Comments Add Comment

निजी विद्यालयलाई निर्देशन : एसईईको अंक पठाउँदा तीन वर्षको परीक्षाफल हेर्नू

१७ असार, काठमाडौं । निजी विद्यालयका प्रतिनिधिमूलक संस्थाले माध्यमिक शिक्षा परीक्षा (एसईई) को मूल्यांकन गर्दा विगत तीन वर्षको एसईईको परीक्षाफल समेत अध्ययन गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एनप्याब्सन) ले बुधबार संयुक्त रुपमा आफ्ना सदस्य विद्यालयहरूलाई यस्तो आग्रह गरेका हुन् ।

प्याब्सनका महासचिव कुमार घिमिरे र एनप्याब्सनका महासचिव सुवास न्यौपानेद्वारा जारी विज्ञप्तिमा नतिजाको सम्बन्धमा अनावश्यक प्रचारप्रसार नगर्न समेत निर्देशन दिइएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रमाणीकरण गरी प्रकाशित नगरुन्जेल अपनाउनुपर्ने गोपनीयता कायम गर्नुपर्ने निर्देशन छ । ‘विद्यार्थीहरूको आन्तरिक मूल्यांकन गर्दा स्वतन्त्र र निष्पक्षताको सिद्धान्त अपनाई विद्यार्थीहरूको सही मूल्यांकन गर्ने र विद्यालयले गरेको मूल्यांकन प्रमाणित आधारहरू अभिलेख राख्ने’ विज्ञप्तिमा भनिएको छ ।

कोभिड–१९ का कारण सरकारले यो वर्ष एसईई नगर्ने भएपछि आन्तरिक मूल्यांकनका आधार नतिजा सार्वजनिक गर्न लागिएको हो । २०७६ चैत ६ गतेका लागि निर्धारत एसईई ५ चैत साँझ स्थगन भएको थियो ।

राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा ३० असारसम्ममा परीक्षा नियन्त्रण कार्यालयमा पुर्‍याउन निर्देशन दिएको छ । विद्यालयहरूले भने असार २० गते भित्रै शिक्षा विकास तथा समन्वय इकाईमा नतिजा पठाइ सक्नुपर्नेछ ।

विद्यार्थीहरूलाई मूल्यांकन समितिले तयार पारेको नतिजाको आधारमा राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र प्रदान गर्ने शिक्षा मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment