Comments Add Comment

महामारीमा वायुसेवा कम्पनीले गुमाए ६ अर्ब, प्राधिकरणलाई साढे ४ अर्बको नोक्सानी

२६ साउन, काठमाडौं । कोरोना भाइरसको महामारी सुरु भएपछि चैत २०७६ यता हवाई यातायात प्रभावित छ । उद्धार उडानका क्रममा अन्तर्राष्ट्रिय उडान भएपनि त्यसले व्यवसायिक मुनाफा दिन भने सकेको छैन ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार चैतदेखि असार २०७६ अर्थातः आर्थिक वर्ष २०७६/७७ मा मात्र वायुसेवा कम्पनीले ६ अर्ब रुपैयाँ बराबरको आम्दानी गुमाएका छन् । जसले गर्दा प्राधिकरणको आम्दानीमा समेत उत्तिकै नोक्सानी भएको छ ।

प्राधिकरणका अनुसार यो वर्ष अनुमान गरिएको भन्दा साढे ४ अर्ब रुपैयाँको नोक्सानी भइसकेको छ । नियमित आम्दानीतर्फ प्राधिकरणले यस आवमा ८ अर्ब ३३ करोड आम्दानीको प्रक्षेपण गरेको थियो । तर, प्रगति ५५ प्रतिशत मात्र रहृयो ।

अर्थातः ४ अर्ब ६१ करोड रुपैयाँमात्र आय भएको छ । यो आवमा हरेक यात्रुबाट उठाइने विमानस्थल शूल्कबाट प्राधिकरणले २ अर्ब २१ करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरेको थियो ।

तर,  मूख्य पर्यटकीय सिजनमै उडान-अवतरण बन्द भएपछि आम्दानी गुमेको हो । प्राधिकरणका अनुसार यो आवमा विमानस्थल शूल्कमार्फत १ अर्ब ३४ करोड मात्र आम्दानी भएको छ ।

यो रकम प्रक्षेपित रकमभन्दा ३९ प्रतिशत कम हो । समग्रमा प्राधिकरणको आम्दानी ४३ प्रतिशतले कम भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

धरासायी बन्यो उद्योग

प्राधिरकरणले कोरोना भाइरसको प्रभावका कारण पर्यटन र हवाई उद्योग धरासायी जस्तै बन्न पुगेको बताएको छ । देशभर लागू भएको लकडाउनको समयमा विकास आयोजनाको काम रोकिएपछि त्यसले आयोजना कार्यान्वयनको समयावधि पर धकेलेको छ ।

प्राधिकरणका अनुसार यो वर्ष गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक निर्माण सक्ने योजना थियो ।

तर, लकडाउनका कारण यो आयोजना चालु आवको समेत अन्तिमसम्म पुग्ने देखिएको छ । सन् २०१९ मा अघिल्लो वर्षको तुलनामा यालु केही घटेका थिए ।

तर, सन् २०२० लाई सरकारले भ्रमण वर्ष घोषणा गरेका कारण यात्रु बढ्ने प्रक्षेपणसमेत कोरोना भाइरसको संक्रमणका कारण असफल बन्ने भएको छ ।

प्राधिकरणका अनुसार आम्दानी घट्दा नेपाल सरकारको स्रोतबाट सञ्चालनमा रहेका ठूला आयोजना प्रभावित नभएपनि आन्तरिकतर्फका विमानस्थलको काम भने प्रभावित हुने भएको छ । यसले विमानस्थलहरुको विकास र स्तरोन्नतिको काम प्रभावित हुने प्राधिकरणले जनाएको छ ।

८० प्रतिशतसम्म घट्दैछन् हवाई यात्रु

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले सन् २०२० मा एसिया प्रशान्त क्षेत्रमा ३८-७० प्रतिशतसम्म अन्तर्राष्ट्रिय र आन्तरिक उडानमा २८-५० प्रतिशतसम्म हवाई यात्रु घट्ने अनुमान गरेको छ ।

यो समस्याबाट नेपाल अझ बढी प्रभावित हुनेछ । किनकी सन् २०२० को पहिलो ६ महिनामा गत वर्षको पहिलो ६ महिनाको तुलनामा अन्तराष्ट्रियतर्फ ६१ प्रतिशतले यात्रु कम भइसकेका छन् ।

आन्तरिकमा ५५ प्रतिशतले यात्रु घटेका छन् । यस्तै अवस्था रहेमा सन् २०२० को बाँकी ६ महिना पुरा हुँदा ८० प्रतिशतसम्म हवाई यात्रु घट्ने अनुमान प्राधिकरणले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment