Comments Add Comment
विचार :

प्रहरी क्रुरताविरुद्ध अमेरिकी प्रदर्शन, तर अरू धेरै विषय छन्

अफ्रो–अमेरिकी विभेदको कथा : एक अमेरिकी इतिहासकारको वर्णन (भाग एक)

‘अमेरिकामा अहिले के चलिरहेको छ ?’ मलाई नेपाली मित्रहरूले धेरैचोटि सोधे । उनीहरूले दुई महिनाअघि कोभिड-१९ को संक्रमण अमेरिकामा बढिरहेको समयमा यो प्रश्न सोधेका थिए । अमेरिकामा जर्ज फ्लोयडको मृत्यु र त्यसपछि सुरु भएको आन्दोलनपछि उनीहरूले यो प्रश्न गरेका हुन् । म एक अमेरिकी इतिहासकार हुँ भन्ने थाहा पाएका कारण यो प्रश्न सोधेका हुन् । मेरो मामाघर मिनोसोटामा फ्लोयड मारिएको स्थाननजिकै भएकाले पनि उनीहरूले यो प्रश्न गरेका हुन् ।

अमेरिकी इतिहासबारे नेपालीहरूले प्रश्न गर्नु मेरा लागि नौलो कुरा होइन। सन् १९९० को दशकको सुरुवातमा म खोटाङमा एक शिक्षकका रुपमा काम गर्थें । त्यतिबेला म नेपाली साथीहरूलाई नेपालको इतिहासको बारेमा सोध्थेँ भने उनीहरू अमेरिकाको इतिहासका बारेमा मलाई सोध्थे । म यस किसिमको बहस रुचाउँथे । तर कहिलेकाहीँ आफ्नो कुरा वर्णन गरेर बुझाउन गाह्रो हुन्थ्यो । नेपाल अमेरिकाभन्दा निकै टाढा र औद्योगीकरणमा निर्भर पश्चिमा समाज नेपालको कृषिमा आश्रित समाजमा निकै ठूलो अन्तर थियो ।

अचम्मलाग्दो कुरा के भने मलाई अमेरिकामा भइरहेको घटनाबारे प्रश्न गर्नेमध्ये केही मानिसका परिवारका सदस्य त्यहाँ काम वा पढाइ गरिरहेका छन् । यस्तो अवस्था सन् १९९० को दशकमा भने खोटाङमा थिएन । वास्तवमा खोटाङको ग्रामीण भेगका धेरै साथीहरू अहिले अमेरिकामा बस्छन् ।

टोम रोबर्टसन

अहिले अमेरिकामा काम गरिरहेका र पढिरहेका सबै नेपालीले पनि दुई मुलुकको सम्बन्ध व्यक्तिगत तहमा थप बलियो बनाएका छन् । यस किसिमको सम्बन्धका कारण नेपालीलाई अमेरिकाको इतिहास जान्नु निकै महत्वपूर्ण पनि बनिसकेको छ । इतिहासकार भएकाले म यो कुरा बुझ्न सक्छु ।

जर्ज फ्लोयड एक अश्वेत अमेरिकी नागरिक थिए । कोभिड-१९ का कारण उनले आफ्नो रोजगारी गुमाएका थिए । प्रहरीको कथित भनाइ छ कि उनले नक्कली २० डलरको नोट मिनेसोटाको मिनेपोलिस सहरको एक पसलमा दिएका थिए । अमेरिकाको उत्तरी क्षेत्रका लागि मिनेसोटा एक औद्योगिक र कृषि क्षेत्रको केन्द्र हो । फ्लोयडको मृत्यु एक प्रहरी अधिकारीले आठ मिनेटसम्म घुँडाले घाँटीमा थिचेका कारण भएको हो । जबकि फ्लोयड भुइँमा लडेका थिए र उनको हातमा हत्कडी लगाइएको थियो ।

प्रहरीले अश्वेत जातिका मानिसलाई ज्यादती गर्ने गरेको यसअघिका यस्तै घटनाका कारण मिनेपोलिस र अन्य अमेरिकी समुदायका अश्वेत अमेरिकीहरू आन्दोलनमा उत्रिए र उनीहरूलाई सबै जातिका अमेरिकीहरूले साथ दिए ।

‘अमेरिकामा अहिले के भइरहेको छ ?’ भन्ने प्रश्नमा मेरो छिटो उत्तर यस्तो आउँछ – ‘यो जटिल विषय हो । अमेरिकामा अश्वेत र गोरा जातिको बीचमा भेदभावको लामो इतिहास छ । यो भेदभाव नेपालको जातजातिमा हुने गरेको भेदभावसँग केही हदसम्म मिल्छ । अमेरिकामा २५० वर्षको दासप्रथा अन्त्य भएको लामो समय बितिसक्दा पनि अझै अमेरिकी समाजमा अफ्रिकन अमेरिकीमाथि हुने अन्याय यथावत छन् । त्यतिमात्र होइन, अहिले चलिरहेको समस्या र अन्यायका कारण पनि यही हो।

नेपालीहरू अमेरिकालाई एक अवसरको भूमिको रुपमा चिन्छन् र यो धेरैका लागि अवसरको भूमि पनि हो । तर यो अवसर तपाईंको छालाको रङ र तपाईंको वर्गमा निर्भर गर्छ । प्रदर्शनको मुख्य कारण के छ भने धेरैजसो गरिब छिमेकीमा अश्वेत मानिसहरूमाथि प्रहरीको ज्यादती हो । तर त्यो मात्रै होइन, प्रदर्शन भेदभाव र अन्यायको लामो इतिहासको विरोध पनि हो ।

यो छोटो उत्तर हो । लामो उत्तरका लागि मैले उनीहरूसँग चिया मगाएँ र हामी कुरा गर्दा भौतिक दुरी कसरी कायम गर्ने भनेर उपयुक्त स्थानको खोजी गर्न थाल्यौं । इतिहासकारको नाताले म अहिलेको घटनालाई अमेरिकाको लामो इतिहासभित्र अटाउन चाहन्छु ।

म मेरो व्याख्या चारवटा अमेरिकी कहानीमार्फत गर्न चाहन्छु । नेपालीका लागि यी कहानीको विशेष अर्थ हुन्छ भन्ने मलाई लाग्छ । यी चार कहानीमा दासप्रथा, गृहयुद्ध, दोस्रो विश्वयुद्ध र गाउँबाट सहरको बसाइँसराइ पर्छन् । यी सबै कहानीमा अफ्रिकी अमेरिकीमाथिको अन्याय समेटिएका छन् र उनीहरूको दृढता पनि देखिन्छ ।

सुर्ती, कपास र धान खेतीका लागि दासप्रथा

अहिले अमेरिकामा रहेका अधिकांश अश्वेत अमेरिकी (जसलाई अहिले अफ्रिकी–अमेरिकी पनि भनिन्छ) १७ औं र १८ औं शताब्दीमा पहिलोपटक दास बनाएर ल्याइएका मानिसहरूका वंशज हुन् । उनीहरूलाई सुर्ती, कपास र धान खेतीको काममा लगाइन्थ्यो । अमेरिकामा दासप्रथा करिब २५० वर्षसम्म (सन् १६२०–१८६५) चल्यो ।

दासप्रथाको अन्त्य भएपछिको १५० वर्षसम्म पनि उनीहरूमाथि आर्थिक शोषण र राजनीतिक उत्पीडन भने जारी नै रह्यो । त्यसैले उत्तर अमेरिकामा ल्याइएपछिको चार सय वर्षको अश्वेत जातिको इतिहासमा सन् १९६० को दशकमा चलेको स्वतन्त्रताको आन्दोलनपछिको पुस्ताको अवस्थामा भने उल्लेख्य सुधार आएको छ ।

यी सबै कुरा २५० वर्षसम्म चलेको दासप्रथासँगै सुरु भएको हो । यसरी ल्याइएका दासबाट गराइएको सुर्ती खेतीबाट नै भर्जिनिया र मेरील्याण्ड धनी भएका हुन् । त्यस्तै, दासहरूले टिपेको कपासका कारण जर्जिया र टेक्सासका कपास बाली लगाउनेहरू धनी बनेका थिए । त्यस्तै, दक्षिण क्यारोलिना र जर्जियामा दासहरूले गरेको धान खेतीका कारण त्यहाँका जमिनदारहरू धनी बनेका थिए ।

युरोपेलीहरूको गोली र रोगका कारण अधिकांश आदिवासी (रेड इन्डियन) मारिएका वा अमेरिकाको पूर्वी समुद्री छेउबाट विस्थापित भएका थिए । त्यसपछि त्यहाँ पर्याप्त जमिन थियो । काम गर्ने मानिसको भने अभाव भयो । त्यसैले बन्दुक र कोर्राको प्रयोग गरी युरोपेली मानिसहरूले अफ्रिकी नागरिकबाट उनीहरूका परिवार चोरेर सुर्ती र धान खेतीका लागि मानिसहरू ल्याउन थाले ।

समग्रमा अहिले अमेरिका रहेको स्थानमा ६ लाख मानिसहरूलाई दास बनाएर ल्याइएको थियो । (करिब एक करोड २० लाख हाइटी, क्युबा र ब्राजिल गएका थिए ।) यसरी मानिसहरूलाई दास बनाएर ल्याउने जहाजको अवस्था नारकीय, घीनलाग्दो, भिडभाडयुक्त एवं घातक हुन्थ्यो । यसरी ल्याइएका १० मध्ये एकजनाको बाटैमा मृत्यु हुन्थ्यो ।

सन् १८६० सम्म अमेरिकामा ४० लाख दासहरू बसोबास गर्ने र काम गर्ने गर्थे । उनीहरूमध्ये धेरैजसो अमेरिकाको दक्षिणी भागमा सुर्ती, धान र कपास खेतीमा संलग्न थिए । उनीहरू वासिङटन डीसीदेखि टेक्साससम्मको क्षेत्रमा बस्थे ।

दक्षिण क्यारोलिनाको र जर्जियाको समुद्री क्षेत्र अन्य बालीको लागि त्यति उपयुक्त थिएन । तर धान खेती निकै राम्रो हुन्थ्यो । गोरा बेलायती जमिनदारलाई कसरी धान फलाउने भन्ने कुराको ज्ञान थिएन । तर पश्चिमी अफ्रिकाबाट ल्याइएका दासहरूले भने धान खेती गरेका थिए । यो क्षेत्रको समृद्धि अफ्रिकी दासहरूको पसिनाले मात्र नभई उनीहरूको सिपका कारण सम्भव भएको हो ।

दासहरूलाई कुनै अधिकार नदिई सम्पत्तिको रुपमा लिइन्थ्यो । उनीहरूलाई एउटा धानको बोराजस्तै गरी खरिद र बिक्री पनि गरिन्थ्यो । अश्वेत जातिका बच्चाहरूलाई बाबुआमाबाट खोसेर निकै टाढा लगेर बेचिन्थ्यो । गोरा मालिकले महिला दासहरूको बलात्कार गर्थे । गोरा मालिकले दासहरूलाई हिंसा र चरम यातना दिएर नियन्त्रणमा राख्ने गरेका थिए । उनीहरूलाई कोर्रा लगाउने, कुटपिट गर्ने, साङ्लोले बाँध्ने र यहाँसम्म कि उनीहरूको यौनाङ्ग काटिदिनेसम्मका यातना दिन्थे ।

यी सबैका बाबजुद पनि दासहरूले आफ्नै परिवार बनाए र निकै सम्पन्न परम्पराको विकास गरे । जसमा निकै बौद्धिक तवरले रचना गरिएको संगीत पनि सामेल छ । यसले उनीहरूलाई आफ्नो अस्तित्व दियो र कहालीलाग्दो कठिनाइमा पनि उनीहरूलाई एकसाथ राख्न सहयोग पनि गर्‍यो ।

यूएस साउथका एक जातजातिमा आधारित एक उपनिवेश थियो । यस्तै, उपनिवेश, जुन ब्रिटिश इन्डिया र दक्षिण अफ्रिकामा थियो । आर्थिक शोषण र राजनीतिक उत्पीडनबारे कथित जातीय श्रेष्ठताका आधारमा निर्णय गरिन्थ्यो ।

दासप्रथाले अमेरिकाको बजार पुँजीकरणलाई बढावा दियो । सुर्ती र धानबाट ठूलो नाफा हुन थाल्यो र कपास खेतीको नाफा पनि फस्टायो । हिंसा गरेर, चोरेर ल्याइएका दासहरूले उत्पादन गरेको सस्तो कपासमा निर्भर न्युयोर्कका व्यापारी, अमेरिकी कारखानाहरू र मासाचुएट्सका कपडा कारखानाहरू समृद्ध बने ।

नेपालीहरूले धेरैजसो अमेरिका कसरी धनी बन्यो भनेर सोध्छन् । यो प्रश्नमा मैले केही फ्याक्टरहरू बताउने गरेको छु । उच्च साक्षरता दर, राम्रा विद्यालय र विश्वविद्यालयहरू, पर्याप्त जमिन र स्रोत, प्रभावशाली सरकारका साथै अश्वेत जातिसँग चोरेर ल्याएर दास बनाइएका मानिसहरू । अमेरिकाको पुँजीकरण दासप्रथाबाट निकै ठूलो वृद्धि भयो ।

यो इतिहासको प्रभाव अझै सकिएको छैन । यसको प्रभाव अझैसम्म परिरहेको छ । दासप्रथाबाट पाएको सम्पत्ति एक पुस्ताबाट अर्को पुस्तालाई हस्तान्तरण गर्दै अहिलेसम्म पनि चलिरहेको छ । दासप्रथाको पैसाबाट चलेका धेरै परिवार, संगठनहरू र कम्पनीहरू अहिले पनि सञ्चालनमा छन् ।

त्यसोभए अमेरिकाको प्रजातन्त्र के हो त ? दासप्रथाबाट आएको समृद्धिले राजनीतिक स्वतन्त्रताको सोचलाई सम्भव बनायो । अमेरिकी स्वतन्त्रता घोषणाका र अमेरिकाको संविधानका लेखक अधिकांश सम्पन्न गोरा घरमा दास राखेका व्यक्तिहरू थिए । थोमस जेफर्सनले पनि घरमा दास राखेका थिए र उनीसँग दासीबाट जन्मेका बच्चाहरू थिए । जर्ज वासिङटनले पनि दास राखेका थिए । अमेरिकाका पहिला १२ राष्ट्रपतिमध्ये ८ जनाले आफ्ना दासहरूलाई पनि ह्वाइट हाउसमै लिएर आएका थिए ।

संविधानले गोरा पुरुषलाई मात्र अधिकार दिएको थियो । संसदमा कति प्रतिनिधि आवश्यक छ भनेर गणना गर्न दासहरूलाई पाँच भागको तीन भाग मानिस मानिन्थ्यो । तर उनीहरुलाई कुनै किसिमको अधिकार भने दिइँदैन’थ्यो । उनीहरूलाई मानिसभन्दा पनि एक सम्पत्तिजस्तो व्यवहार गरिन्थ्यो।

यी सबै अन्यायका बाबजुद अमेरिकामा संविधान बन्यो र समानता र प्रजातन्त्रको योजना ल्याइयो । यो अधिकारका लागि अश्वेत जातिका पछिल्लो पुस्ताले लडाइँ गर्नुपर्‍यो । अहिलेको अवस्थामा अफ्रिकन अमेरिकी आन्दोलनकारीले बलियो रुपमा स्वतन्त्रताको अर्थ के हो, वाकस्वतन्त्रताको अर्थ के हो र पूरा बल लगाएर सत्य बोल भन्नुको तात्पर्य के हो भन्ने अमेरिकाको वास्तविक मूल्य सम्झाइरहेका छन् ।

अमेरिकाको गृहयुद्ध र त्यसपछिको अवस्था

२५० वर्षको सुर्ती, कपास र धान दासप्रथासँगै सन् १८६० को दशकमा भएको अमेरिकी गृहयुद्ध र यसपछिको वियोगान्त अवस्थाले गम्भीरतापूर्वक अमेरिकी समाजले नयाँ आकार लियो ।

अमेरिकाको गृहयुद्धको पीडा कस्तो हुन्छ भन्ने नेपालीहरूलाई राम्रोसँग थाहा छ । यस किसिमको युद्ध निकै भयानक, हिंस्रक र पीडादायी हुने गर्छ । नेपालमा पनि १० वर्ष लामो जनयुद्ध भयो । यो क्रममा धेरैका दाजुभाइ, दिदीबहिनी मारिए र अन्त्यमा नयाँ संविधान लेखियो ।

अमेरिकाको गृहयुद्ध उत्तरी राज्यहरू र दक्षिणी राज्यहरूको बीचमा सन् १८६१ देखि १८६५ सम्म चलेको थियो । यो क्रममा ६ लाखभन्दा धेरै अमेरिकी मारिए । युद्धको अन्तिममा दासप्रथाको अन्त्य भयो र ‘कानुनको नजरमा सबै समान हुन्छन्’ भन्ने मान्यता संविधानको १४ औं संशोधनमा स्थापित गरियो । यसलाई अमेरिकाको साँचो लोकतन्त्रतर्फको एक महत्वपूर्ण कदमको रुपमा हेरिन्छ ।

दासप्रथाको अन्त्यले मात्रै सामाजिक, आर्थिक वा राजनीतिक समानता ल्याएन । युद्धपछि मानिसहरूमा आशा जाग्यो र केही परिवर्तन (अश्वेत परिवारलाई सजिलै कसैले खोसेर लैजान नसक्ने भए) पनि भयो । तर त्यसको दुई दशकभित्रै अवस्था युद्ध हुनुभन्दा पहिलाकै जस्तो बन्न पुग्यो ।

धेरै पूर्वदासहरू पूर्वमालिकको खेतमा काममा गर्न जान बाध्य बनाइए । उनीहरूको अवस्था नेपालको केही स्थानमा कमैया र हरुवा-चरुवाहरूले भोगेको अवस्थाभन्दा भिन्न थिएन ।

कानुनीरुपमा अश्वेतलाई पनि मतदानको अधिकार दिइएको थियो । तर प्रशासनिक जालझेल गरेर उनीहरूलाई मतदानबाट बञ्चित गरियो । (महिलाले सन् १९२० मा मतदानको अधिकार पाएका थिए, तर त्यसमध्ये पनि धेरैजसो गोरा जातिका महिला थिए ।) युद्धपछि पूर्वदासहरू र उनीहरूको सन्तानले प्रजातान्त्रिक अधिकार, राम्रो शर्त र आधारभूत आत्मसम्मानको लागि ठूलो संघर्ष गर्नुपर्‍यो । तर उनीहरूको आवाज दबाइयो र यसमा उनीहरूले ठूलो हिंसाको सामना गर्नुपर्‍यो ।

हतियारधारी गोरा जातिका तर्फबाट लड्नका लागि तयार पारिएको सेना ‘कु केलक्स केलान (केकेके)’ले अश्वेत मानिसहरूमाथि दमन गर्ने गर्थ्यो। त्यो समयमा अश्वेत मानिसहरूलाई झुण्ड्याउने वा जिउँदै जलाइन्थ्यो । अन्त्यमा इतिहारकारले भनेअनुसार गोराहरूले युद्ध हारे तर शान्तिले जित्यो । अर्थात् अश्वेत जातिले जिते । तथापि, शोषण र भेदभाव भने अफ्रिकी अमेरिकीको दैनिक जीवनमा अर्को एक शताब्दीसम्म पनि चलि नै रह्यो ।

पूर्वदास फ्रेडेरिक डोउग्लासले अमेरिकाको मुख्य चुनौती यसरी उल्लेख गरेका छन् ‘के अमेरिकी नागरिकहरूमा आफ्नै संविधानको सिद्धान्तअनुसार समाज बनाउन पर्याप्त वफादारी, सम्मान र देशभक्ति छ ?’

यो २० औं शताब्दीको ठूलो चुनौती थियो । यो क्रममा अफ्रिकन अमेरिकीले दुईवटा विश्वयुद्धको सामना गरे र उनीहरू दक्षिणी खेतहरूबाट न्युयोर्क र मिनेपोलिसजस्ता सहरसम्म पुगे । विश्वयुद्ध र गाउँदेखि सहर बसाइँसराइ अमेरिकाको ऐतिहासिक गतिशीलता हो । जससँग नेपालीहरू निकै परिचित छन् ।

(अमेरिकी नागरिक डा. रोबर्टसन सन् १९९३ देखि १९९६ सम्म खोटाङमा पिस कोर स्वयंसेवक थिए । ‘फूलब्राइट नेपाल’का पूर्वनिर्देशकसमेत रहेका डा. रोबर्टसन इतिहासकार पनि हुन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment