Comments Add Comment

वीरगञ्जमा आइसोलेसनको अभाव, संक्रमितको चार दिनसम्म सोधीखोजी नै भएन

प्रतिनिधिमूलक तस्‍वीर

१२ साउन, वीरगञ्ज । चैत २९ गते तीन जना भारतीय जमातीमा कोरोना भाइरसको संक्रमण देखिएपछि हटस्पट बनेको वीरगञ्जमा कोभिड–१९ नियन्त्रण उन्मुख थियो । क्वारेन्टिनस्थलहरु रित्तिन थालेका थिए, संक्रमण पुष्टि भएर अस्पताल तथा आइसोलेसन सेन्टरमा पुगेकाहरु अधिकांश घर फर्किएका थिए ।

तर साउन पहिलो साताबाट एकाएक पर्साको वीरगञ्जमा कोरोना भाइरसका संक्रमित मात्र बढेका छैनन्, केही संक्रमितको मृत्युसमेत भइसकेको छ । संक्रमित बढेसँगै आइसोलेसनमा बेडको समेत अभाव हुन थालेको छ ।

घटना १ : वीरगज उपमहानगरपालिका–१३ का ३० बर्षीय पुरुषमा ८ साउनमा कोरोना संक्रमण पुष्टि भयो । साउन १ गते संक्रमण पुष्टि भएकी १८ बर्षीया किशोरीको कन्ट्याक्ट ट्रेसिङका क्रममा ६ साउनमा उनको स्वाब संकलन गरिएको थियो । ८ गते संक्रमण पुष्टि भएपछि उनलाई आइसोलेसनमा लगिएको छैन ।

उनले होम क्वारेन्टिनमा बस्न अनुमति मागेका होइनन् । होम आइसोलेसनमा राख्न पनि मापदण्डअनुसार व्यवस्था भए नभएको अनुगमन गर्नुपर्छ । तर उनको स्वास्थ्य अवस्था र बसाई व्यवस्थापनबारे कसैले सोधीखोजी गरेको छैन । भन्छन्, ‘घरमा छुट्टै कोठामा बसेको छु, स्वास्थ्यमा समस्या छैन ।’

घटना २ : वीरगञ्ज–१२ मुर्लीका १६ बर्षीय युवकमा पनि साउन ८ गते कोरोना संक्रमण पुष्टि भयो । उनका बुबालाई कोरोना संक्रमण पुष्टि भएपछि उनीसहित परिवारका १३ सदस्यलाई त्रिजुद्ध मावि क्वारेन्टिनमा राखिएको थियो । र, उनीहरुमध्ये ४ जनामा कोरोना देखियो । तर आइसोलेसनमा लगिएन । त्रिजुद्ध क्वारेन्टिनकै अर्को विल्डिङमा उनीसहित ८ जनालाई राखिएको छ ।

एउटा कोठामा दुई जनालाई राखिएको छ । ‘संक्रमित र क्वारेन्टिनमा बसेकाहरुले प्रयोग गर्ने शौचालय एउटै छ । बाहिर खुल्ला ठाउँमा नुहाउनुपर्छ’ उनले भने, ‘महिलाका लागि नुहाउने ठाउँको समेत व्यवस्था छैन ।’

स्वास्थ्य कार्यालय पर्साका अनुसार त्रिजुद्धमा १४ जना महिलासहित ३६ जनालाई राखिएको छ । जसमा ट्रेसिङमा परेका १५ जना र भारत तथा अन्य मुलुकबाट आएका २१ जना छन् ।

संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका वीरगञ्ज–११ का १९ बर्षीय अर्का युवक आइसोलेसनमा बत्ती, पंखालगायतको व्यवस्थापन स्वयंले गर्नुपरेको बताउँछन् । उनले अघि भने ‘तागतिलो खानेकुरा, औषधि केही छैन । यो भन्दा राम्रो त घरमै हुन्थ्यो ।’

घटना ३ : ११ साउनमा बागवाना हेल्थ पोष्टको वर्थिङ सेन्टरमा कार्यरत एक स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भयो । २ बर्षीया छोरीसहित उनलाई बढनिहार क्वारेन्टिनमा राखिएको छ । उनीसँगै संक्रमण पुष्टि भएका अन्य ४ जना स्वास्थ्यकर्मी त्यही छन् । तर स्थानीयले उनीहरुलाई त्यहाँ राखेकोमा विरोध गरेका छन् । पर्सागढी नगरपालिका स्वास्थ्य शाखा प्रमुख जन स्वास्थ्य अधिकृत योगेन्द्र पञ्जियार भन्छन्, ‘स्थानीयले क्वारेन्टिनसम्म ठीक छ, संक्रमितलाई राख्न दिदैनौं भनेर विरोध गरिरहेका छन् । समस्या समाधानका लागि प्रमुख प्रशासकीय अधिकृतसमेतको उपस्थितिमा छलफल गरिरहेका छौं ।’

सरोकारवाला निकायबीच छैन समन्वय

पछिल्लो समय पर्सामा कोरोना भाइरसबाट संक्रमित हुनेसँगै मृत्यु हुनेको संख्या बढेको छ । समुदायस्तरमा कोरोना संक्रमण फैलिसकेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

तर संक्रमितहरुको उचित व्यवस्थापन हुन सकेको छैन । नारायणी अस्पताल अन्तरगत गण्डक कोरोना विषेश अस्पताल बनाइएको छ । त्यहाँ २ वटा भेन्टिलेटर, १० वटा आईसीयू छ । तर अस्पतालमा अहिले ५७ जना उपचाररत रहेको अस्पतालका कोअर्डिनेटर डा‍. उदयनारायण सिंह बताउँछन् ।

उनीहरुमध्ये अधिकांशमा लक्षण छ र ४ जना आईसीयूमा छन् । संक्रमण पुष्टि भएकमध्ये झण्डै ४० जनालाई आइसोलेसनमा राख्न नसकिएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

‘स्वास्थ्यकर्मीसमेत संक्रमित छन्, कतिपयमा लक्षण छ । उनीहरुलाई बाहिर राख्नु जोखिमपूर्ण हुनसक्छ’ डा‍. सिंह भन्छन्, ‘होम आइसोलेसनमा राख्दा संक्रमितले मापदण्ड पालना गरेनन् भने परिवारका अरु सदस्यलाई संक्रमण सर्नसक्छ । मापदण्ड पालना गरे नगरेको कसले अनुगमन गर्ने हो टुंगो छैन । संक्रमितको स्वास्थ्यमा समस्या आयो भने के गर्ने भन्ने पनि प्रष्ट व्यवस्था भएको छैन ।’

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्याय आइसोलेसन व्यवस्थापनमा सरोकारवाला निकायहरु गम्भीर नदेखिएको बताउँछन् । ‘संघ, प्रदेश र स्थानीय सरकार छन्, जिल्ला संकट व्यवस्थापन केन्द्र छ । आइसोलेसन व्यवस्थापन गर्ने जिम्मेवारी कसको हो ?’ उनले भने

जोखिम बढिरहेको संकेत मिलेको भन्दै उनले ५० शैयाको आइसोलेसनले नपुग्ने बताए । ‘आईसीयू, भेन्टिलेटर थप्नुपर्छ । प्राइभेट अस्पताल लिने वा मेडिकल कलेजलाई आइसोलेसन सेन्टर बनाउने हो, ठोस निर्णयमा जानुपर्छ’ उनले भनेका छन् ।

सबै व्यवस्थापन गर्ने जिम्मेवारी नारायणी अस्पतालको नभएको र गर्न पनि नसक्ने उनी बताउँछन् । कसले के गर्‍यो, गरेन भनेर आरोप प्रत्यारोप लगाउने बेला हैन, तर काम त हुनुपर्‍यो नि’ उनले भनेका छन् ।

वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले पनि आइसोलेसन व्यवस्थापनको जिम्मेवारी महानगरको मात्रै नभएको बताउँछन् ।

‘महानगरकै खर्चमा आइसोलेसन सञ्चालनमा छ, जिल्ला भरका मात्र होइन, अन्य जिल्लाका संक्रमित पनि पठाइन्छ । केन्द्र र प्रदेश सरकारले सहयोग गरिरहेको छैन’ उनले भने, ‘लक्षण भएका सक्रमितलाई कोरोना अस्पतालमा, लक्षण नभएकालाई सिद्धार्थ माविमा सेमी आइसोलेसनमा वा घरमै उचित व्यवस्था भएकालाई घरमै बस्न दिने तयारी भइरहेको छ ।’ साथै नेशनल मेडिकल कलेज वा नारायणी अस्पताललाई आइसोलेसन बनाउने प्रमुख जिल्ला अधिकारी नेतृत्वको संकट व्यवस्थापन केन्द्रले निर्णय लिनुपर्ने उनी बताउँछन् ।

सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत आइसोलेसनको समस्या समाधानका लागि आवश्यक रणनीति लिने बताउँछन् । ‘संक्रमित बढेसँगै आइसोलेसन व्यवस्थापनको समस्या देखिएको छ । हामी छिट्टै ठोस कदम चाल्छौं ’ उनले भने ।

उनका अनुसार प्रशासनले उद्योग, प्रतिष्ठान र कलकारखानामा संक्रमित भेटिए त्यही आइसोलेसनको व्यवस्था मिलाउन वा पैसा तिरेर होटलमा आइसोलेटेड गर्न, घरमै मापदण्ड पुग्ने भए होम आइसोलेसनमै बस्न दिने रणनीति बन्दैछ ।

लक्षण नभएका संक्रमितलाई सिद्धार्थ माविमा राख्ने भन्दै उनले भने, ‘सबै ठाउँमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्थानीय प्रशासनको प्रत्यक्ष निगरानी हुन्छ । मापदण्ड पुगे नपुगेको हेरेर मात्रै होम आइसोलेसनका लागि अनुमति दिने नदिने निर्णय गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment