Comments Add Comment

अमेरिकामा विभेद : एक अमेरिकी लेखकको वर्णन (भाग २)

(अमेरिकी लेखक डा. रोबर्टसन एक इतिहासकार हुन् । रोबर्टसनले गत जेठ २७ मा अनलाइनखबरमा अफ्रो–अमेरिकी विभेदको वर्णन (भाग १) लेखेका थिए । रोबर्टसन नेपालको मामिलामा पनि जानकार लेखक हुन् । उनी सन् १९९३ देखि १९९६ सम्म खोटाङ जिल्लामा पिस कोर स्वयंसेवकका रूपमा कार्यरत थिए । साथै उनी ‘फूलब्राइट नेपाल’का पूर्वनिर्देशकसमेत हुन् । हाल अमेरिकाका विभिन्न सहरहरूमा काला जातिका मानिसहरूले गरिरहेको अन्दोलनको अन्तर्यबारे डा. रोबर्टसनले अनलाइनखबरका लागि दोस्रो भाग लेखेका छन्, जसको नेपाली अनुवाद यहाँ प्रस्तुत गरिएको छ– सं)

आर्थिक अवसरका लागि बसाइँसराइ

मुख्य कुरा आर्थिक अवसरका लागि बसाइँसराइका बारेमा हो, जुन प्रायः नेपालीहरूले राम्ररी बुझेका छन् । धेरै नेपालीहरू ग्रामीण कृषि क्षेत्रबाट अधिक अवसरहरूका लागि सहरहरूमा बसाइँ सरेजस्तै झन्डै १०० वर्ष पहिलेदेखि नै दसौं लाख अफ्रिकी अमेरिकीहरू पनि अवसरको खोजीमा मिनेयापोलिस, न्युयोर्क र लस एन्जलस जस्ता ठूला सहरहरूतिर बसाइँ सर्न लागे ।
ती अफ्रिकी अमेरिकी आप्रवासीहरू कहिलेकाहीँ सोचेजस्तो काम पाउँथे । कहिलेकाहीँ आफूमाथि भेदभावपूर्ण अनुचित व्यवहार भएको पनि पाउँथे । हालैका साताहरुमा अमेरिकी सहरहरूमा भएको प्रदर्शनमा तिनै भेदभाव र अनुचित व्यवहारले जन्माएको निराशा प्रष्टिन्छ ।

सन् १९१६ देखि १९७० को बीचमा, विशेषत: पहिलो र दोस्रो विश्वयुद्ध कालमा करिब ६० लाख दक्षिणी अश्वेत दास परिवारका छोराछोरीहरू ग्रामीण इलाकाहरूबाट दक्षिणमा अटलान्टा जस्ता सहरहरू, अझै विषेश गरी न्युयोर्क शिकागो जस्ता उत्तरी सहरहरू र लसएन्जल्स क्यालिफोर्निया जस्ता पश्चिमी सहरी क्षेत्रहरूमा बसाइँ सरेका थिए ।

दक्षिणी फार्ममा गिर्दो आर्थिक अवस्था र गोराहरुको कठोर व्यवहारले अफ्रिकी अमेरिकीहरूलाई घर छोड्न बाध्य बनायो । यसको साथै कारखानाहरूमा मेहनती कामदारको आवश्यक भएको पनि उनीहरूले थाहा पाए ।

धेरै अश्वेतहरूले जागिर पाए र अमेरिकालाई पहिलो र दोस्रो विश्वयुद्ध जित्न सहयोग पुर्‍याए । तर, आप्रवासीहरूले विभेद र अवरोधहरूको सामना गर्नुपर्यो ।

उत्तम रोजगारी र सबैभन्दा राम्रो आवास गोराहरूले पाउँथे । धेरैजसो आप्रवासीहरू धेरै निम्न गुणस्तरका घरहरु भएका अश्वेत वस्तीहरूमा बस्न बाध्य थिए । केही समयभित्र नै १९५० र १९६० को दशकमा नै, अधिकांश कारखानाहरू सरेका कारणले उनीहरूको रोजगारी गुम्यो र थोरै मात्र अवसर बाँकी रहे ।

यसैबीच सरकारले गोराहरूको वस्तीमा घरकर्जालाई सरल बनाउन र सडक निर्माण गर्न ठूलो बजेट खर्च गर्यो । अमेरिकामा प्रायः शैक्षिक बजेट केन्द्र सरकारले नभई स्थानीय सरकारबाट आउने हुनाले अश्वेत बालबालिकाको तुलनामा गोरा बालबालिकाले राम्रो स्कूलमा अध्ययन गर्ने मौका पाए ।

गोराको बाहुल्य हुने सहरी पुलिस बल र गरिब अफ्रिकी अमेरिकन बस्तीबीचको सम्बन्ध वैमनस्यपूर्ण र कहिलेकाहीँ त आक्रमकसम्म हुनपुग्यो । पुलिसहरू अस्वेतलाई सताउँथे र पिट्थे पनि । कहिले काहीँ अवस्था अझै खराब पनि हुन्थ्यो । साना बन्दुकको व्यापक उपलब्धताले आगोमा इन्धन थप्यो । हुन सक्छ, अश्वेतमा भएको यो असन्तुष्टिले विस्फोट हुन केवल समयको प्रतिक्षा गर्दै थियो ।

 

सन् १९६८ मा लोकतान्त्रिक अधिकारका लागि शान्तिपूर्ण अभियानका संगठक अफ्रिकी अमेरिकी धार्मिक नेता मार्टिन लुथर किंगलाई एकजना गोराले गोली हानी हत्या गरे । त्यसको विरोधमा १५० भन्दा बढी सहरहरूमा लुटपाट, आगजनीसहितका विरोध प्रदर्शन भए । डेट्रोइट, मिशिगनमा ४३ प्रदर्शनकारी मारिए, ७ हजार पक्राउ परे, १३ सय भवनहरू ध्वस्त भए र २७ सय व्यवसाय लुटिए ।

मार्टिन लुथर किंग

हालका हप्तामा अमेरिकामा भैरहेको प्रदर्शनले त्यो १९६८ को घटनालाई सम्झाउँछ ।
मार्टिन लुथर किंगजस्तै धेरै मान्छेहरू आज ती हिंसात्मक दंगाहरूको निन्दा गर्छन् । साथै ती दङ्गा जन्माउने अन्यायलाई बिर्सनेहरूको पनि निन्दा गर्छन् । दंगा, उनले भनेका छन् ‘अन्यायमा परेका (सुनवाई नभएका)हरूको भाषा (आवाज) थियो ।’ ‘गोरा समाजको ठूलो हिस्सा’ उनले भनेका छन् ‘समानता र मानवताभन्दा पनि शान्ति र यथास्थितिप्रति बढी चिन्तित छ ।’

यी विरोध कार्यक्रमलाई सम्बोधन गर्नका लागि उच्चस्तरको सरकारी आयोगले कर्नर प्रतिवेदनका रूपमा सार्वजनिक आवास, रोजगारी र सहशिक्षा (शिक्षामा समानता) का लागि अरबौं डलरको कार्यक्रम सिफारिस गर्‍यो । संयुक्त राज्य अमेरिका विश्वको सबैभन्दा धनी राष्ट्र थियो । यसले चन्द्रमामा एकजनालाई राख्नका लागि अन्तरिक्ष कार्यक्रममा अरबौं डलर खर्च गरेको थियो । गलत नेतृत्वमा भियतनाममा भएको युद्धमा अरबौं डलर खर्चंदै थियो ।

साथै यो पनि बिर्सनुहुँदैन कि अमेरिकी वैभव विभिन्न किसिमले अश्वेतहरूको श्रममा भएको शोषण र उनीहरूको दासताप्रति ऋणी पनि थियो ।

तत्कालीन राष्ट्रपति लिन्डन बैन्स जोनसनले आयोगको सिफारिसलाई बेवास्ता गरे । १९६८ मा ‘कानूनी व्यवस्था’लाई पुनर्स्थापना गर्ने वाचा गर्दै रिचर्ड निक्सन नयाँ राष्ट्रपति चुनिए । उनले पनि कर्नरका सिफारिसहरूलाई बेवास्ता गरे। समस्या जस्ताको त्यस्तै रह्यो ।

हालको अवस्था

अझै पनि गोरा र काला बीचको दुरी ( खाडल ) विद्यमान छ । मूल समस्या भनेको आर्थिक व्यवस्थापन हो । अहिले १२ प्रतिशत अश्वेतसंग राष्ट्रिय अर्थतन्त्र को केवल ३ प्रतिशतमात्र सम्पति छ । उच्च शिक्षा लिएका अश्वेतको भन्दा गोराको सम्पति ७ गुणा बढी छ । यो सम्पति पुस्तान्तरण भैरहेको छ र यो आर्थिक असमानतालाई सरकारी नीतिहरूले सबल बनाइरहेका छन् ।

अमेरिकाको फौजदारी न्याय प्रणाली नै निस्पक्ष छैन । अमेरिकामा विश्वका ५ प्रतिशत मनिस बस्छन् । तर, संसारका कैदीहरूमध्ये अमेरिकन कैदीहरूको संख्या २० प्रतिशत छ । यसमा गरीब काला अमेरिकनको अनुपात असामान्य छ । गोरा राजनैतिक नेतालाई अन्य सजायँको सट्टा काराबास मात्र हुन्छ भने समान अपराधमा अश्वेतहरूले कठोरतम सजाय भोग्नुपर्छ ।

विश्वविद्यालयमा अध्यापन गर्ने ४० वर्षीय एक अश्वेत प्राध्यापकले भर्खरै लेखेका छन् कि उनलाई अहिलेसम्म पुलिसले ४० पटकभन्दा बढी रोकेको छ । उनी भन्छन् कि कालो भएकै कारण पुलिसले उनलाई शंकाको आँखाले हेर्छ ।

गोरालाईभन्दा कालाहरूलाई पुलिसले बढी बल प्रयोग गर्छ । हालैका वर्षहरूमा धेरै निहत्था अश्वेतहरू गोरा पुलिससँगको मुठभेडमा मारिएका छन् । ६ वर्ष पहिले न्युयोर्कमा एरिक गर्नेर भन्ने अश्वेत व्यक्तिलाई चुरोट बेचेको अभियोगमा पुलिसले पक्रेर दिनदहाडै मारे ।

गएको वर्ष अमेरिकन पुलिस अधिकारीले १०९९ मान्छे मारे त्यसमध्ये २४ प्रतिशत अश्वेत अमेरिकन थिए, जो जम्मा जनसंख्याको १२ प्रतिशत मात्र छन् । पुलिस अधिकारीले ज्यादती गरेमा सामान्यतः नाडीमा थप्पड पाउनेभन्दा बढी सजायँ पाउँदैन । थोरै अपराधीलाई मात्र जेल सजायँ वा जरिवाना हुन्छ ।

आजकल सुनिने पुलिस ज्यादतीका आलोचनाहरू नयाँ भएर आएका होइनन् । यी घटनाहरू पर्दामा देखिएकाले मात्र चर्चामा आउने गरेका हुन् ।

मिनियोपोलिस

जर्ज फ्लोइड रहेको सहर मिनियोपोलिसमा मेरो राम्रो सम्पर्क छ । मेरो मावली गाऊँ (सानो सहर) यो सहरभन्दा टाढा छैन र मेरा भाइबहिनी सपरिवार नजिकै बस्छन् । धेरै वर्ष पहिले म त्यहाँ एक वर्ष बसें र जर्ज फ्लोइडको ज्यान लिएको बस्तीमा काम पनि गरेको थिएँ । मेरा भतिज-भतिजी, भान्जा-भान्जीले अश्वेत केटाकेटीहरूको जस्तो भेदभाव र दुर्व्यवहार खेप्नुपरेन ।

मेरो बुझाइमा धेरै कुराका आधारमा मिनिअपोलिस अन्य सहरजस्तै छ । हरेक १० जनामा २ जना अश्वेत, ६ जना गोरा र १ ल्याटिनो छन् । र, हालका दशकमा नेपाली लगायत धेरै एसियनहरू त्यहाँ बस्न थालेका छन् ।

अश्वेतहरूमा पहिलो र दोस्रो विश्वयुद्धताका रोजगारीका लागि दक्षिणबाट उत्तरतिर आउनेका सन्तानहरू छन् । यिनीहरूले प्रायस: भेदवभावपूर्ण व्यवहारको सामना गर्नुपर्छ । प्रायःले आफू बस्ने ठाउँ रोज्न पाउँदैनन्, तोकिएको ठाउँमा मात्र रहनुपर्छ । हुलाकको एउटा अश्वेत कर्मचारीले गोराहरूको बस्तीमा घर किन्दा ऊ र उसको परिवारले गोराहरूको जमातबाट रातैपिच्छे आतंकित हुनुपरेको र धम्की खेप्नुपरेको कुरा भर्खरै निस्केको एउटा समाचारपत्रमा उल्लेख छ ।

तर, धेरै कारणले मिनिअपोलिस अरू सहरभन्दा खराब छ । गोराहरूको तुलनामा केवल एक तिहाई अश्वेतका मात्र घर छन् । सरदर गोरा परिवारको कमाइभन्दा औसतमा यी अश्वेतहरूले आधा मात्र कमाउँछन् । यो सहरमा शिक्षा र रोजगारीमा देशकै सबैभन्दा ठूलो विभेद छ ।

यो सहरको पुलिस बलले गोराहरूलाई बढी प्रोत्साहन गर्ने र कालालाई दुर्व्यवहार गर्ने क्रम विगतका दसकदेखि नै चली आएको छ । यो लामो इतिहास, पुस्तौंदेखि चलेको शोषण तथा भेदभावको इतिहास, ले नागरिकभित्र गुम्सिएको असन्तुष्टिको विस्फोटन विगत केही हप्तादेखिको गतिविधिको रूपमा प्रष्टिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment