Comments Add Comment

डडेल्धुरामा दुर्लभ ‘इन काउल बर्थ’

२१ असार, डोटी । डडेल्धुरा अस्पतालमा एक महिलाले पानीको फोकासहित बच्चा जन्माएकी छिन् । ‘इन काउल बर्थ’ भनिने यस्तो घटना प्रसुति प्रकृयामा निकै दुर्लभ मानिने चिकित्सकहरु बताउँछन् ।

शनिबार डोटीको दिपायल सिलगढी नगरपालिकाकी २८ वर्षीया माया बोहराले डडेल्धुरा अस्पतालमा जुम्ल्याहा बच्चा जन्माएकी हुन् । शल्यक्रियामार्फत प्रसुति गराउने क्रममा ‘इन काउल बर्थ’ भएको अस्पातालका चिकित्सक डा. राजन शाहले बताए ।

जुम्ल्याहामध्ये दोस्रोपटक निकालिएका बच्चा पानीको थैलीसहित जन्मिएको डा. शाहले जानकारी दिए । बच्चाको तौल २.६ किलोग्राम रहेको उनले बताए ।

यस्तो घटना ८० हजार जन्ममा एउटा हुने डा. शाहको दावी छ । उनी भन्छन् ‘सबै बच्चा गर्भमा रहँदा पानीको थैलीमा हुने गरे पनि जन्मिने क्रममा प्रायः यो थैली आफैं फुट्ने गर्दछ । थैलीसहित बच्चा सकुशल थैलीबाट बाहिर निस्कनु नै ‘इन काउल बर्थ’ हो, यो घटना बिरलै हुने गर्दछ ।’

डडेल्धुरा अस्पतालमा शल्यक्रिया मार्फत ‘इन काउल बर्थ’ पहिलो पटक भएको डा शाह बताउँछन् । उनले थपे ‘सफलतापूर्वक शल्यक्रिया गरी यस्तो दुर्लभ प्रसुति गर्न पाएकोमा म आफैंलाई भाग्यमानी ठान्छु ।’

अस्पतालका अनुसार आमा र दुवै शिशुहरुको अवस्था सामान्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment