Comments Add Comment

विदेशबाट १२ हजार फर्किएपछि बन्यो उद्धारसम्बन्धी निर्देशिका

फाइल तस्वीर

१६ असार, काठमाडौं । सोमबारसम्म भारतबाहेकका विभिन्न मुलुकबाट १२ हजार नेपाली स्वदेश फर्किएका छन् । यतिन्जेलसम्म चार्टर्ड उडानमार्फत नेपालीलाई स्वदेश फर्किन अनुमति दिइरहेको सरकारले बल्ल निःशुल्क उद्धारको गर्ने गरी ‘विदेशमा अलपत्र परेका नेपालीको उद्धार तथा फिर्ता गर्नेसम्बन्धी निर्देशिका’को मस्यौदा तयार गरेको छ ।

अहिलेसम्म कम्पनीले टिकट काटिदिएका र आफैं टिकट काट्न सक्नेहरु मात्रै नेपाल आइरहेका छन् । विदेशमा रकम अभाव भएर स्वदेश फर्किन अति जरुरी रहेकाहरु मलेसिया र खाडीसहितका देशमै अलपत्र छन् ।

गत असार १ गते सर्वोच्च अदालतले वैदेशिक रोजगार कल्याणकारी कोषको प्रयोग गरेर समस्यमा परेका नेपाली श्रमिकलाई उद्धार गर्न सरकारलाई आदेश दिइसकेको छ । त्यसको कार्यान्वयनका लागि सरकारले उद्धारसम्बन्धी छुट्टै निर्देशिका तयार गरेको श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले बताए ।

अब निर्देशिकाले तोकेका मापदण्डभित्र पर्ने कामदारको टिकसहितका अन्य खर्च पनि सरकारले नै ब्यहोर्नेछ । सरकारबाट श्रम स्वीकृति लिएर गएकाहरुलाई मात्रै निर्देशिकाले तोकेका सुविधाहरु प्राप्त हुनेछ ।

बिरामी, सुत्केरी, अशक्त, रोजगारी गुमाएका, कम्पनीबाट टिकट नपाएका, आममाफी पाएका, काजकिरियाका लागि आउनुपर्ने लगायतका सम्वेदनशील अवस्थाका कामदारको सरकारले निःशुल्क उद्धार गर्ने गरी मस्यौदा बनेको हो । जसमा विदेशस्थित नियोगले अलपत्र कामदारको अवस्था अध्ययन गरी आवश्यक देखिएमा स्वदेश फिर्तीको निःशुल्क टिकट दिन सक्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

विदेशस्थित नेपाली नियोगहरुलले कामदारका लागि टिकट किनेको रकमको शोधभर्ना कल्याणकारी कोषबट गरिने भएको छ । यो निर्देशिका मन्त्रिपरिषदमा स्वीकृतिका लागि पठाइएको मन्त्रालयले जनाएको छ ।

निर्देशिकामा विदेश गएको एक वर्ष पनि नपुगेका र कमजोर आम्दानी भएका कामदारलाई निशुल्क टिकट दिन प्रस्ताव गरिएको छ । त्यसअघि कामदारलाई विदेश पठाउने म्यानपावर कम्पनी र सम्बन्धित रोजगार दाता कम्पनीसँग नियोगले टिकटका लागि पहल गर्नेछ ।

विदेश गएको एक वर्ष नाघेको र कम्पनीले पनि टिकट नदिने अवस्था भए सम्बन्धित कामदारले विदेश पुगेर काम गरेको अवधि र आय आर्जनको अवस्था हेरेर टिकटको ५० देखि ७५ सम्म खर्च बेहोर्न सकिने खालको व्यवस्था पनि प्रस्ताव गरिएको छ ।

आफ्नै खर्चमा टिकट काटेर विदेशबाट फर्किसकेकाहरुले पनि यो सुविधा दाबी गर्न सक्नेछन् । त्यसलाई दूतावासहरुले प्रमाणित गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

दूतावासले सहयोग दिनुपर्ने अवस्थाका कामदारको रुपमा सिफारिस गरेमा बोर्डबाट रकम दिने व्यवस्था गरिनेछ ।

कहाँबाट कति नेपाली फर्किए ?

सरकारले गरेको लकडाउनका कारण विदेशमा अलपत्र भएकामध्ये सोमबार साँझसम्म १२ हजार १९२ नेपाली चार्टर्ड उडानमार्फत नेपाल आएका छन् । कुवेतले आफ्नै आममाफी पाएकाहरुलाई आफ्नै खर्चमा नेपाल ल्याएपनि अन्य देशबाट फर्किएका नेपालीहरुले सबै खर्च आफैंले ब्यहोरेका छन् ।

सरकारको तथ्यांकअनुसार सोमबार साँझसम्म सबैभन्दा धेरै कुवेतबाट २१६२ जना नेपाली स्वदेश फर्किएका छन् भने यूएईबाट फर्किनेको संख्या २०१७ छ । साउदी अरेबियाबाट १२१८ जना नेपाली स्वदेश आएका छन् ।

मलेसियाबाट १२१७ जना र कतारबाट ७८९ जना नेपाली फर्किएको अध्यागमन विभागले जनाएको छ । बंगलादेशबाट ८१५, माल्दिभ्सबाट ६०४, अमेरिकाबाट ५२३, जापानबाट ४९३, अष्ट्रेलियाबाट ४८३, बहराइनबाट ४२०, थाइल्याण्डबाट ३२६, ओमानबाट ३१३, बेलायतबाट २२९ र दक्षिणकोरियाबाट २२८ जना नेपाली फर्किसकेका छन् । त्यसैगरी सिंगापुरबाट १४६, हङकङबाट ८९, पाकिस्तानबाट ७२, म्यानमारबाट २६, अफगानिस्तानबाट १८ र श्रीलंकाबाट ५ जना नेपाल आएका छन् ।

त्यसमध्ये करिब ८ हजार व्यक्ति प्रदेशमार्फत स्थानीय तहको क्वारेन्टिनमा गएका छन् भने करिब साढे ७ सय व्यक्तिले होटल क्वारेन्टिन रोजेका छन् ।

करिब १७ सय जना होम क्वारेन्टिनमा जान पाएका छन् भने साढे १६ जना संघ अन्तरगतका केही क्वारेन्टिनमा गएका थिए । २८ जना भने आउँदा आउँदै अस्पताल जानु परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment