
News Summary
Generated by OK AI. Editorially reviewed.- वि.सं २०८४ साल असाढ १५ गते बिहान ५ बजेर ३५ मिनेटमा पण्डित चतुर्भुज पौड्यालको जेठो छोरोको मृत्यु भयो।
- उनले आफ्नो मृत्युको अनुभव र गाउँको दृश्य वर्णन गरे।
- गाउँ र मृतकको परिवारको अवस्थालाई चित्रण गरिएको छ।
वि.सं २०८४ साल असाढ १५ गते मंगलबार ठ्याक्कै बिहान ५ बजेर ३५ मिनेट जाँदा मलाई एक्कासी आफ्नो शरीर ज्यादै नै हलुङ्गो भएको अनुभव भयो । सिकुवाभरि मलिन उज्यालो छरिइसकेको थियो । वर्खामास– बाहिर झमझम् पानी परिरहेको थियो । लाग्थ्यो, इन्द्रदेव खित्खिताउँदै आफ्नो हातको गुलेलीमा स्वर्गका पुष्पगुच्छा राखी एकपछि अर्को गर्दै बादलहरूका पोर्रा फुटाउँदै थिए ।
एकपटक आकाश गर्जियो, चिमचिम गर्दै बिजुली चारैतिर दौडियो, तत् क्षण म लहरे खोकीले निकालेको एक मुठ्ठी खकार बलेँसीमा थुकेर भर्खरै कुर्सीमा बसेको थिएँ, सल्किरहेको चुरोट हातबाट फुत्त खस्यो, त्यसलाई टिप्न के निहुरिएको मात्र थिएँ– अचानक शरीर शिथिल हुँदै गयो, तागत हरायो, सिरेटो पसेर मन बरफझैँ चिसियो, सोचहरू एकतमासले एकोहोरिए र शनै:शनै तिनलाई असीम अन्धकारले सोस्दै लग्यो ।
यसरी पण्डित चतुर्भुज पौड्यालको जेठो छोरो खस्यो ।
अर्थात्, म मरेँ ।
***
१.
आँगनछेउको तुलसीको मठमा टुक्रुक्क बसेर म भर्खरै आफूबाट अल्गिएर सिकुवामा लम्पसार आफ्नो देहलाई नियालिरहेको छु । पानी अघिभन्दा झन् ठूलो मात्रामा दर्किरहेको छ तर आकाशको पानीले मेरो यो अभौतिक अस्तित्वलाई रुझाउने कुनै दुष्प्रयास गरिरहेको छैन । यस्तो लागिरहेको छ– बिस्तारै म यिनै झरीका थोपाहरूमा घोलिदैछु, म यिनै पानीका थोपाहरू हुँ ।
मेरी स्वास्नी मनु, दुधेरोमा भर्खरै दुएको गाईको दुध बोकेर ग्वालीबाट बाहिर निस्किन्छे । सिकुवामा लडिरहेको मेरो शरीर देखेर एकछिन त ऊ त्यो आफूअघिको दृश्यलाई खुट्याउन सक्दिनँ, ढुङ्गाजस्तो अचल बन्छे, अक्क-न-बक्क हुन्छे । ‘मेरी आम्मै !’ भन्दै ऊ सिकुवातिर बेस्कन दौडिन्छे । दौडिँदा, उसको हातमा झुण्डिरहेको दुधेरोबाट दूध छछल्किन्छ– त्यसलाई पिँडीमै छोडेर, ऊ मेरो शरीरलाई झकझकाउन थाल्छे । तर झरीले भिजेको उसको बदनभन्दा बेसी ठिहिर्याहट मेरो मृत शरीरमा भेट्छे । उसका हातघोडा लल्याकलुलुक हुन्छन्, उसको घाँटीमा परालको बुझो लागेझैँ हुन्छ– उसको आर्तनाद मुखसम्म आइपुग्दैन, उसको क्रन्दन आँखाबाट, खसुम-कि-नखसुम, अलमलमा पर्छ ।
ऊ हत्तनपत्त घरभित्र छिर्छे र मोबाइल लिएर बाहिर निस्किन्छे । मेरो मुर्दा शरीर सिकुवामा उसैगरी लमतन्न लडिरहेको छ । मोबाइलमा चार्ज एकदमै कम छ, तीन दिनदेखि लगातार पानी परेकाले गाउँमा बत्ती आएको छैन । ऊ हतारहतार मेसेन्जेर खोल्छे र अमेरिकामा भएको जेठो छोरोलाई फोन लगाउँछे । चारचोटि लगातार गरेपछि मात्र उसले फोन उठाउँछ । फोन उठिसकेपछि– के भन्ने, कसरी भन्ने, असमञ्जसमा पर्छे मनु, उसको बोली फुट्दैन, उताबाट छोरोले दुईचोटि ‘हेलो…’ भन्छ र तेस्रो बोलीमा ‘ममी म काममा छु, भरे फोन गर्छु है !’ भनेर फोन काटिदिन्छ । मनुलाई पहिलोचोटि म साच्चिकै मरेँ भन्ने कुराको बोध हुन्छ, ऊ भक्कानिन्छे– र ह्वाँह्वाँ रुन थाल्छे ।
उसको आँसुको एक थोपा मोबाइलको स्क्रिनमा पर्छ । मोबाइलमा बेट्री कम भएको नोटिफिकेसन देखिन्छ । ऊ आफ्ना गालाका आँसु पुछ्दै काठमाडौंमा भएकी छोरीलाई फोन लगाउँछे । शायद यतिबेला छोरी, ज्वाइँ र नातिनीसँग आफ्नै बिस्तारामा निदाइरहेकी छे । लगातार फोनको गएको रिङ बजिरहन्छ– एकचोटि, दुईचोटि, तीनचोटि… र फोन स्वीच अफ हुन्छ ।
२.
डाँडामा घर, बस्ने दुईजन । घरलाई पनि बुढेसकाल लागेझैँ देखिन्छ, घरको ढाड नि मेरै जस्तो कुप्रो भइसकेछ । शायद मान्छेजस्तै घर पनि फुर्तिला सम्झनाले मात्र बाँच्छ, उमेर छँदाका वयस्क यादहरू सँगाल्न नपाएपछि घर यसैयसै मक्किँदै जाने रहेछ ।
मनु सिकुवामा गुन्द्री ओछ्याउँछे । मेरो लासलाई सकिनसकी घिसारेर गुन्द्रीसम्म पुर्याउँछे । झिङ्गाहरू मेरो लासमाथि भुनभुनिरहेका छन्, भित्रबाट म सुत्ने खाटको तन्ना ल्याएर त्यसलाई मेरो जिउमाथि ओडाइदिन्छे । अब झिङ्गाहरू मेरो लास छोपिएको तन्ना माथि बस्दै-उड्दै, उड्दै-बस्दै गरिरहन्छन् । यतिन्जेल उसले मेरो मृत्युलाई स्वीकारी सकी, उसको चाउरिँदै गरेको अनुहारमा अहिले मलाई गुमाउनुको दु:ख कम, एउटा जिम्मेवारीको बोध ज्यादा छ । ऊ सिकुवा माथिको दलिनबाट मेरा बाको पुरानो छाता निकाल्छे र मेरो मुत्युको खबर बोकेर गाउँतिर झर्छे ।
म पनि उसको पछिपछि लाग्छु ।
पौड्याल गाउँ रित्तिसकेको छ । पहिला यो गाउँमा २६ घर थिए, अहिले जम्माजम्मी १२ घर छन्, जसमध्ये १० घर मात्र पौड्याल थरीका हुन्– सबै हाम्रा नातागोता, एकै कुल । वंशजको हाँगालाई पछ्याउँदै जाने हो भने सबैको रुख एउटै । बाँकी दुई घर भने सिरानघरे भँडारी र बलवीरे कामीका हुन् । यी फरक थरका दुई घरले पौड्याल गाउँलाई दुईतिरबाट घेरेको छ भन्दा पनि हुन्छ– डाँडाको सबैभन्दा टुप्पोमा सग्रजीत भँडारीको घर छ भने गाउँको सबैभन्दा पुच्छारमा बलवीरे कामीको आरन छ ।
दुईचोटि बाटोमा चिप्लिएर मनु, काकाको घरको आँगनसम्म पुग्छे । सदाझैँ काका सिकुवामा रहेको खाटमा लम्पसार छन् । घाँस झार्ने बेला रुखबाट खसेपछि, उनी पछिल्लो आठ वर्षदेखि चलबलाउन सक्दैनन्, हल्लिनुका नाममा बेलाबखत उनका आँखा मात्र झिमिक्क गर्छन् । उनका घरमा उनकी लगभग एकै उमेरका दुई स्वास्नी, मेरी काकीहरू, बाहेक कोही पनि छैनन् । दुबै काकीबाट उनका सातवटी छोरी-छोरी, सबैको बिहे भइसकेको । कान्छी काकी घरमा कतै देखिइनन् । मनुले म मरेको खबर जेठी काकीलाई सुनाउँछे । उनी खबर सुनेपछि एकछिन काकातिर हेरेर एकोहोरिन्छिन् तर केही बोल्दिनन् । उनको अनुहारको भाव चिच्याउन खोज्छ– मैले उनको लोग्नेको काल खोसेँ !
काकीलाई बिदा मागेर मनु एकपछि अर्का नातेदारको घरमा पुग्छे र बिहेको निम्तो बाँडेजस्तो सबैलाई म मरेको समाचार सुनाउँछे । उसलाई मेरो मृत्युको खबर पुर्याउनुभन्दा बेसी मेरो लास घाटसम्म कसले पुर्याउँछ भन्ने कुराको ध्याउन्न छ । तर गाउँमा अधबैंसे कोही पनि छैनन् । लक्का जवान छोरा खालजति कि शहर कि त विदेश । गाउँमा अधिकांश बुढापाका छन्, केही बुहारी अनि कलिला नातिनातिना । ऊ गाउँभरि डुलिसक्दा पनि मेरा लागि एकजना मलामी भेट्दिन । गाउँका हरेक आफन्तको घरको हिले आँगनमा उसका पैतालाका डोब छोडिन्छन्, ती डोबसँगै मेरा पनि एक जोडा अदृश्य पैतालाका स्मारक आँगनपछि आँगन छुट्दै जान्छन् ।
उसको पछि लागेर म पनि आफ्नै मलामी खोज्न हिँडिरहेछु ।
मनु गाउँको पँधेरोछेउ पुग्छे । तल बेँसीमा पिखुवा खोला उर्लेर आएको छ, त्यसले पारी गाउँ जोड्ने झोलुङ्गे पुल हिजै भत्काइसकेको छ । खोलामा पानीको सतहले पुलछेउको ककर्टपाताले छाएको टहरे घाटलाई पनि छुन खोज्दैछ । ऊ एकछिन घाटतिर हेरेर टोलाइरहन्छे । डाकेर घाट आफैँ लाससम्म आउने भए, रोपाईँका बेला असारे गीत गाउँदा उसको कण्ठबाट निस्किने भाकाकै माधुर्य सापट लिई ऊ त्यसलाई फकाइफकाइ बोलाउथी होला ।
पश्चिमबाट आएको हावाको झोक्काले उसको हातको छातालाई उडाउन खोज्छ तर उसले त्यसलाई कस्सेर समाउँछे । त्यो हावाको झोक्काले उसलाई घरको सिकुवामा लडिरहेको मेरो लासको सम्झना गराउँछ । उसको अनुहारको भावभङ्गी फेरिन्छ । म पढ्न सक्छु उसको मनस्थिति: ऊ दोसाँधमा छे, पँधेरोबाट पूर्व-पश्चिम फर्किएर लम्पसार निदाइरहेका बाटोहरू जस्तै ! उसका नजर पश्चिमतिरको बाटोमा अडिन्छन् । त्यो बाटो सोझै राई गाउँ पुग्छ, जहाँका १६ वटै घर राई थरका छन् । एकमनले त उसलाई लाग्छ, त्यही गएर कसैसँग सहयोग मागुँ तर त्यति नै बेला उसले रिसले चुर भएको मेरो अनुहार सम्झिन्छे ।
त्यो सम्झनामा एक म छु, जो घरको सिकुवाको खाटमा दुर्वासा बनेर बसिरहेको छ । अर्को ऊ छे, जो मुल ढोकाको सँघारमा ढेसिएर एउटा मायालु नजर आँगनतिर फ्याकिरहेकी छे । र साँझले ढाक्दै गरेको त्यो आँगन छ, जहाँ शिर निहुर्याएर हाम्रो जेठो छोरो उभिएको छ र उसको छेउमा छे एउटी अपरिचित अनुहार, जसको नाक हामी कसैसँग पनि मिल्दैन । मेरा बोलीहरू गर्जन बनेका छन्, ‘यो सुँगुर खाने जातलाई लेर मेरो आँगनबाट निस्की हाल्… मेरो मरेको मुखले पनि तेरो मुख हेर्न नपरोस् !’
मनुका खुट्टाहरू राई गाउँतिर सोझिन मान्दैनन् । त्यसदिन मलाई र छोरो दुवैलाई नरोकेकोमा उसलाई गह्रुंगो ग्लानी छ । अनि एउटा डर: कदाचित् उसका खुट्टा त्यो बाटोतिर सोझिए भने शायद मेरो आत्माले शान्ति पाउँदैन । ऊ फनक्क फर्किएर छिटोछिटो पूर्वतिरको बाटो ओरालो झर्छे । बाटोमा घरिघरि हिलो लागेका उसका फित्ते चप्पल चिप्लिने मन गर्छन् ।
ओरालो झर्दाझर्दै ऊ बलवीरे कामीको आरनमा पुग्छे । बलवीरे आरनमा हँसियाका दाँत बनाइरहेको छ । उसले मनुलाई देखेर ‘ढोग गरे है बढ्यामा..’ भन्दै नमस्ते गर्छ । मनको एककुनामा रहेको मनुको एउटा ख्यालले बलवीरेलाई मेरो मलामीको रुपमा स्वीकार गरेर हेर्छ पनि, तर त्यो सोच आएको अर्को पलमा नै उसले पालैपालो मेरो, मेरा बाको, आफ्ना बाको अनुहार सम्झिन्छे– उसको मनमा लुसुक्क एउटा अपराधबोधको सिरेटो पस्छ ।
‘म घरतिरै त्याइदिम्ला भन्दै थें, यो किरिया मुत रोकिँदैन ।’ – मनुतिर नयाँ दाँत टल्किएका दुईटा हँसिया दिँदै बलवीरे आफ्नो पुरानो स्टकोटबाट आधा सल्किएको बिँडी निकालेर मुखमा टाँस्छ र चिम्टाले आरनको कोइला च्यापेर मुखको ठुटो सल्काउँछ । बिँडी तानिरहेको बलवीरेको अनुहारले झट्ट उसलाई मेरो जिउँदो अनुहार सम्झाउँछ– अनि लगत्तै मेरो मरेको अनुहार पनि । मनुको मुटु एकचोटि ढक्क फुल्छ।
‘पैसा लिन घरतिरै आऊ है’ उसका पाइला अघि आएकै बाटो फेरि फर्किन्छन् ।
३.
ऊ घरको आँगनमा पुग्दा सिकुवामा मेरो शरीर उस्तै चिरनिद्रामा छ । लासको छेउमा भँडार्नी भाउजु झोक्राएर बसेकी छिन् । मनुलाई देख्नसाथ उनी दिग्दारीको आवाजमा कराउँछिन्– ‘अलिकति बेसार पैँचो लिन आ’को, म त याँ कुरेको कुरै भएँ । कहाँ गको हो दिनभर.. लासलाई कुखुराले छोको भा…’
उनलाई गाउँमा सबैले एक्ली भँडार्नी पनि भन्छन् । जेठी स्वास्नी मरेको दोस्रो वर्ष भँडारी दाइकी कान्छी श्रीमती बनेर आएकी थिइन् उनी यो गाउँमा । लोग्नेभन्दा उमेरमा १० वर्ष र मनुभन्दा ६ वर्ष कान्छी । गोरा छाला, अहिले पनि उनी जवानै देखिन्छिन् । ज्यादै फुर्तिली पनि छिन्, गोठका त्यत्रा वस्तुभाउ, बेँसीको खेत अहिलेसम्म एक्लै गरेर खाइरहेकी छिन् । छोराछोरी छैनन्, उनको लोग्ने जनयुद्ध कालमा देश र सत्ता बद्लन्छु भनेर जङ्गल पसेका, फेरि कहिल्यै गाउँ फर्किएनन् ।
मनुले छाता मारेर त्यसलाई दलिनको चेपमा घुसाउँछे । हातमा लागेको पानी झड्काउँदै गर्दा उसको घाँटीबाट मैले सात वर्षअघि च्याङ्ग्रे बजारबाट ल्याइदिएको रातो तिलहरी चुँडिएर फ्यात्त भुईँमा खस्छ । ऊ त्यसलाई टिपेर खाटतिर हुत्याइदिन्छे ।
‘मलामी खोज्न ग’को, गाउँमा कोही बलिया लोग्नेमान्छे नै छैनन्.. अब कसरी उठाउनु, यो मुतको पनि रोकिने छाँटकाँट छैन ।’
‘छोरालाई फोन गरेऊ..?’
‘गरेकी थेँ, भन्न सकिनँ । अब त फोनको बेट्री नि मरो । यत्रो वर्ष नआ’को.. अब के आउथ्यो…’
‘उहाँबाट आउँदा.. एकदिनमा आउने कुरा पनि त होइन, तै नि माथि बजारसम्म आउने बाटो सप्पै भत्केको छ रे.. यहाँसम्म आइपुग्ने नि कसरी हो ?’
खाटमा बसेकी मनु बेलेँसीमा खसेको पानीलाई हेरेर टोलाइ मात्र रहन्छे, केही बोल्दिन ।
.
.
.
.
‘मनमाया..’
‘मनमाया…’
मनु भँडार्नी भाउजूतिर लाचारीको नजर फ्याक्छे ।
‘खै दाउ निकाल त, यसरी त हुन्न ।..पानी पनि बिस्तारै कम हुँदैछ, म त्यहाँ खोल्सामा गएर एउटा बाँस काटेर ल्याउँछु.. ‘
सुझो-न-बुझोको भावभङ्गीसहित मनु ट्वाल्ल पर्छे ।
‘.. साँझ पर्न लाग्यो, भाइलाई आजै घाटतिर लानुपर्छ । पाप लागेनि लागोस्, एउटा काँध त म आफैँ हाल्छु…’
४.
आकाश बिस्तारै अँध्यारो हुँदैछ, अहिले पानी पर्न बन्द भएको छ । एउटा बाँसमा मेरो लासलाई बाँधिएको छ, मेरो शरीरलाई मैले ओड्ने गरेकै सिरकको सेतो सुतीको खोल ओडाइएको छ । त्यो अधुरो घारोको एक छेउ भँडार्नी भाउजुले बोकेकी छिन् भने अर्को छेउ मेरो स्वास्नीले ।
खुट्टाहरू चिप्लिन खोजिरहन्छन् । दुवैका मुखले फलाकिरहेछन्: ‘…राम नाम सत्य हो !’
बाटोभरि झरीपछिको चिसोपना छरिएको छ । वातावरण झन्झन् चिसिँदैछ, म उनीहरूको पछिपछि हिँडिरहेको छु । म आफ्नै लासको मलामी, खै कुन्नि कताबाट एउटा प्रश्न मेरो वरिपरि नाच्न थाल्छ– ‘…मलाई दागबत्ती कसले दिन्छ ?’
प्रतिक्रिया 4