+
+

‘कृषिको नेतृत्व लिन हामी तयार थियौँ’

अनिल उपाध्याय, कार्यकारी अधिकृत, कृषि विकास बैंक

रोयल आचार्य रोयल आचार्य
२०७७ साउन ८ गते २०:४५

८ साउन, काठमाडौं । आर्थिक वर्ष २०७७/०७८ का लागि केन्द्रीय बैंकले तय गरेको मौद्रिक व्यवस्थाप्रति प्रायः सबै क्षेत्र खुसी देखिए । मौद्रिक नीतिबाट निजी क्षेत्र उत्साहित देखिएको छ । ब्याजदर क्यापको विषयमा लघुवित्त क्षेत्रले चित्त दुखाए पनि अन्य सबै क्षेत्र खुसी देखिएका छन् ।

मौद्रिक नीतिले कृषि क्षेत्रलाई अझ उत्साहित पारेको छ । कृषि क्षेत्रमा थप वित्तीय साधन परिचालन गर्न कृषि ऋणपत्र जारी गर्नेदेखि किसान क्रेडिट कार्डसम्मको व्यवस्था गरिने मौद्रिक नीतिमा उल्लेख छ । यसका लागि कृषि विकास बैंकलाई नेतृत्व तोकेको छ ।

मुलुकमा सञ्चालित २७ वाणिज्य बैंकमध्ये तीन वटामा सरकारको लगानी छ । कृषिलाई प्राथमिकता दिँदै आएकाले कृषि विकास बैंक राष्ट्र बैंकको नजरमा परेको हो । २७ वाणिज्य बैंकमध्ये कृषि क्षेत्रमा सबभन्दा बढी लगानी गर्ने यही बैंक हो ।

कूल कर्जाको १० प्रतिशत कृषिमा गर्नुपर्ने व्यवस्था भए पनि अधिकांश बैंकले त्यति नपुर्याएर राष्ट्र बैंकको कारबाही भोगिरहेका थिए ।

यसपालि १० प्रतिशतलाई बढाएर १५ प्रतिशत पुर्याएर त्यसको अगुवाइ गर्न कृषि विकास बैंकलाई भनिएको छ । यस बैंकका तालिम केन्द्रमार्फत कृषि तालिम विस्तार गर्न आवश्यक संस्थागत एवम् संरचनागत व्यवस्था मिलाइने मौद्रिक नीतिमा उल्लेख छ ।

मौद्रिक नीतिले दिएको जिम्मेवारीयो बैंकले पूरा गर्न सक्ला त ? आन्तरिक तयारी कस्तो छ ? बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल उपाध्याय केन्द्रीय बैंकले दिएको जिम्मेवारी पूरा गर्न तयार अवस्थामा रहेको बताउँछन् ।

‘हाम्रो नीति नै ‘कृषिलाई नछोड्ने, अरुलाई जोड्ने’ भएकाले यो जिम्मेवारी पूरा गर्न हामीलाई समस्या छैन’, उनी भन्छन्, ‘नेतृत्व लिन आन्त्रिक गृहकार्य पनि भइरहेको छ ।’

कृषि विकास बैंक सरकारी स्वामित्वको चौथो बैंकको रुपमा २०२४ माघमा स्थापना भएको थियो । देशको अर्थतन्त्रको प्रमुख आधार कृषि क्षेत्रको विकासका लागि ग्रामीण कृषक तथा विपन्न वर्गको सुविधालाई ध्यानमा राखेर यो बैंक स्थापना गरिएको थियो ।

तर पछिल्लो समय बैंकले कृषि क्षेत्रमा प्रवाह गर्ने कर्जाको मात्रा घट्दै गएको देखिन्छ ।

नेपाल सरकारको बहुमत सेयर भएको कृषि बिकास बैंकले धेरै पहिले चलाएको एउटा किसानमुखी कार्यक्रमको निकै चर्चा भएको थियो । अति दुर्गम क्षेत्रका जनताको आर्थिक–सामाजिक विकासका लागि कृषि विकास बैंकले २०३२ सालमा ल्याएको त्यो विशेष कार्यक्रम थियो– ‘साना किसान विकास आयोजना ।’

२०५४ सालसम्ममा ७५ जिल्लाको ६५२ गाविसमा ४२२ वटा साना किसान विकास आयोजना विस्तार भएको थियो । त्यसमा दुई लाख १० हजारभन्दा बढी विपन्न परिवारमा ६ अर्ब ४९ करोड कर्जा लगानी गरियो ।

त्यसबाट गरिबीको रेखामुनि रहेका सीमान्तकृत जनताको आर्थिक–सामाजिक सुधारमा ठूलो सहयोग पुग्यो । त्यो कार्यक्रमले राष्ट्रिय– अन्तर्राष्ट्रियस्तरमा कृषि बिकास बैंकको अलग पहिचान कायम गरेको थियो ।

मौद्रिक नीतिले कृषि क्षेत्रका लागि अगुवाको जिम्मेवारी दिएपछि बैंक खुसी छ । सीईओ उपाध्याय केन्द्रीय बैंकले दिएको जिम्मेवारी पूरा गर्न बैंक तयार रहेको बताउँछन् ।

‘गत ५३–५४ वर्षमा कृषि क्षेत्रमा हाम्रै बैंकको पोर्टफोलियो बढी छ,’ उनी भन्छन्, ‘हामी साना किसानहरुमा स–साना कर्जा लगानी गर्छौं, कृषिलाई प्राथमिकता दिएको इतिहास भएका कारण पनि यो काम गर्न अरुभन्दा हामी नै बढी सक्षम छौं ।’

यो जिम्मेवारीलाई सबैको विश्वास जित्ने गरी पूरा गर्ने उनले बताए । प्रस्तुत छ, सीईओ उपाध्यायको धारणाः

नेपालको कृषि क्षेत्रमा कृषि विकास बैंकको ५३–५४ वर्षको आफ्नै इतिहास छ । कृषिमा हामीले स–सानो परिमाणमा धेरै लगानी गर्यौं । यसकारण भोल्युम ठूलो देखिएन । अन्य व्यवसायिक कर्जाको भोल्यूम ठूलो, संख्या कम छ ।

हाम्रो मिसन, भिजन पनि कृषिलाई व्यवसायीकरण गर्ने हो । मौद्रिक नीतिले हामीलाई उत्साहित बनाएको छ । हामी कृषिलाई उच्च प्राथमिकतामा राखेर सबैको विस्वास जित्ने गरी काम गर्ने छौं ।

कृषिको व्यवसायीकरणका लागि हामी थप लगानी गर्ने छौं । मौद्रिक नीतिले कृषि ऋणपत्रको व्यवस्था गरेको छ । कृषिमा अपेक्षाकृत लगानी वृद्धि नभैरहेको अवस्थामा आएको यो व्यवस्थाले कृषि विकास बैंकलाई स्रोत र अन्य बैंकलाई लगानी कम गरेवाफत जरिवाना तिर्नु नपर्ने सुविधा दिएको छ । यसलाई हामीले चुनौती भित्रको अवसरका रुपमा लिएका छौं ।

अब हामी कृषिमा लगानी गर्ने मास्टर प्लान बनाउँछौं । हामी बण्ड जारी गर्छौं, अरु बैंकले खरिद गर्छन् । यस्तो अभ्यास विदेशमा पनि छ । ऊर्जामा पनि यस्तै नीति ल्याउने भन्ने छ । सबै बैंकले कृषिमा राम्रोसँग काम गर्ने वातावरण नहुन सक्छ । त्यसकारण हामीलाई जिम्मेवारी दिइएको हो । अरु बैंक हाम्रो बण्ड किनेर जरिवानाबाट जोगिने छन् ।

कृषि विकास बैंकलाई स्रोत र अन्य बैंकलाई लगानी कम गरेवाफत जरिवाना तिर्नु नपर्ने सुविधा दिएको छ । यसलाई हामीले चुनौती भित्रको अवसरका रुपमा लिएका छौं ।

कृषिलाई यसरी प्राथमिकतामा राख्दा हामी अरु बिजनेसलाई पनि उत्तिकै महत्वका साथ अघि बढाउँछौं । कृषि विकास बैंकसँग कृषिको विशेषज्ञता, जनशक्ति र तालिम केन्द्रको अनुभव पनि छ । हामी कामलाई बोझका रुपमा नभइ चुनौती र अवसरका रुपमा लिएर सफल हुनेछौं ।

कोही व्यक्ति उद्यमशीलताको बाटोमा हुनुहुन्छ भने कर्जा माग्नु अघि केही ज्ञान हासिल गर्नुस् । ऋण लिन कुन क्षेत्रमा ज्ञान छ, त्यसलाई अघि सार्नुपर्छ । त्यसो गरियो भने बैंकलाई ऋण दिन र ऋणीलाई उपलब्धि हासिल गर्न सहज हुन्छ ।

अब निर्वाहमुखी होइन, व्यवसायीक कृषिका लागि काम गर्ने हो । यसका लागि गाउँ–गाउँमा कृषि क्रान्तिको माहोल बनाउनु पर्नेछ ।

अहिले किसान क्रेडिट कार्ड पनि हाम्रै बैंकको माध्यमबाट जारी गर्ने भनिएको छ । किसानको आवश्यकता कहाँबाट परिपूर्ति हुन्छ भन्ने कुरालाई ध्यानमा राखेर कार्ड तयार पारिएको छ ।

किसानका लागि मल, बिउ, उपकरण किन्ने, आफ्ना उत्पादन बेच्ने, कामदारलाई भुक्तानी दिने, कृषि सम्बन्धी जानकारी लिनेलगायतका आधारभूत विषयहरु कार्डमा समावेश गरिनेछन् ।

कर्जा लिएका ग्राहकहरुका लागि भुक्तानीको सीमा तोकिएको हुन्छ । त्यस्तो खाता पनि कार्डसँग जोडिनेछ । बिक्रेताहरु कहाँ पनि खातामा रकम जम्मा भएको सूचना पुग्नेछ । कुनै किसानलाई तत्कालै रकम चाहिएमा नजिकैको बैंक वा एटिएमबाट सोही कार्डका आधारमा नगद भुक्तानीको सुबिधा हुनेछ ।

एटिएम भन्नेबित्तिकै भिसा र मास्टर कार्डको कुरा आउँछ । त्यसको लागत र अन्तर्राष्ट्रिय आबद्धताको कुरा पनि आउँछ । किसान क्रेडिट कार्ड चाहिँ हामी आफैंले तयार पार्ने छुट्टै कार्ड हो ।

यो कार्ड बोक्ने किसानहरुलाई अतिरिक्त आर्थिक भार पार्दैनौं । पाँच प्रतिशतको सहुलियतपूर्ण कर्जा, ठूला कर्जा, साना कर्जा सबैलाई समावेश गर्छौं । सेवा शुल्क पनि राष्ट्र बैंकले तोकेबमोजिम मात्रै हुनेछ ।

किसान क्रेडिट कार्ड लिने विषयमा एउटा निर्देशिका तयार पारिहेका छौं । किसानले बैंकमा खाता खोल्दा वा ऋणका लागि आवेदन दिँदा नै क्रेडिट कार्डका लागि पनि आवेदन दिनुपर्छ । मोबाइल, इन्टरनेट बैंकिङ सुबिधा लिएजसरी नै क्रेडिट कार्ड पनि लिन सकिन्छ ।

कृषि विकास बैंकको निक्षेपमा ८५ प्रतिशत हिस्सा साना निक्षेपकर्ताको छ । साना भन्नेबित्तिकै ग्रामिण परिवेशका आम नागरिक पर्छन् । हाम्रा ८८ प्रतिशत कर्जा पनि १५ लाखभन्दा कमका छन् । अर्थात्, हामी आम नागरिक, ग्रामिण किसान, घरेलु उद्यमी, मजदुरहरुको अत्यधिक सहभागीता रहेको बैंक हौं ।

कोभिड–१९ बीचमा पनि हामी राम्रो प्रतिफल दिन सक्नेछौं । हामीले कृषिको पनि उद्यमशिल क्षेत्रमा लगानी गर्ने हो । यसले बैंकलाई व्यवसायीक रुपमा राम्रो गर्छ ।

मौद्रिक नीतिले नगद र बोनस सेयरको सीमा तोकेको छ । वित्तीय विवरणले वितरणयोग्य नाफा कति हुन्छ भन्ने देखाउँछ । यद्यपि, हामी कोरोना महामारीका बीच पनि राम्रो प्रतिफल दिन सफल हुनेछौं । बैंक, निक्षेपकर्ता, ऋणी र राज्य प्रणाली पनि सफल हुने गरी प्रतिफल दिनेछौं ।

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?