Comments Add Comment

गुल्मीमा पहिरोले पुरिँदा दुई बालबालिकाको मृत्यु, १ जना बेपत्ता

घाइते ६ जनालाई काठमाडौं लगियो

१९ असार, गुल्मी । गुल्मीमा पहिरोले दुईवटा घर र एउटा घुम्ती पसल बगाउँदा २ बालबालिकाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । अरु ६ जना घाइते भएका छन् ।

गुल्मीको इस्मा गाउँपालिका– १ मा बिहीबार राति ईश्वरा खत्री र बसन्त सारुको घर तथा भगीरथ घिमिरेको घुम्ती पसल बगाएको हो । प्रहरीका अनुसार ईश्वराकी ७ वर्षकी छोरी अपेक्षा खत्री, बसन्तका १८ महिनाका छोरा सिजन सारुको मृत्यु भएको छ । घुम्ती पसल सञ्चालक घिमिरे बेपत्ता छन् ।

पहिरोले घर बगाउँदा खत्री र सारु परिवारका ६ जना घाइते भएका छन् । खत्री परिवारका ५ वर्षका आयुष खत्री, २९ वर्षकी ईश्वरा खत्री, ६४ वर्षका टीका खत्री र ९० वर्षकी पुतली खत्री घाइते भएका छन् । त्यस्तै सारु परिवारका २१ वर्षकी सिर्जना सारु, २५ वर्षका बसन्त सारु घाइते भएका गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए ।

घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको छ । घाइते ४ जनालाई पहिरो प्रभावित क्षेत्रबाटै र २ जनालाई उपचारको लागि तम्घास लगिएकोमा त्यहीँबाट काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए । पहिरोबाट २० भन्दा बढी घरमा क्षति पुगेको छ ।

बेपत्ता भएका घिमिरेको खोजी भइरहेको वडाध्यक्ष लक्ष्मण खत्रीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment