Comments Add Comment

पुत्रीलाभपछि प्रमोद खरेलले भोगेको त्रासदी

२० असार, काठमाडौं । गायक प्रमोद खरेल दोस्रो सन्तानको बाबु बनेको आज २१ दिन पुग्यो । तर लक्ष्मीका रुपमा घर भित्रिएकी छोरीलाई उनले अहिलेसम्म स्पर्श गर्न पाएका छैनन् ।

गत २९ जेठमा श्रीमती दीपाबाट दोस्रो सन्तानप्राप्ति भएयता प्रमोदले कल्पनै नगरेको पीडा र त्रासदी व्यहोर्नुपर्‍यो। यी दिनहरूमा उनले आफ्नो आँखाबाट जति आँसु बगाए, त्योभन्दा धेरै आँखाभित्र लुकाए । मनको बेचैनी र अनिँदो रातको के कुरा गर्नु ।

जन्मिएलगत्तै ६ दिनसम्म नवजात छोरीलाई भेन्टिलेटरको मद्दतले सास फेरिरहेको हेर्नुपर्दा बाबुको मनमा के गुज्रिन्छ ? भर्खर सन्तान जन्माएकी श्रीमती एकाएक मृत्युको मुखमा पुगेको अनुभूति गर्दा श्रीमान‍्को अवस्था के हुन्छ ? प्रमोदले एकैपटक दुस्वप्नजस्ता दुई पीडादायी अवस्थाहरूको सामना गरे ।

जेठो छोरा जन्मिएको ८ वर्षपछि प्रमोद र दीपा दोस्रो सन्तानको पर्खाइमा थिए । गर्भवती अवस्थामा दीपा नियमित डाक्टरको परामर्शमा थिइन् । उनलाई अल्का अस्पतालकी डा. नूतन शर्माले हेरिरहेकी थिइन् । अन्तिम समयसम्म पनि सबै कुरा सामान्य देखिएको थियो ।

डाक्टरले दिएको डेट (असार ५) भन्दा एक हप्ता अगाडि दीपालाई गाह्रो भयो । प्रमोदले आफ्नै गाडीमा राखेर गत २९ जेठमा पत्नीलाई अल्का अस्पताल पुर्‍याए । अघिल्लो बच्चा सिजरियन विधिबाट भएकाले दोस्रो बच्चाको पनि नर्मल डेलिभरी नहुने डाक्टरले बताएका थिए ।

अप्रेसन थियटरबाहिर प्रतीक्षारत थिए प्रमोद, उनका बाबु र बहिनी मञ्जु । बिहान करिब ९ बजेतिर बच्चा रोएको आवाज सुनियो । प्रमोदको शरीरका रौं ठाडा भए । अनुहारमा स्वस्फूर्त मुस्कान आयो ।

एकैछिनमा बालरोग विशेषज्ञ डा. शिव चालिसेले शिशुलाई अपरेसन थियटरबाट बाहिर ल्याए । प्रमोद जुरुक्क उठेर बच्चालाई हातमा लिन तयार भए । तर डाक्टरको अनुहारको रंग अनायास फेरियो । उनले प्रमोदलाई बच्चा दिएनन् ।

‘नानीलाई सास फेर्न गाह्रो भयो,’ डाक्टरले भने, ‘केहीबेर अक्सिजन दिनुपर्छ ।’

प्रमोद केही बोलेनन् । डाक्टरले शिशुलाई बोकेर आइसीयूतिर उक्लिए । प्रमोद पछिपछि लागे । ‘एकछिन यहीँ बस्दै गर्नुस है’ भन्दै डाक्टर आइसीयूभित्र पसे भने प्रमोद बाहिर प्रतीक्षामा बसे । उनको मुटुको धड्कन त्यसरी नै बढिरहेको थियो, जसरी श्रीमतीको शल्यक्रिया सुरु हुँदा बढेको थियो ।

करिब १५-२० मिनेटमा डा. चालिसे बाहिर निस्किए ।

‘बच्चाले सास फेर्न सकिरहेको छैन । १-२ घन्टा भेन्टिलेटरमा राख्नुपर्ने भयो,’ डाक्टरले मलिन आवाजमा सुनाए । फेरि पनि केही बोल्न सकेनन् प्रमोद । उनको मन आत्तिँदै थियो । तल अपरेसन थियटर श्रीमती अर्धबेहोसी अवस्थामा नै थिइन् । उनी ब्युँझेपछि बच्चा खोज्नेछिन् । कसरी सुनाउने ? कसरी सम्हाल्ने ?प्रमोद निकै छट्पटिए ।

दुई घन्टापछि डाक्टर फेरि बाहिर निस्किए । तर फेरि पनि उनीसँग कुनै सुखद् समाचार थिएन । उनले नयाँ समस्या सुनाए ।

‘सामान्यतया आमाको पेटमा हुँदा बच्चाको फोक्सोमा पानी हुन्छ । बच्चा जन्मिँदासम्म त्यो पानी एब्जर्भ भइसकेको हुनुपर्छ । तर तपाईंको बच्चाको फोक्सोबाट पानी घटेको छैन । डेढ-दुई घन्टा भेन्टिलेटरबाट श्वासप्रश्वास गराउँदा पनि पानी घटाउन सकिएन । अहिले बच्चा पूर्णतया भेन्टिलेटरमा निर्भर छ,’ डाक्टरले भन्दै गर्दा प्रमोदको मुटु काँप्न थाल्यो ।

डाक्टरले उपाय सुनाए, ‘सर्फेस्टेन्ट भन्ने लिक्विड हुन्छ । बच्चाको मुखबाट एउटा पाइप छिराएर त्यो लिक्वीडलाई फोक्सोसम्म पुर्‍याउनुपर्छ । त्यसो भयो भने पानी घट्न सक्छ ।’

भर्खर जन्मेको शिशुको मुखबाट पाइप छिराउने कुराले प्रमोद नराम्ररी झस्किए । उनका नौनाडी गले । तर डाक्टरमा निर्भर हुनेभन्दा उनीसँग अर्को विकल्प पनि थिएन । डाक्टरले भनेबमोजिम कार्यका लागि उनले सहमति दिए । तल ओर्लेर आफ्नी श्रीमतीलाई सबै सुनाए । उनी भक्कानिन थालिन् ।

करिब एक घन्टापछि डाक्टर बाहिर निस्किए । यसपटक उनीसँग सुखद् समाचार थियो ।

‘हामीले बच्चाको मुखबाट पाइपमार्फत औषधि पठायौं र औषधिले छिटो काम पनि गर्‍यो । हामीले सोचेभन्दा चाँडो फोक्सोको पानी अब्जर्भ भइरहेको छ,’ डाक्टरका यी शब्दहरूसँगै प्रमोदको अनुहार केही उज्यालियो ।

औषधिले काम गरेसँगै बच्चाको श्वासप्रश्वासमा सुधार आउन थाल्यो । भेन्टिलेटर मेसिनले २० प्रतिशत अक्सिजन दिँदा पनि पुग्ने भयो । फेरि कुनै अप्रत्याशित समस्या नआएमा भोलिपल्ट बच्चालाई भेन्टिलेटरबाट निकालिने डाक्टरले बताए । तर त्यही रात फेरि नयाँ जटिलता आयो ।

डाक्टरले प्रमोदलाई ब्रिफिङ गरे, ‘मानिसको. शरीरभित्र दुई किसिमको प्रेसर हुन्छ, फोक्सोको र मुटुको । मुटुको प्रेसर घट्दा फोक्सोको बढ्छ र मुटुको बढ्दा फोक्सोको घट्छ । तपाईंको बच्चाको मुटुको प्रेसर अचानक डाउन भएको छ । यो केसमा कहिलेकाहीँ यस्तो हुन्छ । फोक्सो र मुटुको प्रेसरलाई सन्तुलनमा ल्याउन अरू दवाई चलाउनुपर्ने भयो । दवाईको मात्र कम-बेसी गर्दै प्रेसर चेक गर्दै जानुपर्छ ।’

भोलिपल्ट बच्चालाई भेन्टिलेटरबाट निकालिने आशामा बसेका प्रमोद फेरि एकपटक नर्भस भए । त्यही रात उनले आईसीयूभित्र पसेर भेन्टिलेटरमा रहेकी छोरीलाई टाढैबाट नियाले । एनेस्थेसियाले बेहोस बनाइएकी छोरी भेन्टिलेटरको मद्दतले सास फेरिरहेकी थिइन् । औषधिका लागि छिराइएको पाइप मुखभित्रै थियो । पानीको लागि छुट्टै पाइप थियो ।  उनले धेरैबेर हेरिरहन सकेनन् ।

डाक्टरलाई सोधे, ‘मुखको पाइप अब निकाल्दा हुँदैन ?’

डाक्टरले भने, ‘अहँ, फेरि राख्नुपर्‍यो भने गाह्रो हुन्छ । त्यसैले केही दिन यत्तिकै छोडौं ।’

‘प्रेसर ब्यालेन्समा आउन कति दिन लाग्ला ?’ प्रमोदले सोधे ।

‘कसैलाई चाँडो हुन्छ । कसैलाई ७ महिनासम्म पनि लाग्नसक्छ,’ डाक्टरले जवाफ दिए ।

तर सोचेकोभन्दा चाँडो प्रमोदकी छोरीले ‘रिकभर’ गरिन् । ६ दिनमा उनको फोक्सो र मुटुको प्रेसर सन्तुलनमा आयो । छैटौं दिनमा मुखबाट पाइप निकालियो । त्यसपछि २४ घन्टासम्म ‘अब्जरभेसन’मा राखियो ।

अब्जरभेसनमा राखिएका बेला पहिलोपटक आमाले आफ्नी छोरीको अनुहार हेरिन् । दूध चुसाइन् । त्यतिञ्जेलसम्म बच्चाको पेटमा पानीभन्दा केही परेको थिएन । आमाको दूध पिएपछि सातौं दिनमा पहिलोपटक बच्चाले दिसा गर्‍यो ।

बच्चाको अवस्थामा सुधार आएपछि डाक्टरले उनलाई डिस्चार्ज गर्ने तयारी गरे । तर फेरि पनि अर्को ‘ट्विस्ट’ बाँकी नै थियो ।

भेन्टिलेटरमा राखिएको बेला बच्चालाई तीन दिनसम्म ज्वरो आएको थियो र डाक्टरले एन्टिबायोटिक चलाएका थिए । डिस्चार्ज गर्ने बेलामा फेरि ज्वरो बढ्यो । डाक्टरले भने, ‘यस्तो बेला ज्वरो आएको राम्रो होइन । म्यानेन्जाइटिसको खतरा पनि हुन्छ । त्यसैले एकपटक म्यानेजाइटिसको परीक्षण गरेर मात्र लैजाँदा राम्रो होला ।’

डाक्टरले बच्चाको ढाडको हड्डीबाट पानी निकालेर टेस्ट गर्नुपर्ने बताए । प्रमोदलाई भाउन्न भयो । बल्लतल्ल भेन्टिलेटरबाट निकालेको बच्चलाई फेरि अर्को कष्ट दिन उनको मन मानेन ।

‘अहिले नगर्दा पनि हुँदैन ?’ उनले अलिकति असहमति राखे ।

डाक्टरले भने, ‘मलाई लाग्छ तपाईंको बच्चा ९० प्रतिशत नर्मल छ । तर पनि किन रिस्क लिने ? कथंकदाचित म्यानेनजाइटिस नै रहेछ भने भोलि ठूलो भएपछि दिमागी समस्या आउन सक्छ । त्योभन्दा अहिले नै परीक्षण गरेर ढुक्क हुनु राम्रो ।’

प्रमोदले सोचे, आखिर डाक्टरभन्दा जान्ने हामी होइनौं । त्यसले भारी मनले सहमति दिए । बच्चाको ढाडमा सुई रोपेर पानी निकालियो । २४ घन्टापछि रिपोर्ट आयो । साँच्चै म्यानेन्जाइटिस भएको रहेछ ।

डाक्टरले अब २१ दिनसम्म औषधि चलाउनुपर्ने बताए । सकेसम्म अस्पतालमै राखेर उपचार गर्न डाक्टरको सुझाव थियो ।

कोरोनाको प्रकोप बढिरहेको थियो । प्रमोद अस्पताल र घर गरिरहन्थे । स‌ंक्रमणको डरले गर्दा उनले अहिलेसम्म छोरीलाई छोएका थिएनन् । पत्नी दीपा अस्पतालबाट डिस्चार्ज भइसकेकी थिइन् । उनको सुत्केरी शरीरलाई पनि स्याहारको आवश्यकता थियो । उनले बच्चालाई काखमा लिने र दूध खुवाउने गरिरहेकी थिइन् । घर गएपछि फेरि उनले छोरीका लागि अस्पताल धाउन सम्भव थिएन । संक्रमणको डर पनि हुन्थ्यो । त्यसैले प्रमोदले छोरीलाई घरै लैजाने निधो गरे ।

उनले अल्का अस्पतालकै दुई जना नर्स आफूलाई उपलब्ध गराइदिन आग्रह गरे । शुल्क तिर्नेगरी अस्पतालले उनलाई दुई नर्सको व्यवस्था गरिदियो । असार ७ गते प्रमोद श्रीमती र बच्चा लिएर आफ्नो घर फर्किए । दुई नर्सको सहयोगमा घरमै बच्चाको उपचार सुरु भयो ।

बच्चालाई म्यानेन्जाइटिसको औषधि चलाउने काम निकै कठिन थियो । दैनिक तीनथरी एन्टिबायोटिक क्यानुलाबाट दिनुपर्ने । यो सामान्य इन्जेक्सनजस्तो होइन । एकपटक एन्टिबायोटिक दिन तीन घन्टा लाग्थ्यो । तीनपटकलाई नौ‌ं घन्टा । दैनिक नौं घन्टा नवजात शिशुको शरीरमा पम्पिङ गर्नुपर्ने अवस्था थियो । पम्प गर्ने मेसिन उनले अस्पतालबाट भाडामा ल्याएका थिए ।

बच्चाको उपचार चल्दै गर्दा अर्को विपत्तिले प्रमोदलाई छोप्यो । घर फर्केको भोलिपल्ट श्रीमती दिपालाई अचानक सुख्खा खोकी सुरु भयो । भर्खर अपरेसन गरेको शरीरलाई अनवरत खोकी सहन गाह्रो हुने भइहाल्यो । प्रमोदले डाक्टरसँग सल्लाह गरे । डाक्टरले तातोपानी खुवाउनु, आत्तिनुपर्दैन भने । एउटा खोकीको औषधि पनि लेखिदिए । प्रमोदले त्यसै गरे । तर खोकी घट्नुको साटो बढ्दै गयो ।

अमेरिकामा प्रमोदका एक डाक्टर साथी थिए । उनले भाइबरमा ती साथीसँग कुरा गरे । साथीले उनलाई एकपटक दीपाको प्रेसर चेक गराउन सुझाव दिए । प्रमोदले त्यसै गरे । प्रेसर निकै हाइ देखियो । उनले साथीलाई सुनाए । साथीले फोक्सोमा पानी जमेको हुन सक्ने र यस्तो अवस्थामा श्वासप्रश्वास नै रोकिन सक्ने खतरा औंल्याए ।

नभन्दै त्यति राति दीपालाई एक्कासी श्वासप्रश्वासको समस्या उत्पन्न भयो । राति १० बजे उनी हप्याकहप्याक नै भइन् । ‘म मर्न आँटे, छिटो अस्पताल लैजानुस’ भन्न थालिन् । उनलाई ज्वरो पनि आइरहेको थियो ।

प्रमोदले अत्तालिँदै आफ्नो गाडी निकाले । श्रीमतीलाई पछाडिको सिटमा राखे । नर्सहरूलाई ‘छोरी राम्ररी हेर्नु है’ भन्दै गाडी हुइँक्याए । श्रीमती आलसतालस थिइन् ।

‘उनको अवस्था हेर्दा अस्पताल नै पुर्‍याउन भ्याइन्छ कि भ्याइँदैन जस्तो भएको थियो,’ प्रमोद भन्छन्, ‘म आफैँ यति आत्तिएको थिएँ कि बाटोभरि मेरो मुखबाट आवाजै निस्केन । मैले उनलाई एक शब्द सहानुभूतिसमेत दिन सकिनँ ।’

हात्तीवनमा रहेको घरबाट गाडी हुइक्याएर प्रमोदले अल्का अस्पताल ल्याए । त्यसबेला रातको साढे ११ बजेको थियो । दीपालाई इमर्जेन्सीमा राखेर अक्सिजन दिन थालियो । इमर्जेन्सीका डाक्टरले विज्ञ डाक्टरसँग फोनमा कुरा गर्दै परीक्षण र उपचार सुरु गरे । प्रमोदले आफ्ना केही आफन्त र साथीभाइलाई अस्पताल बोलाए ।

दीपाको शरीरमा अक्सिजन लेभल न्यून भइसकेको थियो । साथै, फोक्सोमा पानी जमेको देखियो । जुन समस्या नवजात शिशुमा थियो, त्यही आमामा पनि देखियो । अक्सिजन दिन थालेपछि दीपा केही शान्त भइन् ।

बिहान साढे ५ बजे विशेषज्ञ डाक्टरले दीपालाई हेरे । सबै लक्षणहरू सुनेपछि उनीहरूले मटुको समस्या त पहिल्याए नै साथमा कोरोनाको पनि आशंका गरे । तत्काल पीसीआर गर्नुपर्ने डाक्टरले बताए । प्रमोदको हंशले ठाउँ छोड्यो । उनको मनमा अनेक नकारात्मक कुरा खेल्न थाले ।

‘यदि उनलाई यस्तो अवस्थामा कोरोना भएको भए ज्यान बचाउन कठिन हुन सक्थ्यो किनकि उनको इम्युनिटी पावर निकै कमजोर भइसकेको थियो । सुख्खा खोकी, ज्वरो, श्वासप्रश्वासमा कठिनाइ सबै लक्षण कोरोनासँग मिलिरहेका थिए । मलाई एक मनले लाग्यो कि मैले आफ्नी श्रीमतीलाई गुमाउँदै छु, मेरो जीवन बर्बाद भयो ।’

बिहानै पीसीआरका लागि स्वाब संकलन गरे डाक्टरहरूले । पीसीआर रिपोर्ट नआएसम्म प्रमोद र दीपा दुवै उत्तिकै नर्भस थिए । उनीहरू बोल्न त के, एक-अर्काको अनुहारमा हेर्न समेत सकिरहेका थिएनन् ।

दिउँसो दीपाको इको गरियो । इको रिपोर्ट पनि आत्तिने खालको थियो । प्रमोदले मनमोहन कार्डियो थोरासिक भास्कुलर सेन्टरमा काम गर्ने नर्स बहिनी मञ्जुलाई फोन गरेर बोलाए । मञ्जु तुरुन्तै अल्कामा आइन् । इको रिपोर्ट हेरेपछि उनी पनि आत्तिइन् ।

मुटुले पम्प गर्ने रगतको प्रतिशत ५० देखि ७० प्रतिशत हुनुलाई सामान्य मानिन्छ । ४० देखि ४९ प्रतिशतलाई जोखिमपूर्ण मानिन्छ भने ४० प्रतिशतभन्दा कम हुनुलाई खतरापूर्ण मानिन्छ । दीपाको २५ देखि ३० प्रतिशत मात्रै देखियो ।

बहिनीले भाउजूलाई मनमोहनमै लैजान प्रमोदलाई सुझाइन् । त्यहीँबाट उनले डाक्टर भगवान कोइरालालाई पनि फोन गरिन् । यस्तो-यस्तो छ भनेपछि कोइरालाले तुरुन्तै ल्याइहाल्नु भने ।

एम्बुलेन्समा राखेर अक्सिजन दिँदै दीपालाई मनमोहनमा पुर्‍याइयो । त्यहाँ मुटुरोग विशेषज्ञ डा. सञ्जीव थापाले उनलाई हेरे । प्रेसर एकदमै अस्थिर थियो ।

मानिसको शरीरभित्र फोक्सोबाट अक्सिजन पाएर शुद्ध भएको मुटुमा पास हुन्छ र मुटुले शरीरका विभिन्न भागमा पम्पिङ गर्नुपर्छ । मुटुले पम्पिङ गर्न नसक्दा रगत फोक्सोमै फर्किन्छ । त्यसपछि सास फर्ने गाह्रो भएर हार्ट अट्याक हुन सक्छ । डाक्टरका अनुसार बच्चा जन्मिनुभन्दा एक महिना अगाडिदेखि बच्चा जन्मिएको ५ महिनासम्म आमालाई यस्तो अट्याकको खतरा हुन्छ ।  यस्तो केसमा धेरै गभर्वती महिलाहरूको मृत्यु हुने गरेको छ । डाक्टरी भाषामा यसलाई पोस्टपार्टम कार्डियोमियोप्याथी (postpartum cardiomyopathy) भनिन्छ ।

दीपालाई मनमोहनको सीसीयूमा भर्ना गरियो । डाक्टरले कम्तीमा १५ दिन राख्नुपर्ने बताए । त्यही रात दीपाको पीसीआर रिपोर्ट आयो- नेगेटिभ ।

अब बल्ल प्रमोदको होस फर्कियो । यो खबर सुनेपछि दीपा पनि उज्याली भइन् ।

‘पीसीआरको रिपोर्ट आएपछि हामीलाई नयाँ जीवन पाएजस्तै भयो,’ प्रमोद भन्छन् ।

बिस्तारै दीपाको स्वास्थ्यमा सुधार हुँदै गयो । तीन दिनपछि उनको मुखबाट अक्सिजन झिकियो । चौथो दिनमा क्यानुला झिकेर मुखबाटै औषधि दिन थालियो । पाँचौं दिनबाट उनले मुखबाटै खान थालिन् । इको गर्दा मुटु पम्पिङ ४० देखि ४५ प्रतिशत पुगेको देखियो ।

१५ असारमा दीपाको जन्मदिन थियो । अस्पतालकै बेडमा प्रमोदले दीपालाई जन्मदिनको शुभकामना दिए, एउटा रातो गुलाबसहित । वरिपरि डाक्टर र नर्सहरूले ताली बजाए । दीपाको अनुहार लाजले गुलाबजस्तै लाल भयो । प्रमोदले आफैँ दीपाको कपाल कोरिदिए, दुई चुल्ठो बाटेर । दीपा झन् राती भइन् ।

१६ गते दीपा अस्पतालबाट डिस्चार्ज भएर घर आइन् । डाक्टरले उनलाई बढीभन्दा बढी आरामको जरुरत भएको बताएका छन् । उनको मुटु पूर्ण रूपमा ठिक हुन कति लाग्छ भनेर प्रमोदले डाक्टरलाई सोधेका थिए । डाक्टरले यसै भन्न नसकिने बताएका छन् ।

डाक्टरको भनाइ उद्धृत गर्दै प्रमोदले सुनाए, ‘कति मानिसको फुल्ली रिकभर हुँदोरहेछ, कतिको हुँदैन रहेछ । दीपाको केसमा चाहिँ ५० प्रतिशत सम्भावना छ ।’

१९ औं दिनमा आमा र छोरीको पुनर्मिलन भयो । यसबीचमा दुईदिन मात्रै दीपाले छोरीलाई काखमा लिन र दूध चुसाउन पाएकी थिइन् । अहिले उनले छोरीलाई स्याहार्न नसके पनि कम्तीमा काखमा लिएर दुख खुवाउन सकेकी छन् ।

२१ दिनको यो भुक्तमान सहेपछि प्रमोदको अनुहारमा मुस्कान फर्किन थालेको छ । अहिले छोरीको अवस्थामा पनि सुधार आइरहेको छ । उनको औषधिको डोज शुक्रबार पूरा भयो । आज शनिबार भएकाले भोलि मात्रै अस्पताल लैजाने प्रमोदले बताए । अब छोरीको स्वास्थ्यमा अर्को कुनै समस्या नथपियोस् भनेर भगवानसँग पुकारा गरिहेका छन् प्रमोद र दीपा । भोलि नै उनीहरूले छोरीको न्वारन गर्ने तयारी पनि गरेका छन् । छोरीको नाम पनि उनीहरूले सोचिसकेका छन् ।

‘यसअघि छोराको न्वारन गर्दा म थिइनँ । बाबु बनेको भोलिपल्टै आमा-छोरालाई अस्पतालमै छोडेर कन्सर्टका लागि हिँडनु परेको थियो । छोरीको न्वारनचाहिँ आफैँले गराउन जुरेको छ,’ उनले खुसी साँट्दै भने ।

भोलि नै पहिलोपटक छोरीलाई आफ्नो काखमा लिने सोचेका छन् उनले । त्यसैले न्वारनभन्दा पनि पहिलोपटक छोरीको स्पर्ष पाउने कुराले बढी प्रफुल्लित छन् उनी । अहिले कोरोनाले गर्दा परिवारसँगै समय बिताउने अवसर पनि छ उनीसित । बढीभन्दा बढी समय छोरीलाई नै दिनेछन् ।

अरूबेला सांगीतिक प्रस्तुतिका लागि देश-विदेश डुलिरहने गायक हुन्, प्रमोद । कोरोना नभएको भए र अरू सबै कुरा सामान्य भएको भए उनी अहिले पनि विदेशमै हुन सक्थे । तर यो बीचमा यस्तो परिस्थिति आयो कि उनले कोरोना नै बिर्सिएका छन् ।

‘यति धेरै त्रासदी भयो कि कोरोनाको डर त कता गयो कता’ उनी भन्छन्, ‘तर पनि भरसक सावधानी अपनाइरहेकै छु  ।’ जन्मनासाथ ठूला-ठूला दुख खेप्दै बाँचेकी छोरीलाई कोरोनाबाट पनि जोगाउन सक्नेमा उनी विश्वस्त छन् ।

कोरोनाका कारण उनलाई दु:ख पर्दा साथीभाइ र आफन्तहरू घरसम्म आएर सहानुभूति दिन सकेनन् । तर फोन र म्यासेजमार्फत धेरैले उनको मनोबल बढाइरहे । सामाजिक सञ्जालमा उनले गरेका एकाध पोस्टमा हजारौंले कमेन्ट गरिरहेका छन् । यसरी सबैको मायाले आफूलाई कठिन समयमा ओखतिको काम गरेको बताउँछन्, प्रमोद ।

‘मेरा फ्यान र शुभचिन्तकहरूको प्रेरणा, माया र शुभेच्छाले गर्दा मेरो मनोबल कमजोर हुन पाएन । सबै सहृदयीहरूलाई आत्मादेखि नमन गर्न चाहन्छु,’ उनले भने ।

आफ्नो बच्चा र श्रीमतीको उपचारमा संलग्न चिकित्सकहरूप्रति पनि उनले आभार व्यक्त गरे । खासगरी अल्का अस्पतालका बालरोग विशेषज्ञ डा. शिव चालिसेबाट आफू निकै प्रभावित भएको उनले बताए । यसैगरी मनोमोहन अस्पतालमा किफायती शुल्कमा उत्कृष्ट सेवा पाएको भन्दै सन्तोष व्यक्त गरे ।

अन्त्यमा उनले भने, ‘अहिले लकडाउनका कारण सार्वजनिक सवारीसाधन चलेका छैनन् । मेरो त आफ्नो साधन थियो र तुरुन्तै श्रीमतीलाई अस्पताल पुर्‍याएँ । तर जसको निजी सवारी छैन, उनीहरूलाई यस्तो आपत् आइलाग्यो भने के गर्छन् होला ? अझ यातायातको सुविधा नै नपुगेका दुरदराजका आमाहरूको अवस्था के होला ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
चिरञ्जीवी पौडेल

झण्डै डेढ दशकदेखि पत्रकारितामा सक्रिय पौडेल अनलाइनखबर डटकमका एसोसिएट एडिटर हुन् ।

ट्रेन्डिङ

Advertisment