Comments Add Comment

गुल्मीमै कोरोना परीक्षणको तयारी

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाललाई पीसीआर मेसिन हस्तान्तरण गर्दै

४ साउन, तम्घास । अब गुल्मी जिल्लामै कोरोना परीक्षण हुने भएको छ । जिल्ला सदरमुकाममा  पीसीआर मेसिन ल्याइसकिएको छ । उपल्लो तम्घासमा तत्कालीन महिला विकासको कार्यालयमा ल्याव सन्चालन गर्ने निर्णय भएको छ ।

परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले कोरोना परीक्षण गर्ने मेसिन शनिबार रेसुङ्गा नगरपालिकालाई हस्तान्तरण गरेका छन् । ज्ञवाली आफैं हेलिकप्टर मार्फत् मेसिन लिएर जिल्ला आएका थिए । उनले जिल्ला विपद व्यवस्थापन समिति मार्फत् रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाललाई मेसिन हस्तान्तरण गरे ।

मेसिन हस्तान्तरण कार्यक्रममा मन्त्री ज्ञवालीले कोरोना संक्रमणले सामाजिक जीवनमा अत्यन्तै ठूलो क्षति पुगेको बताए । उनले स्रोत र साधनका हिसाबले अहिलेसम्म कोभिडविरुद्धको लडाइँमा राम्रो सफलता मिलेको बताए । साथै सबैभन्दा खराबको स्थिति आउन अझै बाँकी भएकाले त्यसको तयारीमा तीन वटै सरकारका संयन्त्र लाग्नुपर्नेमा ज्ञवालीले जोड दिए ।

कतिपयले कोरोना संक्रमणविरुद्धको लडाइँमा भएको खर्चको हिसाबकिताब सार्वजनिक गर्न माग गरिरहेको सन्दर्भमा मन्त्री ज्ञवालीले भने, ‘‘अहिले मेसिनको खर्चको कुरा नगरौं, मानव जीवनभन्दा खर्च ठूलो होइन ।

हिमालय एयरको सहयोग

मन्त्री ज्ञवालीको पहलमा हिमालय एयरलाइन्सले रेसुङ्गा नगरपालिकालाई पीसीआर मेसिन सहयोग गरेको हो । संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत आफूहरुले पीसीआर मेसिन प्रदान गरेको एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए ।

कोरोना परीक्षणका लागि जिल्ला बाहिर पठाउनु पर्ने बाध्यताका कारण केही समय पहिलेबाट स्थानीय तहले सदरमुकाम तम्घासमा कोभिड अस्पताल र ल्याब सन्चालन गर्न प्रयत्न गरिरहेका छन् । गुल्मी अस्पताल तम्घासका प्रमुख डाक्टर उत्तम पच्याले ल्याबको दैनिक खर्च, जनशक्ति र व्यवस्थापनको हिसावले चुनौतिपूर्ण भएकाले सबै स्थानीय तहको सहयोगमा सन्चालन गर्न सकिने बताए ।

आज मेसिन आएर भोलिबाट परीक्षण हुने भ्रममा नपर्न सबैलाई आग्रह गर्दै उनले अन्य धेरै व्यवस्थापन बाँकी रहेको बताए ।

प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले ल्याव निर्माणको काम अघि बढिसकेको जानकारी दिए ।

ल्यावको संरचना निर्माण गर्न भैरहवाबाट स्टिमेट गर्ने टोली मगाइएको, रेसुङ्गा नगरपालिकामार्फत् प्रयोगशालाका अन्य उपकरण खरिद गर्न टेण्डर आह्वान भएकाले केही समयमै ल्याब संचालन गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment