Comments Add Comment

नेकपामा पाइलटको विवाद, यात्रुहरु त्रस्त

म ताक्छु मुडो बन्चरो ताक्छ घुँडो ! जनताको चिन्ता दाल भात तिर , नेताको लडाई पद , प्रतिस्ठा प्राप्तितिर । केही समयदेखि दुईतिहाईको सरकारको नेतृत्व गरिरहेको नेकपाभित्र अनपेक्षितरुपमा किचलो भइरहेको छ। निर्वाचनमा जनतालाई के आस्वासन दिइएको थियो ? जनताले कस्तो सपना बुनेका थिए ? अहिले के भैरहेको छ ? बढो अनौठो भेरहेको छ। जनता खिन्न भएका छन्। बुद्धिजीबी अवाक भएका छन्।

अहिले उनीहरुभित्रको कलह केही मत्थर देखिए पनि यो अस्थायी युद्धविराम मात्र हो भन्ने विगतदेखिका गतिविधि अध्ययन गर्दा थाहा लाग्छ। कमसेकम आगामी महाधिवेशनसम्म यो किचलो भुसको आगोझैँ भित्रभित्रै सल्किरहने देखिन्छ । कमसेकम महाधिवेशनबाट द्वैध नेतृत्वको हल नभएसम्म यो अन्यौल कायमै रहने छ ।

निर्वानचनअघि नेकपा माओवादी र नेकपा एमालेका नेताहरुले पार्टीलाई एकीकरण गरेर मुलुकमा स्थिर सरकार दिने, अभुतपूर्व विकास गर्ने उद्घोष गरे । पार्टीको एकीकरणको सम्पूर्ण प्रक्रिया ६ महिनाभित्र टुंग्याउने भने। यस कुराले पार्टी पंक्ति उत्साहित भयो।

लडेर आएको माओवादी र अनुभवबाट खारिएको एमाले मिलेपछि ठूलो उर्जाशील शक्ति तयार हुन्छ र अब चाँडै देशको कायापलट हुन्छ भनेर सर्वसाधारण जनतामा समेत एक किसिमको तरंग आयो। अलग-अलग दुई पार्टी एकीकरण गर्नुपर्ने भएकाले बीचवीचमा आउन सक्ने दरारहरुलाई मिलाउन भनेर महाधिवेशनसम्म दुई अध्यक्षको अवधारणा बनाइयो । एकजनाले सरकार चलाउनेतर्फ बढी ध्यान दिने र अर्कोले पार्टी सञ्चालनमा बढी ध्यान पुर्याउन भनेर जिम्मेवारी पनि तोकियो।

एकीकरण को जुवा काँधमा कसैले जबर्जस्ती भिराइदिएको होइन। दुई भिन्न धारबाट आएका ठूला पार्टीहरुवीचको एकीकरण सजिलो छैन भन्ने तपाईहरुले बुझ्ने कुरा हो । एकीकरणको क्रममा कुनै अप्ठ्याराहरु आए भने कसरी हल गर्ने भन्ने विषयमा गम्भीरतापूर्वक गृहकार्य हुनु पर्थ्यो।

त्यसैको अभावमा अहिले यो विवाद आएको देखिन्छ।विडम्वना कस्तो रह्यो भने न त पार्टी राम्ररी चल्न सक्यो, न त सरकार लोकप्रिय ढंगले चल्न सक्यो। विपक्षीभन्दा एक कदम अघि बढेर आफ्नै पार्टीले उल्टै सरकारको खुट्टा तानिरह्यो। पार्टी एकीकरणको कार्य प्राविधिकरुपमा पूरा गर्न मात्र पनि दुई बर्ष लाग्यो ।

परस्पर विस्वासविनाको घिउ र तरबार साटासाट गर्ने ब्यापारीहरु जस्तो लेनदेनले र एकीकरणको घोषणाले मात्र यो पूरा हुँदैन । एकीकृत गर्नु भनेको पार्टीलाई ब्यवहारिक र भावानात्मरुपमै एकमना बनाउनु हो। यसभन्दा पनि पर लामो समयदेखि द्वन्दमा फसेको र वीचको संक्रमणकालमा निराश भएर तितर–वितर भएकालाई समेट्नु पनि हो र रोजगारीको शिलशिलामा विदेशतर्फ गएको शक्तिलाईसमेत आकर्षित गर्नु हो ।

त्यसरी नै नयाँ द्वन्द्वतर्फ उन्मुख हुँदै गएको सम्पूर्ण शक्तिलाई मूलधारमा ल्याई सबै खालका द्वन्द्वबाट देशलाई मुक्त गराई स्थिर शासन प्रणाली स्थापना गर्नु पनि हो । अझ महत्वपूर्ण कुरा त के हो भने नेपालमा केही हुँदैन, जुन जोगी आए पनि कानै चिरेका भनेर मुर्झाएका जनतालाई नमुना शासन देखाएर उत्साहित गराउनु पनि थियो ।

यी कुराहरुलाई आत्मसात गरेर फराकिलो र जिम्मेवारिबोधसाथ चलेका भए, साना तिना मनमुटाब सहज किनारा लाग्थे । सबैकुरा बिस्तारै आफैं मिल्दै जान्थ्यो । राष्ट्रले पनि एउटा दिशा पाउँथ्यो, जनताले नेताहरुको जयजयकार गर्थे।

पार्टीभित्रैबाट शुरुका दिनदेखि नै सरकारको विरोध शुरु भयो। सरकार सञ्चालकले पनि पार्टीलाई नटेर्ने काम भयो। यसबाट पार्टीको एकीकरण प्रक्रिया र सरकारको काम दुवैमा अवरोध पुग्यो । शुरुमा पार्टीलाई डबल इन्जिनको जहाज भन्दै दुईजना अध्यक्ष बनाएर उडाउने भनिएकोमा दुई पाइलटको विवादले झन्डै–झन्डै सबैलाई स्तब्ध गराउँदै दुर्घटनाग्रस्त गराउन लागिएको थियो। बेलैमा यात्रुहरुले थाहा पाएर द्वन्द्व मिलाउने प्रयत्न गरेका कारण अहिले जोगिएको छ ।

स्थिर सरकारका लागि केपी ओलीलाई पाँच बर्ष शासन सत्ता योग्यतासाथ सञ्चालन गर्न जनताले निर्वाचनमार्फत आदेश दिएका हुन् । यसमा अरु कसैले आँखा लगाउनु राम्रो होइन। पुष्पकमल दाहाललाई पनि धेरै वरिष्ठहरुलाई छोडेर त्यति ठूलो नेकपाको अध्यक्ष पदमा आसिन गराएर धेरै सम्मान मिलेको छ । दुवै मिलेर अगाडि बढ्न पार्टी पंक्तिबाट मेन्डेट पनि पाएको हो। दुबैले आफ्नो पगरी जोगाउनुपर्छ। सरकारले राम्रो काम गर्न नसकोस् वा पार्टीले, यसको दोष दुवै नेतामा जान्छ।तर, अझै विमान उडिरहेको छ । उनीहरुको विवादले यात्रुहरु दुई पक्षमा बाँडिएर तानातान र हानाहान भएमा कुनै पनि बेला दुर्घटना ग्रस्त नहोला भन्न सकिंदैन।

सरकार र पार्टीभित्र कसको पक्षमा छौ कित्ता क्लियर गर भनेको पनि सुनियो। यसरी  दुई भागमा बाँडिँदा सिंगो पार्टी पंक्तिलाई कसरी नेतृत्व गर्न सकिन्छ ? अनि एकीकारण कार्य कसरी पूरा हुन्छ ?

दुवै एउटा संकटपूर्ण घडी पार गरेर यहाँ आइपुगेका भुक्तभोगी नेता हुन् । उमेरले पनि अल्लारे छैनन्। सिङ्ग जुरो पलाउन बाँकी छैन। यो उमेरमा बाबु हो ! झगडा नगर भनेर कोही सम्झाउन आउँदैन। त्यत्रो उचाइ बनाएकाहरुले आफ्नो जिम्मेवारी कसरी पूरा गर्ने र उचाइ कसरी जोगाउने भन्ने आफैंले सोच्ने हो। अर्ति गर्ने घृस्टता गर्नु पनि मूर्खता हुन्छ। तर, उनीहरुको योग्यता र कामसँग जनता र मुलुकको भविश्य गाँसिएको हुँदा थाहा पाउनेहरुले मुख लुकाएर बस्नु पनि राम्रो होइन। त्यसैले उनीहरुलाई एउटा चेतनाचाहिं दिनु उचित होला।

त्यो के भने यसरी नै आपसमा लडिरहने हो भने पुन मुसीको भवः हुनुपर्ने दिन निकै नजिकिनेछ । त्यतिबेला अनि, वा, तर ले काम चल्ने छैन। असल भएर सम्मानित हुने कि दाउपेच गरेर पछारिने रोज्नुपर्ने बेला आएको छ।

यो कस्तो घडी हो, वृद्ध नेताहरुले बुझ्नुपर्छ। जनतासँग कबुल गरे अनुसार आफ्ना नीति र कार्यक्रम लागु गर्ने सवाल छ । के कस्ता नीति निर्माण गर्ने र कसरी कार्यान्वयन गर्ने भन्नेमा केन्द्रित हुनुपर्ने समय हो। सरकारका के-के कमी कमजोरी छन्, के-के सच्याउनु आवश्यक छ, आत्मसमीक्षा गर्ने, जनताका अरु के कस्ता आवस्यकता, समस्या, अपेक्षा वा गुनासाहरु छन् भनेर खोजी गर्ने र हल गर्न प्रयत्न गर्नुपर्ने बेला हो। अहिले रहेका कमजोरीहरुलाई बोकी बोकी हामी समृद्धितर्फ लम्कन सक्दैनौं ।

कमजोरी सच्याएपछि नेतृत्व पनि पुजनीय हुन्छ। आपसी बिस्वास र सद्भाव बढ्छ। नयाँ उर्जा र सम्मान पाइन्छ। देशले पनि अग्रगति लिन्छ। एउटाले छोड् कुर्सी, म बस्छु भन्ने अनि अर्काले लु आइज त भनेर पाखुरा सुर्केर समय बिताउने हो भने आफू भन्दा बलियो अर्को आएर पछार्ने छ ।

विधि प्रक्रिया र आपसी विस्वासबाट सरकार र पार्टी चलाइनुपर्छ। एक अर्कालाई मर्यादा नगर्दा र जिम्मेवारीवोध नगर्दा दुबैको भविश्य संकटमा पर्छ । तपसिलका र असमयका सनाईबाट जनता मन्त्रमुग्ध हुँदैनन्। अब कुनै नयाँ जादुगरीतिर लाग्ने गल्ती गर्नु हुँदैन र दाउपेचमा माथापच्ची गर्नु युक्तिसंगत छैन । असलियतबाट मात्र नेतृत्व लोकप्रिय हुन्छ।

कसलाई थाहा छैन र दुवै अध्यक्षहरुका सबल र दुर्बल पक्षहरु ? अनि सरकार र पार्टीका कमजोरी र राम्रा पक्ष छन् भन्ने पनि सिंगो जनतालाई राम्ररी थाहा छ । देशमा बिकास निर्माणका धेरै सकारात्मक कामहरु पनि भएका छन् साथै केही भ्रस्टाचारका कुरा पनि उठेको छ। सरकार र पार्टी संचालन दुबैमा कमजोरी देखिएका छन्। ती तपाईहरुले लुकाएर वा कसैले अनदेखा गरेर हराउँदैन। सच्याएर मात्र ठीक हुन्छ। अहिलेको समाज खुला छ, खोकेको मात्र होइन । मनभित्रको ढुकढुकी समेत सबैले प्रस्ट सुनिरहेका हुन्छन। यो दुवै नेताले बुझ्नु पर्छ ।

सरकार र पार्टीभित्र कसको पक्षमा छौ कित्ता क्लियर गर भनेको पनि सुनियो। यसरी दुई भागमा बाँडिँदा सिंगो पार्टी पंक्तिलाई कसरी नेतृत्व गर्न सकिन्छ ? अनि एकीकरण कार्य कसरी पूरा हुन्छ ? यसबाट त सत्ता सञ्चालनमा पुरानै किनबेचको घिनलाग्दो खेल प्रारम्भ हुन्छ। यस्ता गतिविधिले असल कार्यकर्ता र शुभेच्छुकहरु पलायन हुन्छ । जनता निरास हुन्छन् । आन्दोलनलाई ठूलो नोक्सानी पुग्छ र उपलब्धि गुम्छन् ।

स्थायी गुटले धेरै पार्टीहरु ध्वस्त भएको बृद्ध नेताहरुले जीवनभरि देखे भोगेको कुरा हो। गुट सञ्चालन गर्ने राजनेताहरुलाई आफन्त, भर गरेकाहरु र आफ्ना वारिपरिकाले बद्नाम बनाएर डुबाएको घटना पनि जानकारी नै छ। तसर्थ शीर्षस्थ बृद्ध नेताहरुबाट नयाँ पुस्ताले राम्रो राजनीतिक संस्कृति पाउनुपर्छ । नेताभित्रै लोभ पाप र द्वन्द्व हुर्कियो भने नयाँ पुस्तामा पनि यो रोग पुर्खौलीजस्तो भएर सल्किन सक्छ । यो प्रवृत्तिले बुढी मरिन् भन्दा पनि घरमा काल पल्केला भन्ने डर हुन जान्छ ।

सहज ढंगले पार्टी नेतृत्व हस्तान्तरण कसरी सम्भब हुन्छ ? पार्टी र सरकारले एक अर्काको सिमा नाघेर सुक्ष्म व्यस्थापनमा हस्तक्षेप गर्न नसक्ने थिति कसरी बसाउन सकिन्छ ? नेतृत्व परिबर्तन भए पछि पनि पार्टी भित्र कसरि हार्दिकता कायम राखिरहन सकिन्छ ? तपाइहरुको चिन्ता र चासो यसैमा हुनुपर्छ।

अब यो उमेरमा दुबैले पार्टीको सक्रिय नेतृत्व परित्याग गरी स्वच्छ ढंगले संरक्षकको रुपमा रहेर सल्लाह र सुझाब दिने भूमिकामा बसी सम्मानित जीवन जिउनु राम्रो हुन्छ। त्यतिबेला तपाईंहरुको स्थान सम्मानित हुन्छ। कथंकदाचित तपाईंहरुको यस्तै हठले हजारौं शहीदहरुको त्याग र बलिदानबाट प्राप्त लोकतन्त्र बिचैमा दुर्घटनाग्रस्त भयो भने त्यसको दोष अरुमा जाँदैन । र, तपाईंहरुको जीवनपछि पनि आत्माले शान्ति पाउने छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment