडास्तरलाई सुदृढ बनाउनुपर्ने हुन्छ । साथै, स्थानीय नेतृत्वलाई प्रदेश र केन्द्रले पूर्ण अधिकार प्रदान गर्दै   आर्थिकरुपले सुदृढ बनाउनुपर्ने हुन्छ । किनकि कोरोनाको लडाई स्थानीय तहमै लड्नुपर्ने स्पष्ट छ ।

यहाँ हामीले कोरोना भाइरसको चरित्र एवं विशेषताबारे विस्तृत कुराकानी गर्यौं । अब कोरोना रोकथामबारे सरकारले गरेका प्रयासहरूका सन्दर्भमा केही नीतिगत समीक्षा गरौं । देशमा लगातार ८० दिनसम्म लकडाउन गर्न जरूरी थियो अथवा केहीहप्ता लकडाउन गरेर खुकुलो बनाएको भए हुन्थ्यो कि ?

मैले शुरुदेखि नै लकडाउनको समर्थन गरे पनि नेपालमा यो कसरी लागु गर्ने भन्ने मेरो फरक विचार थियो जुन त्यतिबेलाका अन्तर्वार्ता र लेखहरुमा मैले व्यक्त गरेको छु ।

दुई महिनापछि एउटा नयाँ केस देखिँदा अचानक जस्तो किसिमले लकडाउन लागु गरियो, त्यो आफैंमा अचम्भित गर्नेखालको थियो । केही विज्ञ र सञ्चार माध्यमले चित्रण गरिरहेको भयावह स्थितिको डर पनि हुन सक्छ ।

पहिले तयारी र सोच बनाएर लकडाउन गरेको भए धेरै मानिसहरू गाउँ जान्थे। घर जानेहरूको दु:ख देख्नुपर्दैन’थ्यो । अलि दिन ढिलो गरेर काठमाडौंमा भएका मानिसहरूलाई गाउँ जान दिएको भए केही बिग्रिँदैन’थ्यो। त्यतिबेला नेपाल अहिलेभन्दा धेरै  सुरक्षित थियो ।

घरभित्र बस्नुभन्दा आउटडोर सुरक्षित छ भन्ने मेरो पहिलेदेखिको सोच  थियो। यो समय आफ्नो छरछिमेक सफा राख्न सबै लाग्न सकिन्थ्यो । खेतीको काम गर्न सकिन्थ्यो। ७० बर्षभन्दा माथिका वृद्धहरु  घरै बस्ने , युवाहरु पनि अत्यन्त्य थोरै संख्यामा भेटघाट गर्न पाउने तर सबै सावधानी अपनाएर र भौतिक दुरी कायम गरेर । अफिसको काम घरमै बसेर गरौं भन्ने थियो ।

त्यसो गरेको भए लकडाउन अलि सहज हुने थियो । हाम्रो आर्थिक स्थिति पनि त्यति  डामाडोल  हुने थिएन र संक्रमण  को सम्भावना पनि बढ्ने थिएन । किनकि, केस पहिचान र सम्पर्क (कन्ट्याक्ट) व्यक्तिहरूको परीक्षणमा सरकारले मेहनत गरिरहेको थियो ।

तर, यहाँ भुसको आगोझैँ भित्रभित्रै सल्किरहेको थ्योरीले त्यस्तो प्रकार को लकडाउन हुन दिइरहेको थियो । र, पूरा जनजीवनलाई ठप्प पर्ने नीति अपनाइयो ।

फेरि, भारतको लकडाउन पनि कडा  थियो । त्यसको प्रभाव नेपालमा परेको थियो । ती  दुःखका उपलब्धि पनि नभएका होइनन् । तर, त्यो कतिको आवश्यक थियो भन्ने बहसको विषय हो ।

लकडाउनको अर्को उद्देश्य महामारीविरुद्ध  स्वस्थ्य प्रणालीको सुदृढीकरण गर्नु थियो ।  अघि भनिएका परीक्षणको क्षमता, पीपीई, क्वारेन्टिन व्यवस्थापन, आइसोलेसन वार्ड, आइसीयु र  भेन्टिलेटरको  प्रवन्ध आदि । त्यसमा पीपीईबारे अहिले गुनासो सुनिएको छैन । तर, अरु तयारी यथेष्ठ पुगेको देखिँदैन । स्वास्थकर्मीहरु अझै पनि आश्वस्त हुन सकेको देखिँदैन ।

तथापि, जो वास्तवमा फिल्डमा कोरोना रोगीहरुको उपचारमा अहोरात्र खटिइरहनुभएको छ, उहाँहरुका अभिव्यक्ति र सन्देशहरु उत्साहवर्द्धक  छन् । स्वास्थ्य क्षेत्र र कोरोना महामारीका लागि छुट्याइएको बजेट यथाशिघ्र यो क्षमता वृद्धिका लागि प्रयोग गरिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment