Comments Add Comment

गर्भाधानदेखि मृत्युसम्म : के हो सोह्र संस्कार ?

मानव जीवनलाई उन्नत बनाउन संस्कारहरुको विशिष्ट महत्व हुन्छ । मानवको शारीरिक मानसिक तथा आत्मिक उन्नतिका लागि जन्मदेखि मृत्युपर्यन्त भिन्न भिन्न समयमा विविध संस्कारको व्यवस्था गरिएको छ ।  संस्कारको विषयमा मनुको स्पष्ट निर्देश छ कि माता पिताको वीर्य एवं गर्भाशयको दोषहरु गर्भाधानादि संस्कारद्वारा हटाउन सकिन्छ । अत संस्कारले शरीरलाई शुद्धि गर्दछ । मनुले संस्कारद्वारा यज्ञ, व्रत आदिले मानव शरीर अनि आत्मालाई ब्रम्ह  प्राप्तिका लागि  योग्य बनाइन्छ भनेका छन् ।

महर्षि दयानन्दले संस्कारविधि नामक पुस्तकमा लेखेका छन् – ‘जे गर्दा शरीर र आत्मा सुसंस्कृत भएर धर्म, अर्थ, काम र मोक्ष प्राप्त हुन सक्दछ र सन्तान योग्य हुन्छन्  । यसैले गर्दा संस्कारहरुलाई गर्नु सबै मनुष्यहरुका लागि उचित छ । संस्कारहरूले संस्कारितलाई पवित्र तथा असंस्कृतलाई अपवित्र भनिन्छ । शिक्षा तथा औषधिहरूले सुखवर्धक संस्कार गर्नका लागि  बुद्धिमानहरूले सधै उद्यम गर्नु पर्दछ ।’

गर्भाधानो पुंसवनस्सीमन्तो वैष्णवोबलिः ।

जातकं नाम निष्क्रामोन्नप्राशनं  चोलकर्म च।।

उपनीती महानाम्नी महाव्रतमनुत्तमम्  ।

उपनिषच्च गोदानं समावार्तनमेव च ।

विवाहश्चेति संस्कारास् षोडशैताः प्रकीर्तिताः । ।

१. गर्भाधान, २. पुंसवन, ३. सीमन्तोन्नयन, ४. जातकर्म, ५. छैठी, ६. नामकरण, ७. निष्क्रमण, ८. अन्नप्राशन, ९. चूडाकर्म, १०. विद्यारम्भ, ११. कर्णवेध, १२. यज्ञोपवीत, १३. केशान्त, १४. समावर्तन, १५. विवाह र १६. अन्त्येष्टि ।

यीमध्ये पनि अहिले नामकरण, यज्ञोपवीत अर्थात् व्रतबन्ध, विवाह र  मृत्यु संस्कार मात्र प्रचलित छन्।

संस्कार प्रक्रिया

गर्भाधान संस्कार –यो उत्तम सन्तान प्राप्तिका लागि  गरिने पहिलो संस्कार हो । ऋतुदानको समय १६ दिनमा , पहिलेका ४ दिन निन्दित छन, त्यसैगरी ११ र १३औ रात्री पनि निन्दित छन् । पौर्णमासी, चतुर्दशी वा अष्टमी यी रात्रीलाई पनि छोडी दिनु भन्ने मनुस्मृतिको वचन छ । बाकी रहेका १० रात्रीमा  वीर्य निषेचनद्वारा गर्भस्थापना गर्नु गृहस्थाश्रमको पहिलो कर्तव्य हो । पुत्र वा पुत्री जुन चाहेको हो सो प्राप्त गर्ने विधान बताइए पनि बुद्धिमान रोगरहित स्वस्थ शिशुमा बढता जोड दिइएको छ । यो संस्कार वास्तवमा दिव्य आत्माहरूलाई जन्म लिनका लागि भूमि  तयार गर्नु हो । यसलाई पवित्रतासँग जोडिएको छ । सन्तुलित साकाहारी भोजन र स्त्री पुरुषको प्रसन्न मनःस्थितिले बालकको भविष्य निर्माणमा महत्त्व राख्छ ।

पुंसवन संस्कार –गर्भस्थ शिशुको बौद्धिक एवं मानसिक विकासका लागि गर्भ रहेको दोस्रो या तेस्रो महीनामा गरिने द्वितीय संस्कार हो । गोभिलीय र सौनक गृहसुत्रमा पनि यज्ञ गर्ने विधान अनि बरको कोमल पात र गुर्जो मसिनो पिसेर कपडामा छानेर गर्भिणीको दाया नाकमा सुघाउनु पर्दछ । गुर्जो वा ब्राही पनि खाने बिधान पनि छ ।

सीमन्तोन्नयन संस्कार – सीमन्त शब्दको अर्थ मतिष्क र उन्नयन शब्दको अर्थ विकास हो । आमालाई प्रसन्नचित्त राख्न, गर्भस्थ शिशु स्थिर उत्कृष्ट अनि सौभाग्य सम्पन्न होस् भनेर  गर्भाधानको आठौं महिनामा गरिने तृतीय संस्कार हो यो । यसका लागि यज्ञमा खिचडीको आहुती दिनु पर्दछ । बचेको खिचडीमा घ्यु हालेर गर्भिणीले आफ्नो प्रतिबिम्ब हेर्नु पर्दछ । त्यस समय पतिले स्त्रिलाई सोध्नु–“ किं पश्यसि ?” र गर्भिणीले उत्तर दिनु पर्दछ –“प्रजां पश्यामि” । बचेको खिचडी गर्भिणीले खानु पर्दछ ।

जातकर्म संस्कार– नवजात शिशु बुद्धिमान, बलवान, स्वस्थ एवं दीर्घजीवी होस् भन्ने कामनाले गरिने चतुर्थ संस्कार हो यो । शिशु जन्मेपछि यज्ञ गर्ने अनि घ्यु र मह मिलाएर सुन, चाँदीको सलाकाले त्यो मिश्रण लिएर बालकको जीब्रोमा “ओम” अक्षर लेखेर उसको दाया कानमा “वेदोऽसीति”– ‘तेरो गुप्त नाम वेद हो’ भनेर सुनाउनु पर्दछ । घ्यु र मह ६ पटक चटाउनु पर्दछ । प्रसुता स्त्रीको शिर तिर एउटा कलश पानीले भरेर १० रातसम्म राख्नु पर्दछ ।

नामकरण संस्कार– जन्मेको ११औ वा कुनै सुखमय दिनमा शिशुलाई सुन्दर र सार्थक नाम राख्न गरिने पाँचौ संस्कार हो । बालकको नाम जोडा अक्षर र बालीकाको नाम बिजोड अक्षरमा राख्नु भन्ने मनुस्मृतीको वचन छ ।

निष्क्रमण संस्कार–शिशुको चार महिनामा पहिलो पटक घरबाट बाहिर भ्रमणमा लैजान प्रारम्भ गर्नु पर्दछ । यसले गर्दा शिशुमा संसारको वातावरणसँग भिज्ने क्षमताको विकास हुन्छ ।

अन्नप्राशन संस्कार – आमाको दुधसँगै सुपाच्य पौष्टिक अन्न पनि शिशुलाई छैठौ महिनामा दिन शुरु गर्नु पर्दछ । घ्यु , दही र मह मिसाएको भातले यज्ञमा आहुति दिनु पर्दछ । बचेको भात शिशुलाई चटाउनु पर्दछ।

चूड़ाकर्म (मुण्डन) संस्कार– शिशुको बौद्धिक, मानसिक एवं शारीरिक विकासको कामनाले जन्मपछि पहिला वा तेस्रो वर्षमा गर्भका मलिन कपाल खौरने आठौं संस्कार हो यो ।

कर्णवेध संस्कार– यो शिशुलाई शारीरिक व्याधिहरु हर्निया आदिबाट रक्षाको कामनाले गरिने संस्कार हो । जुन जन्मबाट तेस्रो वा पाँचौ वर्षमा गर्नु राम्रो हो भनेर आश्वालायन गृहसूत्रको वचन छ ।

यज्ञोपवीत (उपनयन) संस्कार– उप को अर्थ नजिक अनि नयनको अर्थ प्राप्त गर्नु वा हुनु हो । यसमा गुरुले यज्ञोपवीत धारण गराएर दीक्षा दिन्छन्  अनि  ऋषीऋण, पितृऋण र देवऋणबाट बाहिर उऋण हुन प्रेरणा दिन्छन् ।

वेदारम्भ संस्कार– पहिले बालकलाई उपनयन गरेकै दिन वा भोलिपल्ट गुरुकुलमा प्रवेश दिइन्थ्यो । गुरुको नजिक बसेर श्रेष्ठ शिक्षा दीक्षा ग्रहण गर्दै गायत्री मन्त्रदेखि पुरै वेदको अध्ययन गर्नका लागी नियम धारण गर्न लगाइन्थ्यो । वैदिक समयमा धनी गरीब सबैलाई समान निस्शुल्क शिक्षाको अवसर प्रदान गरिन्थ्यो ।

समावर्तन संस्कार– शिक्षा प्राप्त गरिसकेपछि विद्यालयले विदाई दिनु जसलाई आज ‘दीक्षान्त समारोह’ भनिन्छ । पहिले विवाह गरेर गृहस्थाश्रम धारण गर्ने उद्देश्यले विद्यालय छोडेर घर आउनुलाई  समावर्तन भनिन्थ्यो ।

विवाह संस्कार– गृहस्थाश्रममा प्रवेश गर्न गुण कर्म स्वभाव मिल्ने स्त्री र पुरुषको सम्बन्ध गराउनु यसको उद्देश्य हो । यसमा पुरुष २५ वर्ष पुगेको आफ्नो गोत्रभन्दा बाहिर र माताको तर्फको ६ पीढी बाहिरकी  युवती १६ वर्ष पुगेको हुनुपर्ने विधान छ  । यो संस्कारको उद्देश्य  गृहस्थ धर्म र कार्यहरु पालन गर्दै सन्तानोत्पत्ति गर्नु अनि उचित शिक्षा दिक्षा दिएर सुयोग्य नागरिक तयार पार्नु हो ।

वानप्रस्थ संस्कार– सन्तानहरु स्वावलम्बी भएर छोराको पनि छोरा भए पश्चात ५० वर्ष नाघेपछि समाज र देश सेवाका लागि घरबाट निस्कनु हो । आजको सन्दर्भमा भन्नुपर्दा अवकाशपछि ईश्वर भक्ति गर्दै परोपकारको काममा लाग्नु हो ।

संन्यास संस्कार–सांसारिक भोग आदिको भावनाहरुको र सर्वस्व त्याग गरेर, पूर्ण वैरागी बनेर, परोपकारका लागि हिडने दीक्षा लिनु तथा ब्रह्ममा लीन भएर मोक्षप्राप्तिका  लागि प्रयत्न गर्नु हो । आजको सन्दर्भमा परोपकारको काम गर्दै मन, वचन, कर्मले परमात्माप्रति समर्पित भएर मोक्षको कामना लिनु नै संन्यासी बन्नु हो ।

अन्त्येष्टि संस्कार– मृत शरीरलाई दाहकर्म अन्यले गर्दछन् । यो नै अन्तिम संस्कार हो र यसपछि कुनै विधि गर्नु पर्दैन ।

प्रत्येक संस्कारले मानिसलाई नैतिक, आदर्श जीवन बिताउँदै जीवनको उच्चतामा  पुग्न प्रेरित गर्छ । तसर्थ संस्कार गराउँदा आफू  पनि शुद्ध रहनु पर्छ र पुरोहित पनि शुद्ध आचरणको व्यक्तिलाई लिनुपर्छ । अन्यथा संस्कारले दिनु पर्ने प्रतिफल प्राप्त हुँदैन भन्ने शास्त्रीय विधान छ ।

वर्तमान सभ्यताको विकाससँगै हामीकहाँ केही नयाँ संस्कार पनि थपिएका छन् । मानिसले जन्म दिवस र विवाह दिवसको संस्कार मनाउन थालेका छन् । यद्यपि त्यसमा केही कुरा हामीकहाँ प्रचलित परम्परा अनुसार छैन।  उदाहरणका लागि जन्म दिवसमा बत्ती निभाउने युरोपियन परम्परा छ जुन हाम्रो संस्कार अनुसार अशुभ मानिन्छ । यस्ता केही कुरामा भने विचार गर्नु आवश्यक हुन्छ। संस्कारसँग मानिसको पहिचान गाँसिएको हुन्छ तसर्थ संस्कार पालन गर्दा चिनारी नगुमोस् भन्नेमा विवेक पुर्याउनु पर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment