Comments Add Comment

खेर जाने बिजुली भारत र बंगलादेशमा बेच्न प्राधिकरणलाई पूर्वस्वीकृति

६ साउन, काठमाडौं । नेपालमा उत्पादन भएर खपत हुन नसक्ने अतिरिक्त विद्युत अब विदेशमा बेच्न सकिने भएको छ । आन्तरिक उत्पादनमा कमी आई अपुग हुने विद्युत छिमेकी मुलुक भारत र बंगालादेशतर्फ पठाउन नेपाल विद्युत प्राधिकरणलाई सरकारले पूर्व स्वीकृति दिएको छ ।

मन्त्रिपरिषद बैठकले भारत र बंगालादेशवाट बोलपत्र वा डे-अहेड, टर्म-अहेड लगायत अल्पकालीन, मध्यकालीन वा दीर्घकालीन रुपमा विक्री वा खरिद गर्न प्राधिकरणलाई पूर्वस्वीकृति प्रदान गने निर्णय गरेको हो ।

तर, यस्तो विद्युत खरिद तथा बिक्रीका सम्पूर्ण चरणहरूको विद्युतीय अभिलेख राख्नुपर्ने शर्त छ ।

लकडाउनपछि घटेको विद्युत् खपतको दर पुरानै अवस्थामा फर्किएपछि अब वर्षामा बढी हुने विजुली के गर्ने भन्ने चिन्ता प्राधिकरणलाई छ ।

अहिले नेपालमा पिक आवरमा करिब १२ सय मेगावाट बिजुलीको माग छ । पिक आवरमा केही घण्टा एक सय मेगावाट बिजुली भारतबाटै आयात हुँदैछ । अन्य समयमा नेपालकै विजुली माग धान्न पर्याप्त छ । रातको समयमा माग कम हुँदा आयोजना बन्द गरेर बस्दा विजुली खेर गएर प्राधिरकणलाई ठूलो घाटा निम्तिने अवस्था छ ।

उत्पादित विद्युत किन्नैपर्ने गरी निजी क्षत्रेका आयोजनासँग खरिद सम्झौता गरेको प्राधिरकणलाई रातको समयमा आफ्ना ठूला आयोजनाहरु भने बन्द गर्नुपर्ने अवस्था आउने आकलन छ । यसले समभावित लाभ गुम्ने खतरा छ ।

प्राधिकरणले विजुली खेर नजाओस् भनेर अहिलेबाट नै कुलेखानी चलाउन पनि थालेको छ । वर्षामा जलासय भरिएर बिजुली खेर जाने जोखिम भएकाले कुलेखानी चलाउन थालिएको हो । कुलेखानीमा अहिले पोहोरको यस्तै अवधिकोभन्दा पानीको सतहमाथि छ ।

प्राधिकरणका अनुसार आगामी असोजसम्म रातको सयममा पनि विद्युत् खेर जाने अवस्था नआउने आकलन छ । त्यसपछि भने खोलमा पानीको बहाब राम्रो हुने भएकाले सबै आयोजना सञ्चालन हुँदा रातको समयमा विजुली खेर जानेछ ।

पोहोर कुलेखानी भरिएपछि आयोजनाहरू चलाएर करिब ८० करोड बराबरको बिजुली भारतमा  पठाइएको थियो ।

लकडाउनकै कारणा यो वर्ष भने बिहारमा गतवर्षको जस्तो उच्चदरको बिजुलीको खपत छैन । जसका कारण बिहारबाट धेरै हुने बिजुली किन्ने अवस्था कम छ । त्यसैले सरकारले त्यहाँको प्रतिस्पर्धी बजारमा नै जाने गरी प्राधिकरणलाई पूर्वस्वीकृति दिएको हो ।

असोजसम्म भारतको डे-अहेड र टर्म अहेड मार्केटमा जान ऊर्जा मन्त्रालय र प्राधिकरणले पहल गरिरहेको छ । भारतको एनभीभीएनले यस्ता मार्केट सञ्चालन गर्छ, जसमार्फत आफूलाई बढी हुने बिजुलीबारे जानकारी राखेर बोलकबोलमा उच्च मूल्य दिने कम्पनी वा  संस्थालाई बेच्न सकिन्छ ।

तर, भारत र नेपालले यस्तो बजारमा नेपालाई प्रवेश दिने गरी ठोस सम्झौता गरेका छैनन् । यदि बोलकबोल गरेर बेचिने भारतीय बिजुली बजारमा नेपालको बिजुलीले प्रवेश पाए रातको सयममा खेर जाने विद्युत् प्रतिस्पर्धी मूल्यमा बेच्न सकिने छ ।

गत वर्षदेखि नै नेपालले यो मार्केटमा आफूलाई प्रवेश दिन भारतसँग आग्रह गर्दै आएको छ । तर भारतले अनौपचारिक सहमत भए पनि औपचारिक सहमतिमा हस्ताक्षर हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment