Comments Add Comment

इन्टेरियर डिजाइनरको सुझाव : ‘फाल्तु’ सामानबाटै सजाउन सकिन्छ घरलाई

गाउँघरमा धान सुकाउन प्रयोग हुने मान्द्रोको प्रयोग अहिले  हुन छाडेको छ । तर सोही मान्द्रोलाई नयाँ हिसाबले प्रयोग नट क्राफ्टले एउटा बस्ने मुडा र चिया टेबुल जस्ता संरचना तयार पारेको छ । त्यस्तै, ढकियाको चलन हराउँदै गयो भनेर सोही कच्चा सामग्रीबाट नयाँ सिपको विकास गरी घर सजाउन सकिन्छ भन्ने उदाहरण नट क्राफ्टले दिएको छ ।

बजारमा घरको आन्तरिक पाटोको डिजाइन गर्ने धेरै इन्टेरियर डिजाइनरहरु छन् । जाडोमा एउटा डिजाइन भएको कुनै घरमा गर्मी महिनामा जाँदा हामीले अर्कै डिजाइन देख्न सक्छौं । घरको राखनधरानलाई ध्यान दिन नसक्दा कहिले लाखौं खर्च गरेर पनि घर कुरुप देखिने गर्छ भने कहिले सस्तैमा सुन्दर घरको डिजाइन कोर्न सकिन्छ ।

भोग इन्टेरियरकी सञ्चालिका कृति श्रेष्ठ उपाध्याय घरको डिजाइनको लागि टाउको दुखाउनु पर्ने अवस्था नरहेको बताउँछिन् । यसको लागि पैसाभन्दा धेरै व्यवस्थापनको ज्ञान हुनुपर्ने उनी बताउँछिन् ।

घर डिजाइनको क्रममा जाडो महिनामा प्रायः घरभित्र कुनै पनि बोटबिरुवा राख्ने गरिँदैन । तर यसलाई पनि नक्कली बिरुवाहरुबाट सजाउन सकिने बताउँछिन्, उपाध्याय ।

इन्टेरियर डिजाइनसँग प्रत्यक्ष साइनो नभए पनि नट क्राफ्टले पनि हामीले परम्परादेखि नै चलाउँदै आएको सामानलाई नयाँ मोडलमा सजाएर राख्ने सामग्री बनाउने गरेको छ ।

इन्टेरियर भनेको नै व्यवस्थापन रहेकोले यसलाई व्यवस्थित बनाउने तर्फ ध्यान दिनुपर्ने उपाध्यायको तर्क छ ।

गर्मी महिनामा कफी पिउने टेबल जुन ठाउँमा राखिन्छ त्यो जाडो महिनाको लागि उपयुक्त नहुन सक्छ । घरभित्रै पनि जाडो महिनामा जुन किसिमको पर्दा र कार्पेट राख्ने गरिन्छ त्यो गर्मीको लागि उपयुक्त हुँदैन । त्यसैले यस्तो सजिलै स्थानान्तरण हुने खालको सामग्री व्यवस्थापनमा ध्यान दिनुपर्ने उनको तर्क छ ।

घरको डिजाइन महँगो पर्ने भएकोले एकपटक गरिसकेपछि सकेसम्म चेन्ज गर्न कोही पनि चाहँदैनन् । तर गर्मी र जाडो, बर्खा र हिउँद जस्ता मौसममा भने घरमा रहेका केही सामग्रीहरु परिवर्तन गर्नुपर्ने खालको नै चाहिने इन्टेरियर डिजाइनरहरु बताउँछन् ।

पर्दालाई सोफासँग जोडेर राख्ने या नराख्ने भन्ने कुरा समेत मौसम अनुसार फरक हुने गर्छ । त्यस्तै, हामीहरु आफ्नो शयन कक्षमा राखेका सबै सामग्रीलाई सधैं परिवर्तन गर्दैनौं । तर शयन कक्षमा रहेका सामग्रीमध्ये पनि कार्पेट, पर्दा, डसना जस्ता सामग्रीलाई समेत समय समयमा परिवर्तन गरिरहनु पर्ने इन्टेरियर डिजाइनरहरु बताउँछन् ।

उपाध्याय उदाहरण दिँदै भन्छिन् ‘गर्मी महिना छ भने हामीले पर्दा र अरु ठाउँमा सेतो कपडा प्रयोगमा ल्याउन सक्छौं । जाडोमा त्यसले काम नगर्न सक्छ । त्यसैले इन्टेरियर डिजाइनको क्रममा यस्ता विषयमा समेत ध्यान दिने गरिन्छ ।

सस्तोमा कसरी घरलाई सुन्दर बनाउने ?

उपाध्याय इन्टेरियर डिजाइन महँगो हुन्छ भन्ने भान धेरैमा परेकोले घरमै पाइने सामानबाट समेत घरलाई सुन्दर बनाउन सकिने सुझाव दिन्छिन्।

आफूले अहिले घरमा नै रहेको सामग्रीलाई प्रयोग गरेर घरलाई सुन्दर बनाउने गरी डिजाइन तयार पार्ने गरेको उनी बताउँछिन् ।

उनी घरमा रहेको कुनै पनि सामान काम नलाग्ने खालको नहुने बताउँछिन् । घरको स्टोरमा रहेको पुरानो दराजलाई उठाएर यसको प्रयोग गर्न सकिन्छ । बेकार भएर एउटा कुनामा फालिएको फूलदानी र एण्टिक पिसेजहरुलाई सफा गरेर थोरै मात्रामा डेकोरेट गरेर हामी यसलाई सजाउन सक्छौं ।

भलै कसैले पनि पुरानो बाक्सा प्रयोग गर्र्न रुचाउँदैनन् । तर, यो बाहिर फालेर पनि यसको पुनः प्रयोगमा ल्याउन सकिँदैन भने यसलाई नयाँ लुक्स लिएर हामी प्रयोगमा ल्याउन सक्छौं । पुरानो बक्सामा पेन्टिङ गरेर हामी त्यसलाई एउटा घरको कुनामा सजाउन सक्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment