+
+
Shares

कुवेत, भारत र चितवनबाट आएका थिए गण्डकीका संक्रमित

पोखराका संक्रमित यसअघिका संक्रमितको सम्पर्कमा

विकास रोकामगर विकास रोकामगर
२०७७ असार १० गते ८:४९

१० असार, पोखरा । गण्डकीमा बुधबार बिहान ३२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । प्रदेश क्षेत्रीय क्षयरोग केन्द्र र भरतपुर अस्पतालमा गरिएको परीक्षण अनुसार गण्डकीमा नयाँ संक्रमित पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

बुधबार पुष्टि भएका संक्रमितमध्ये ५ जना कास्कीका छन् । तीमध्ये पोखरा महानगरका ३ जना छन् ।

पोखरा महानगरका कोरोना संक्रमित २ जना महिना यसअघि भेटिएका कोरोना संक्रमितको सम्पर्कमा आएको पाइएको छ । उनीहरु यसअघि संक्रमण पुष्टि भएका ९० वर्षीय वृद्धको सम्पर्कमा आएको पोखरा महानगरका स्वास्थ्य अधिकृत हरिलाल आचार्यले जानकारी दिए ।

ती ९० वर्षीय वृद्ध जेठको अन्तिम साता कोरोनाका मृत्यु भएका ६० वर्षीय पुरुषको सम्पर्कबाट संक्रमित हुन पुगेको स्वास्थ्य निर्देशलायको ठहर छ । यसअघि जेठको अन्तिम साता स्याङजाका ६० वर्षीय एक संक्रमितको कोरोनाका कारण गण्डकी प्रदेशमा पहिलो पटक मृत्यु भएको थियो ।

गण्डकी प्रदेशमा कोरोना कारण मृत्यु भएका उनीसँग अस्पतालमा सँगै उपचार गराएका थिए ।

‘कोरोनाको कारण मृत्यु भएका व्यक्तिको सम्पर्कमा आएकामध्ये श्रीमतिलाई पनि कोरोना देखिएको थियो,’ डा आचार्यले अनलाइनखबरसँग भने, ‘अहिले संक्रमित पनि उनीसँग सम्पर्कमा आएकाबाटै सरेको देखिन्छ ।’

आचार्यले ती महिलाबारे थप खोजी भइरहेको जानकारी दिए । ‘उहाँहरु आफ्नै घरमा हुनुहुन्थ्यो । संक्रमितसँग सम्पर्कमा आएको आधारमा कोरोना परीक्षण गरेका थियौं,’ उनले भने, ‘कोरोना पोजेटिभ देखिएपछि हिजो (मंगलबार) साँझ नै आइसोलेसन पठाइसकेका छौं ।’

अर्का एक जना पुरुष संक्रमित बाराबाट आएका र पोखरामा ग्यारेजमा काम गर्ने व्यक्ति रहेको आचार्यले जानकारी दिए । ‘बाराबाट आएपछि सीधै हामीले क्वारेन्टिनमा राखेका थियौं । त्यही क्वारेन्टिनबाटै कोरोना पुष्टि भयो,’ उनले भने । उनी पोखरा १४ मा बसोबास गर्ने गरेको उनले बताए ।

कुवेतबाट फर्किएका ३ महिलामा कोरोना

मंगलबार साँझ पोखरामा ७ जना कोरोना संक्रमित पुष्टि भएका थिए । त्यसमध्ये ३ जना महिला कुवेतबाट हालैमात्र फर्किएका थिए । ‘काठमाडौंबाट ल्याएर क्वारेन्टिनमा राखेका थियौं । उनीहरुको केशको धेरै ट्राभल हिस्ट्री छैन,’ डा आचार्यले भने ।

मंगलबार नै कोरोना पुष्टि भएका अर्का ३ जना भारतबाट नयाँ दिल्लीबाट फर्किएका हुन् भने अर्का एकजना महिला चितवनबाट आएकी हुन् । परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भइसकेपछि उनीहरुलाई जिल्लाको आइसोलेसनमा लगिसकिएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पोखराका क्वारेन्टिनमा अहिले करिब २ सयभन्दा बढी व्यक्ति बसिरहेका छन् । विभिन्न वडागत रुपमा बनेका क्वारेन्टिनमा बसिरहेका उनीहरु कुनैको परीक्षण हुन बाँकी कोही नतिजाको पर्खाइमा रहेको पोखरा महानगरले जनाएको छ ।

लेखक
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?