+
+
Shares

विष्णुराज आत्रेय ‘लाटो साथी’ : न बाँच्दा हल्लाखल्ला, न मर्दा

दिवाकर प्याकुरेल दिवाकर प्याकुरेल
२०७७ साउन १८ गते १०:२७

अपुष्ट समाचारलाई समेत छोटो समयमै संसारभर फैलाउन ‘कुख्यात’ छन् सामाजिक सञ्जाल । त्यस्तै अपुष्ट रूपमा फेसबुक र ट्विटरका फाट्टफुट्ट पोस्टहरूमा गत साउन तीन गते बिहानै आयो विष्णुराज आत्रेय ‘लाटो साथी’को निधनको समाचार । तर परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सायद् त्यो समाचार दुई दिनपछि मात्र थाहा पाए, उनले आफ्नो फेसबुक र ट्विटरमा आत्रेयको निधनप्रति समवेदना अभिव्यक्त गर्दा साउन पाँचको बिहान भइसकेको थियो ।

नेपाली, संस्कृत र अवधी साहित्वका विद्वान् आत्रेयको निधनको समाचार बाहिरिएको दश दिन पूरा भइसक्यो, तर फाट्टफुट्ट समवेदना सन्देश अझै पनि देखिँदैछन् सामाजिक सञ्जालमा । सोमबार मात्र साहित्यकार अभि सुवेदीले आत्रेयलाई आफ्नो सम्धी (भानिजका ससुरा)का रूपमा चिनाउँदै फेसबुकमा लामो स्ट्याटस लेखे । अर्थात् सन्देह रहेन कि लाटो साथीको निधनको समाचार ‘भाइरल’ भएनछ, नत्र आफ्नै सम्धीलाई त्यो खबर थाहा पाउन दशदश दिन लाग्दैनथ्यो ।

हुन त लाटो साथी भाइरल हुनका लागि कहिल्यै बाँचेनन् । नामैले ‘लाटो’ उनको हल्लाखल्लामा रुचि भएन । चार दशकभन्दा बढी समय त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयका कक्षा चहारे, तर सधैँ शान्तै रहे । तीन दर्जनभन्दा बढी कृति लेखे, अधिकांश नेपाली भाषामा, केहीकेही संस्कृत, हिन्दी र अवधीमा पनि । नेपाल प्रज्ञा प्रतिष्ठानमा पनि आफ्नो जीवनका केही उर्जावान् वर्ष बिताए । तर न त विश्वविद्यालय न त प्रज्ञा प्रतिष्ठान, कसैलाई पनि उनले आफ्नो मृत्युप्रति ध्यानाकृष्ट गराउन सकेनन् । दश दिन हुँदा पनि यी संस्थाबाट उनको निधनप्रति कुनै औपचारिक विज्ञप्ति आएनन् ।

डा. आत्रेयसँग यस पङ्क्तिकारले एक अन्तर्वार्ता गरेको थियो, करिब चार वर्ष अगाडि । विविध कारणले त्यस बेला प्रकाशन हुन नसकेको उक्त अन्तर्वार्तामा पनि आत्रेयको शान्त छवि स्पष्ट मुखरित भएको थियो । नाना विषयमा उनका अनेकन गुनासा थिए, तर कतै पनि विद्रोहको भाव थिएन । चित्तदुखाइ थियो, सुधारको कामना थियो, तर अरूप्रति आक्षेप र आक्रोश थिएन ।

विशेषतः नेपालको लुम्बिनी क्षेत्रको सांस्कृतिक पहिचान विस्तार गर्नका लागि आत्रेय सक्रिय थिए । संवत् १९९९मा कपिलवस्तुमा जन्मिएका उनले लुम्बिनी क्षेत्रलाई गौतम बुद्धको जन्मस्थल मात्र नभई ऐतिहासिक संस्कृत व्याकरणकार पाणिनिको जन्मस्थलका रूपमा चिनाउने उनको चाहना थियो । पाणिनिको जन्म र जीवनका सम्बन्धमा प्राप्त तथ्य र किंवदन्तीलाई आफ्नो कल्पनासँग जोडेर उनले ‘पाणिनि’ नामको उपन्यास नै प्रकाशित गरेका थिए । (यसलाई अङ्ग्रेजीमा उल्था गर्नका लागि उनले पङ्क्तिकारलाई आग्रह गर्दा पङ्क्तिकार समय अभावको कारण देखाउँदै पन्छिएकाले नै उनीसँगको भेटघाट बिस्तारै पातलिएको थियो ।)

उनको परिवार संस्कृत भाषामा कुराकानी गर्ने परिवार भनेर प्रसिद्ध थियो । आत्रेयकी छोरी अलका आत्रेय केही दशक अगाडि रेडियो नेपालमा संस्कृत भाषाको समाचार वाचन गर्थिन्, जब कि त्यस समयमा समग्र आम सञ्चार माध्यममा नै महिलाको सहभागिता न्यूनतम थियो, झन् संस्कृत त पुरुष बाहुनहरूकै मात्र पेवाझैँ मानिन्थ्यो । संवत् २०७३मा उक्त अन्तर्वार्ता लिन जाँदा पनि दुई-तीन वर्षकी आफ्नी नातिनीलाई आत्रेयले संस्कृत सिकाउँदै गरेको यस पङ्क्तिकारले देखेको हो ।

लुम्बिनी प्रदेशको पहाडी जिल्ला गुल्मीको अमरभूमि, आर्यगाउँको अर्याल वंशका सन्तति हुन् आत्रेय । “त्यस गाउँमा लामो समय अगाडिदेखि संस्कृत शिक्षा अध्ययन र अध्यापनको परम्परा रहेको छ । आजका दिनसम्म पनि यस गाउँमा संस्कृत शिक्षाको प्रभाव गहिरो छ,” संस्कृत भाषा र साहित्यप्रतिको आफ्नो लगावबारे आत्रेयले अन्तर्वार्तामा भनेका थिए ।

आत्रेयका हजुरबा रश्मिराज अर्याल पनि संस्कृत साहित्यका विद्वान् थिए । कविशिरोमणि लेखनाथ पौड्यालका सहपाठी अर्याल पछि व्यावहारिक कारणले कपिलवस्तुको तौलिहवामा बसाइँ सरेका थिए । तौलिहवामा अर्यालले एउटा विद्यालय र एउटा पुस्तकालय स्थापना गरेका थिए, जसलाई आत्रेय परिवार नेपालकै पहिलो सार्वजनिक पुस्तकालय भएको दाबी गर्छ ।

आत्रेयका अनुसार उनको परिवारमा कम्तीमा शिक्षाका हकमा छोराछोरीबीच भेदभाव थिएन, दुवैले सानैदेखि घरभित्रै संस्कृत पढ्ने परम्परा थियो । त्यसै अनुसार आफ्ना दिदीहरूलाई पछ्याउँदै उनले आठ वर्षको उमेरसम्म घरै बसेर पाणिनि व्याकरण, अमरकोष, मूल रामायण र रघुवंश पढे । त्यसपछि हजुरबाको करबलले उनी अर्घाखाँचीमा महापण्डित दधिराम मरासिनीसँग पढ्न गए ।

अर्घाखाँचीमा आत्रेयका घनिष्ट साथी थिए, पूर्व कम्युनिस्ट नेता तथा साहित्यकार मोदनाथ प्रश्रित । “हामी मौका मिलाएर आँप खानका लागि बेसीतिर झर्थ्यौं । हरेक प्रतिपदा र अष्टमीमा हाम्रो बिदा हुन्थ्यो । एक पटक लगातार दुई दिन अष्टमी परेकाले हामीलाई फुर्सद भयो । हामी पहिलो दिनको रात छात्रावास नै आएनौँ । भोलिपल्ट आएपछि त हामीलाई छात्रावासबाट निकालियो,” आत्रेयले सम्झेका थिए, “मोदनाथलाई त खासै समस्या भएन । उहाँका बुबा घनश्याम पौड्याल पनि हाम्रै गुरु हुनुहुन्थ्यो । उहाँ त्यहाँकै स्थानीय हुनुभएकाले खान बस्नको पनि तनाव भएन । जति दुःख पाउनु छ, आखिर मैले नै ब्यहोर्नुपर्ने भयो । फेरि मैले आफ्नो समस्या अरू कसैलाई भन्न पनि सकिँन । आखिर गल्ती मेरै थियो र मैले आफ्नो समस्या सुनाउँदा म अझ गाली खान्थेँ ।”

तर विस्तारै आत्रेय र प्रश्रित दुवैले आफूलाई सुधार्दै गए, पढाइलाई तिखार्दै गए । चार वर्षजति त्यहाँ पढ्दा आत्रेय पुराण वाचक बने । केही वर्षपछि वनारस गए ।

तर आत्रेयले आफूलाई पण्डित्याइँको साँघुरो घेरामा सीमित राखेनन् । बरु उल्टो, वनारस बसाइले उनलाई आधुनिक समाज र संस्कृति बुझ्न सहयोग गर्यो । “वनारस बस्दा हिन्दी सिनेमा पनि खुबै हेरियो । सिनेमा हेर्दा हिन्दी अध्ययनमा पनि सहयोग पुग्थ्यो । सिनेमाको लत नै बस्यो एक हिसाबले,” उनले पङ्क्तिकारलाई भनेका थिए, “सिनेमासँगको मेरो मित्रता पछिसम्म रह्यो । धेरैलाई यो कुरा थाहा छैन कि मैले ‘मनको बाँध’, ‘सिन्दूर’ र ‘भानुभक्त’ चलचित्रमा अभिनय पनि गरेँ ।”

जीवनका पछिल्ला समय भने आत्रेय नेपाली साहित्य, सङ्गीत र सिनेमा विकृतितर्फ उन्मुख भएको भन्दै चिन्ता व्यक्त गर्न थालेका थिए । एक पटक यस पङ्क्तिकार उनलाई भेट्न काठमाडौँ, पुरानो बानेश्वरस्थित उनको निवास जाँदा उनकी नातिनी ‘तिमी पिरतीको छाता ओढाऊ न’ भन्ने गीत गुनगुनाउँदै थिइन् । “यो उमेरमा अब के पिरती, के पिरतीको छाता ! गाउन हुने, नहुने सबै गाउँछन्, देखाउन हुने, नहुने सबै देखाउँछन्,” उनले भनेका थिए, “यस्ता गीत र दृश्यले हाम्रा बालबालिकामा कस्तो प्रभाव पर्ला ?”

समग्रमा शिक्षा प्रणाली नै पैसामुखी भएकोमा पनि उनको चिन्ता थियो । “आज हामी शिक्षाका नाममा जे अभ्यास गर्दै छौँ, त्यो त खालि जीवनको गुजारा चलाउनसिकाउने तालिमजस्तो मात्र भएको छ,” उनी भन्थे, “आजको शिक्षाले हामीलाई ज्ञान होइन, ज्यान पाल्ने कला मात्र दिएको छ । हामीलाई ज्ञानी होइन, व्यावसायिक बनाएको छ । यो त तालिम पो भयो त, शिक्षा कसरी भयो ?”

“ज्ञान तथा विद्या भनेको कुरा त सानो झिल्कोबाट सुरु भएर आफैँभित्रबाट विस्तारित हुनुपर्ने हो । यस्तो विस्तार अन्तर्मुखी हुन्छ । अर्थात्, ज्ञान प्राप्त गर्न चाहने व्यक्तिभित्रै ज्ञान विस्तारित भइरहेको हुनुपर्छ । ज्ञानले हामीसँग भएको आन्तरिक उर्जालाई प्रकाशित गरिदिनुपर्छ । यस क्रममा विश्वबन्धुत्व, सहअस्तित्व, एकताजस्ता सकारात्मक भावनाको प्रवर्धन हुनुपर्छ,” उनको प्रश्न थियो, “के आजको हाम्रो शिक्षा त्यस्तो छ त ?”

हाल प्राथमिकतामा परेको अङ्ग्रेजी भाषा सहितको आधुनिक शिक्षा सँगसँगै संस्कृत शिक्षा र परम्परागत ज्ञानलाई पनि नेपालले समानान्तर किसिमले अगाडि बढाउनुपर्ने उनको मत थियो । “हरेक भाषा आफैँमा ज्ञान र सूचनाको अथाह स्रोत हो । तर भाषा मात्र सिकाएर भने केही पनि हुँदैन । भाषा सँगसँगै त्यस भाषासँग सम्बन्धित सभ्यताका मूल्य मान्यता र ज्ञानलाई पनि सिकाउन सक्नुपर्छ,” उनी भन्थे, “संस्कृत पनि पढौँ, अङ्ग्रेजी पनि पढौँ । सकेसम्म धेरैभन्दा धेरै भाषा पढौँ । तर सबै कुरा राम्रोसँग पढौँ । राम्रा कुरा पढौँ । आफू राम्रो बनौँ ।”

आत्रेयको यो आवाज आफैँमा सशक्त थियो, तर उनले यसलाई विरोधको स्वरका रूपमा चर्काएनन् । सम्भवतः उनलाई हल्लाखल्लाभन्दा शान्ति नै प्रिय रह्यो । उनको जीवनमा बाँचुन्जेल जुन नियम लागू भयो, मृत्युमा पनि अपवाद असम्भव थियो ।

तस्वीर : स्वर्गीय आत्रेयकै फेसबुकबाट

लेखक
दिवाकर प्याकुरेल

प्याकुरेल अनलाइनखबर अंग्रेजी संस्करणका संयोजक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?