Comments Add Comment

कर्णालीमा प्रवेश गर्न पीसीआर अनिवार्य, होटल रेस्टुरेन्ट बन्द

३० साउन, सुर्खेत । कोरोना भाइरस (कोभिड–१९) को संक्रमढा बढेसँगै कर्णाली प्रदेशले नाकामा कडाई गरेको छ । प्रदेश संकट व्यवस्थापन केन्द्र (पीसीएमसी) ले भदौ १ गतेदेखि कर्णाली प्रवेश गर्न पीसीआर रिपोर्ट अनिवार्य गर्ने निर्णय गरेको छ ।

प्रदेशमा प्रवेशका लागि कम्तीमा तीन दिन अगाडि पीसीआर रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने व्यवस्था गरिएको निमित्त प्रदेश प्रमुख सचिव आनन्द सारुले बताए । उनले अघि भने,‘अब रातको समयमा प्रदेशमा पूर्णरुपमा प्रवेश वन्द गरिने छ ।’

प्रदेश भित्रिने मुुख्य नाका सल्यानको कालिमाटी, काल्चे, कपूरकोट, सुर्खेतको बबई र कुइनेमा पीसीआर रिपोर्ट हेरिनेछ । बाहिरबाट आउनेहरूमार्फत संक्रमणको जोखिम भएकाले यस्तो व्यवस्था गरिएको निमित्त प्रमुख सचिव सारुले बताए ।

पास बनाएर आएका व्यक्तिहरूले पनि पछिल्लो तीन दिनयताको पीसीआर रिपोर्ट पेश गर्नुपर्ने छ । देश भित्रबाट आएका र भारतबाट आएका नेपाली नागरिकहरुलाई छुट्टाछुट्टै क्वारेन्टिनमा राख्ने व्यवस्था गरिने बैठकले निर्णय गरेको छ ।

होटल तथा रेष्टुरेन्ट बन्द

संक्रमणको नियन्त्रण गर्न प्रदेश राजधानी वीरेन्द्रनगरलगायत मुख्य बजार क्षेत्रका होटल तथा रेष्टुरेन्ट भदौ १ गतेदेखि पूर्णरुपमा बन्द गर्ने निर्णय भएको छ ।

कतिपय होटल तथा रेष्टुरेन्टलाई भने स्थानीय प्रशासनको स्वीकृतिमा आवश्यक सुरक्षा मापदण्ड पुरा गरी आइसोलेसन तथा क्वारेन्टिनको रुपमा प्रयोग गरिने निमिक्ति प्रमुख सचिव सारुले बताए । ‘कुनै व्यक्ति व्यक्तिगत रुपमा होटलमा आइसोलेसनमा बस्न चाहेमा सुरक्षासहित बस्ने व्यवस्था गरेका छौं’ उनले भने ।

त्यस्त प्रदेश राजधानी वीरेन्द्रनगरको गोठीकाँडा र काँक्रेबिहार क्षेत्रमा ठूलो संख्यामा मानिसहरु घुमफिरका लागि जाने भएकाले त्यहाँ जान समेत रोक लगाइएको छ ।

प्रदेशमा तत्काल १५ आईसीयू थपिने

कर्णाली प्रदेशमा १५ वटा आईसीयू बेड थप्ने निर्णय भएको छ । प्रदेश पीसीएमसीको बैठकले दैलेख, कालीकोट र सल्यान जिल्ला अस्पतालमा आईसीयू बेड थप्ने निर्णय गरेको हो । खरिद जिम्मा सामाजिक विकास मन्त्रालयलाई दिइएको छ ।

प्रदेशका तीनवटा जिल्ला अस्पतालमा तत्काल ५/५ वटा आईसीयू र १/१ वटा भेन्टिलेटर थप्ने तयारी थालिएको सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिए । मन्त्री रावलका अनुसार अबको दुई हप्ताभित्र आईसीयू र भेन्टिलेटर सञ्चालनमा ल्याउने गरी काम भइहरहेको छ । सुर्खेत र जुम्लामा पनि आईसीयू र भेन्टिलेटर थप्नेबारे छलफल भइरहेको उनले बताए ।

कर्णालीमा हाल सुर्खेत, जुम्ला र दैलेख अस्पतालमा गरी ४० आईसीयू र १७ भेन्टिलेटर वेड छ ।

एक पालिका एक क्वारेन्टिन

भारतबाट फर्किएका नागरिकहरुलाई स्थानीय तहले विद्यालयमा क्वारेन्टिन गर्दै आएका थिए । पछिल्लो समय भारतबाट फर्किनेहरुो संख्या घट्दै गएको छ भने शिक्षा मन्त्रालयले विद्यालयहरुलाई क्वारेन्टिन नबनाउन आग्रह गरेको छ ।

अब ‘एक पालिका, एक क्वारेन्टिन र आइसोलेशन’ बनाउन सामाजिक विकास मन्त्रालयलाई जिम्मा दिइएको छ । भारतबाट आउने नागरिकलाई अनिवार्य रुपमा सीमा नाकाकै क्वारेन्टिनमा राख्ने प्रदेश सरकारको तयारी छ । क्वारेन्टिन भरिने स्थिती भएमा मध्यपश्चिम विश्वविद्यालयको भवनलाई प्रयोग गरिनेछ ,

थप सचेत हुन चिकित्सको सुझाव

कोरोना संक्रमण बढ्दै गएकाले नागरिकहरू थप सचेत हुन आवश्यक रहेको चिकित्सकहरूले बताएका छन् । उनीहरूले नागरिकहरू आफैं सचेत बन्नुको विकल्प नरहेको औंल्याएका हुन् ।

कर्णाली प्रदेश अस्पतालका डा. नवराज केसीले नागरिकले सचेत र सतर्क भएर स्वास्थ्य सुरक्षा मापदण्ड अपनाए मात्र संक्रमणको जोखिम कम हुने बताए । सरकारले पनि आवतजावतमा कडाइ गर्नुपर्ने सुुझाए । ‘कोरोना नियन्त्रण, रोकथाम, व्यवस्थापन लगायतका पक्षमा ठोस कार्ययोजनासहित कार्यान्वयनमा लैजानुपर्छ’ उनले भने, ‘नागरिकहरू पनि उत्तिकै जिम्मेवार बन्न जरुरी छ ।’

प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले कोरोना संक्रमणको जोखिमलाई कम गर्न मुख्यगरी सीमा नाकामा कडाइ गर्नु आवश्यक रहेको औल्याए । अनिवार्य रूपमा मास्क लगाउन र भौतिक दूरी कायम गर्न पनि आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment