Comments Add Comment

‘कोरोना संक्रमितको वास्तविक संख्या १२ गुणा बढी हुनसक्छ’

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या विश्वभर बढिरहेको छ । अहिलेसम्म विश्वभर एक करोड ४० लाखभन्दा धेरै मानिसहरुमा कोरोना भाइरसको संक्रमण देखिएको छ । उनीहरु मध्ये ६ लाखभन्दा धेरै मानिसको ज्यान गएको छ ।

तर मासाचुएट्स इन्स्टिच्युट्स अफ टेक्नोलोजी (एमआईटी) का शोधकर्ताले गरेको अध्ययनको प्रतिवेदनले भने विश्वभर वास्तविक संक्रमितको संख्या धेरै गुणा बढी रहेको देखाएको छ । वास्तविक कोरोना भाइरसका संक्रमितको संख्या अहिले पुष्टि भएको संख्याको तुलनामा करिब १२ गुणा बढी हुन सक्ने अध्ययनले देखिएको एमआईटीका प्राध्यापक जोन स्टरम्यानले बताए ।

कोरोना भाइरसबाट मृत्यु हुनेको वास्तविक संख्या पनि अहिलेसम्म आधिकारिक रुपमा घोषणा गरिएको भन्दा बढी भएको आंकलन छ । स्टरम्यानका अनुसार कोरोनाका कारण मृत्यु हुनेको वास्तविक संख्या पनि अहिले घोषणा गरिएको भन्दा ५० प्रतिशत बढी छ ।

यो निष्कर्षमा पुग्नुभन्दा पहिला शोधकर्ताहरुले संक्रामक रोगसम्बन्धी विभिन्न स्ट्याण्डर्ड मोडलहरुको अध्ययन गरेका थिए । चार महिनासम्म ८४ मुलुकमा गरिएको अनुसन्धानको क्रममा उनीहरुले मुलुकको परीक्षण, कोरोना भाइरसबाट भएको मृत्यु र कोरोना भाइरस नियन्त्रण कार्यविधिको अध्ययन गरेका थिए ।

यो अध्ययनले अन्य केही डेटा पनि दिएको थियो, जसमध्येको एक प्रतिव्यक्ति संक्रमितको आकलन हो । यो मोडलले कोरोना भाइरसबाट प्रभावित बनेका कुनै पनि मुलुकको प्रतिव्यक्ति संक्रमितको आकलन पनि गर्नसक्छ ।

यसअनुसार प्रतिव्यक्ति संक्रमितको सबैभन्दा शीर्ष स्थानमा इक्वेडर छ । इक्वेडरमा अहिलेसम्म समग्र जनसंख्याको १८ प्रतिशत मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै अन्य ल्याटिन अमेरिकी क्षेत्रमा पेरुमा १६ दशमलव ६ प्रतिशत मानिस संक्रमित भएका छन् भने चिलीमा १५ दशमलव ५ प्रतिशत मानिस संक्रमित छन् । मेक्सिकोमा पनि आठ दशमलव ८ प्रतिशत मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

इरानमा अहिलेसम्म सात दशमलव ९ प्रतिशत मानिसमा कोरोना भाइरसको संक्रमण देखिँदा कतारमा पनि सात दशमलव ३ प्रतिशत मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रतिव्यक्ति संक्रमतिको सूचीमा त्यसपछि स्पेन, अमेरिका, बेलायत र नेदरल्याण्ड्स देखिएका छन् ।

गत मार्चमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड–१९) लाई अन्तर्राष्ट्रिय महामारी घोषणा गरेको थियो । त्यससँगै विश्वभरका मुलुकहरुले कोरोना भाइरसको परीक्षणमा जोड दिएका थिए । अहिले विश्वभर उल्लेख्य मात्रामा कोरोना परीक्षण पनि उल्लेख्य संख्यामा हुन थालेको छ । तर, संक्रमण भने निरन्तर बढिरहेको छ ।

यसरी कोरोना भाइरसको संक्रमण बढ्नुमा राम्रोसँग महामारीलाई नियन्त्रण गर्न नसक्नु रहेको शोधकर्ताहरुले बताएका छन् । प्राध्यापक स्टरम्यानका अनुसार एकपटक कोरोना भाइरस नियन्त्रणभन्दा बाहिर गए त्यो निकै गम्भीर समस्या बन्न सक्ने बताउँछन् । त्यसैले यसभन्दा अगाडि के भयो भन्नुभन्दा पनि अबका दिनमा कोरोना महामारी नियन्त्रणबाहिर नजाओस् भन्नेमा विशेष ध्यान दिनु नै बुद्धिमानी हुने उनको भनाइ छ ।

तर विश्वका धेरै मुलुकमा कोरोना नियन्त्रणभन्दा बहिर गइसकेको छ र जसका कारण कोरोनाबाट संक्रमित हुनेसँगै ज्यान गुमाउनेको संख्या पनि बढेको प्राध्यापक स्टरम्यानले बताएका छन् ।

स्रोत : अलजजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment