Comments Add Comment

सुर्खेतको सिटी बसपार्क भदौदेखि सञ्चालनमा आउने

९ साउन, सुर्खेत । निर्माण सम्पन्न भएको एक वर्षपछि वीरेन्द्रनगरको सिटी बसपार्क सञ्चालनमा आउने भएको छ । नगरपालिका र व्यवसायीबीचको विवाद मिलेपछि बसपार्क सञ्चालमा आउन लागेको हो ।

आगामी भदौ एक गतेदेखि बसपार्क सञ्चालन गर्ने तयारी थालिएको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिए । ‘व्यवसायी र नगरपालिकाबीच केही विवाद हुँदा उहाँहरुले उच्च अदालतलमा मुद्दा हाल्नु भएको थियो । फैसला भइसकेको छ,’ उनले भने, ‘अब भदौ १ गतेदेखि सञ्चालन हुन्छ ।’

बसपार्क सञ्चालनका लागि गत मंसिर १६ गते नगरपालिकाले टेण्डर आह्वान गरेको थियो । बसपार्कमा पहिलेदेखि नै व्यवसाय गर्दै आएका ५४ जना व्यवसायीले उच्च अदालतमा गत पुस १३ गते आफूहरूलाई प्राथमिकता नदिएर पूर्वसहमति विपरीत टेण्डर गरिएको भन्दै रिट दायर गरेका थिए । नगरपालिका र व्यवसायीबीच पुरानो बसपार्कमा व्यापार गरिरहेकालाई बसपार्क निर्माणपछि व्यापार–व्यवसाय गर्न दिने सहमति भएको थियो । तर, सहमति कार्यान्वयन नभएपछि उनीहरूले अदालतमा रिट दायर गरेका हुन् ।

उक्त रिटमाथि गत फागुन अन्तिमतिर उच्च अदालतले सुनाइ गर्दै प्रतिस्पर्धा गराउने तर पुराना व्यवसायीलाई प्राथमिकता दिनु भनी सुनुवइ गरेपछि विवाद सुुल्झिएको हो । यो सुनुवाइसँगै बसपार्क सञ्चालन गर्न बाटो खुलेको हो ।

बसपार्क सञ्चालन गर्ने ठेक्का पीआर कन्स्ट्रक्सनले पाएको छ । अब उक्त कन्स्ट्रक्सनसँग सम्झौता गरी बसपार्क सञ्चालनको सम्पूर्ण जिम्मा दिने तयारी गरिएको नगरपालिकाले जनाएको छ । उक्त कम्पनीले बसपार्क सञ्चालन गरे वापत मासिक २७ लाख ५६ हजार एक सय रूपैयाँ नगरपालिकालाई बुझाउनुुपर्ने छ ।

बसपार्कमा ५४ सटर, ग्यारेज, टिकट काउन्टर, शौचालय, पाकिङस्थल निर्माण गरिएको छ । बसपार्क सात करोड ४४ लाख लागतमा निर्माण भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment