Comments Add Comment

चितवनका चार नगरपालिकामा एक साता निषेधाज्ञा जारी गर्न सिफारिस

३२ साउन, चितवन । पूर्वी चितवनका चार नगरपालिकाहरुले एक साता निषेधाज्ञा जारी गर्न जिल्ला प्रशासन कार्यालय चितवनलाई सिफारिस गरेका छन् ।

पूर्वी चितवनको कालिका, रत्ननगर, खैरहनी र राप्ती नगरपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको आइतवार बसेको संयुक्त बैठकले आजै राति १२ बजेबाट निषेधाज्ञा जारी गर्न जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरेको रत्ननगर नगरपालिका प्रमुख नारायण वनले जानकारी दिए ।

‘भरतपुरमा पनि निषेधाज्ञा जारी छ, हेटौंडामा पनि छ, यो बीचको भाग मात्रै खुला हुँदा विभिन्न समस्या आइपरे,’ नगर प्रमुख वनले अनलाइनखबरसँग भने, ‘यहाँ पनि कोरोनाको संक्रमण बढेको र समुदायमा समेत फैलिने अवस्था आएकाले एक साता निषेधाज्ञा जारी गर्न सिफारिस गरेका छौं ।’

उनले अन्य प्रशासनिक लगायतका काम भरतपुरमा लकडाउन भएर रोकिएकाले यहाँ मात्रै खोल्नुको अर्थ नरहेको बताए । विभिन्न बहानामा मानिसहरु पूर्वी चितवनमा आउने र त्यसले संक्रमण फैलाउने अवस्था देखिएकाले जोखिम कम गराउन निषेधाज्ञा जारी गर्न सिफारिस गरिएको उनको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई बैठकमा बोलाए पनि उनी आइसोलेसनमा बसेको हुनाले सहभागी नभएको नगर प्रमुख बनले बताए । ‘प्रजिअले तपाईंहरु निर्णय गरेर ल्याउनुस्, हामी अवस्था हेरेर निर्णय लिन्छौं भन्नुभएको छ, सोही अनुसार सिफारिस गरेका छौं,’ नगर प्रमुख बनले भने ।

नगर प्रमुखहरुको बैठकले बकुलहर रत्ननगर अस्पतालमा रहने गरी पूर्वी चितवन क्षेत्रमा एक पीसीआर परीक्षण ल्याब खोल्न प्रदेश सरकारसँग माग गर्ने निर्णय पनि गरेको छ । राप्ती नगरपालिकाको सशस्त्र प्रहरी बल गढीमाई गण तीन नम्वर बाहिनीमा दुई जना चिकित्सकसहित आवश्यक स्वास्थ्य समाग्री प्रदेश सरकारसँग माग गरिएको छ ।

बकुलहर रत्ननगर अस्पतालमा पूर्वी चितवनलाई लक्षित गरी आइसोलेसन बनाउने निर्णय नगर प्रमुखहरुको बैठकले गरेको छ । पूर्वी चितवनमा मात्रै झण्डै २४ जना कोरोना संक्रमित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment