Comments Add Comment

रुग्ण पुलको विवरण तयार गरी निर्माण सुरु गर्न निर्देशन

आइतबारको विकास समिति बैठक । तस्वीर : रासस

४ साउन, काठमाडौं । प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले रणनीतिक सडकका रुग्ण पुलहरु निर्माण सुरु गर्न सरकारलाई निर्देशन दिएको छ ।

विभिन्न निर्माणाधीन पुलको सन्दर्भमा छलफल गर्न बसेको समितिको बैठकले पुराना एवं रुग्ण पुलको विवरण तयार गरी कार्ययोजनासहित निर्माण सुरु गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।

समिति सभापति कल्याणी कुमारी खड्काले देशभरका रणनीतिक सडक अन्तर्गत रहेका पुराना एवं रुग्ण पुलहरुको अवस्था सम्बन्धी विवरण तयार गरी गुणस्तरीय रुपमा निर्माण सम्पन्न गर्न निर्देशन दिइएको बताइन् ।

‘देशभरका रणनीतिक सडक अन्तर्गत रहेका पुराना एवं रुग्ण पुलहरुको अवस्था सम्बन्धी विवरण तयार गरी गुणस्तरीय रुपमा तोकिएको समयभित्र निर्माण सम्पन्न गर्न त्यसको वित्तीय सुनिश्चितता कायम गरी चालु आर्थिक वर्षमा त्यस्ता पुलहरुको निर्माण गर्ने कार्ययोजनासहितको प्रक्रिया आरम्भ गर्न समिति नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन गर्दछ’ निर्णयमा भनिएको छ ।

समितिले काठमाडौंको टेकुस्थित विष्णुमती पुलको निर्माणकर्तालाई कारबाही भएको सम्बन्धी विवरण उपलब्ध गराउन मन्त्रालयलाई निर्देशन दिएको छ । निर्माणाधीन तिनकुनेको बागमती पुल, हुलाकी राजमार्गमा पर्ने बागमती पुल र रौतहतको टिकुलियामा रहेको पुलको निर्माण समयमै सम्पन्न नगर्नेमाथि कस्तो कारबाही भएको छ भन्ने विवरण पनि समितिले सरकारसँग मागेको छ ।

समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्राविधिक जनशक्ति अभावका कारण विकास र पूर्वाधारका कामहरुमा असर परेको भन्दै पदपूर्तिको व्यवस्था मिलाउन अर्थ मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनशक्ति परिपूर्ति गर्न तयार पारेको ओएनएम रिपोर्ट स्वीकृत गरी मन्त्रालयको कामकाजमा सहजता लयाउने वातावरण निर्माण गर्न निर्देशन दिइएको सभापति खड्काले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment