Comments Add Comment

भड्किलो तीजमा कोरोनाको नियन्त्रण !

हिन्दु नारीहरूको महान चाड हरितालिका तीज यसपालि केही फरक तरिकाले मनाइँदै छ । समुदायमा न कुनै जमघट भएको छ न त तीजको नाममा भड्किलो क्रियाकलाप नै भएको छ । विश्वमा महामारी रूपमा फैलिएको कोरोना संक्रमणको कारण यो वर्ष तीज पर्व घरमा मात्र सीमित भएको छ ।

नारीका वर्षभरिको वेदना पोख्ने तीजका गीतमा कोरोना भाइरसको बढ्दो संक्रमणका कारण झन् बढी मानसिक पीडामा गुज्रिनुपर्ने अवस्था सिर्जना भएको छ । तथापि, यो पर्वको आगमनसँगै हामी सम्पूर्ण नारीहरूमा उत्साह र उमंग आएको छ ।

हाम्रो बालापनको समयमा मनाउने तीज र अहिले मनाउने पद्धतिमा बृहत् अन्तर भएको छ । ५० को दशकमा गाउँघरमा साँझको समयमा घरधन्दा सकिएपछि छिमेकको कुनै एक ठाउँमा भेला भई देशको विषम परिस्थिति र आफ्ना परिवारबाट पाएका यातना, दुःख र पीडालाई गीतका शब्दमा ढालेर आफ्ना भावनाहरू व्यक्त गर्थे । घरहरूमा पालैपालो नाचगान गर्थे ।

कहिलेकाहीँ गीतका भाका गाउँने क्रममा आमा दिदीबहिनीका आँखाबाट बलिन्धारा आँसुका धारा छुटेको देख्दा सबैमा सन्नाटा छाउँथ्यो । त्यसैले तीज महिलाका भित्री मनको दुःख बाँड्ने चाडको रूपमा चिनिन्थ्यो । यो पर्वमा नारीका वर्षभरिका आफ्ना दुःख, कष्ट र पीडाहरू गीतको माध्यमबाट पोख्ने परम्पराको रूपमा स्थापित भएको चाड हो । कुशे औंसी तथा बाबुको मुख हेर्ने दिनदेखि सुरु भई ऋषिपञ्चमीका दिन अन्त्य हुने तीजको महिमाले हाम्रो सांस्कृतिक र धार्मिक पक्षमा सकारात्मक प्रभाव पारेको छ ।

बालापनमा हामीले तीजको समयमा राम्रा कपडा लगाउने गाउँने नाच्ने भन्ने बुझाइ थियो । हामीले बालापनमा देखेको हरितालिका तीज पर्व र पछिल्लो समयमा केही भिन्नता देखिएको छ । अहिले पनि राता नयाँ राम्रा कपडा लगाउने, चुरा पोते, आभुषण र मिष्ठान भोजन खाने सीमित रूपमा मात्र बुझेका केही नारीले यसपर्वको सामाजिक, सांस्कृतिक र धार्मिक पक्षको बारेमा जान्न उति नै आवश्यक छ ।

हिन्दु पौराणिक कथाअनुसार हिमालय पर्वतकी एक बुद्धिमानी र तीक्ष्ण बुद्धि कि पार्वतीको जन्म भयो । हिन्दु धर्मका सृष्टिकर्ता र अदृष्य शक्ति प्रकट गर्न सक्ने शिव भगवानका विभिन्न कथनबाट राजकुमारी पार्वती प्रभावित थिइन् । तर हिमालय पर्वतका राजाले उनलाई धनी भगवान विष्णुसँग विवाह गर्ने निर्णय गरेका कारण उनी दरबारबाट भागेर घना जंगलमा पुगिन् । उनले जंगलमा लामो समय तपस्वी बनेर बिताइन् । पार्वतीको यो क्रियाकलाप शिवको कानमा पुगेपछि उनी छक्क परे । उनी पार्वतीको समर्पण र प्रतिज्ञा जाच्ने निर्णयमा पुगे ।

एकदिन महादेव धनले सम्पन्नशाली विष्णुको भेष बदलेर राजकुमारी पार्वतीसँग विवाह गर्ने कुरा जाँच्न र पार्वतीलाई प्रलोभनमा पार्न एउटा सुन्दर दिव्यरत्न रथमा जंगलमा सवार भए । तर उनले राजकुमारी पार्वतीको मन जित्न सकेनन् । शिवले पार्वतीलाई गहिरो तपस्यामा देखेपछि उनी सामु आफ्नो असली रूपमा प्रकट भयो । उनको तपस्यामा शिवसँग विवाह गर्ने इच्छा भएकोले शिवले ‘तथास्तु’ भनेको त्योदिन नै हरितालिका तीज थियो । जब पार्वतीले आफ्ना पतिलाई उनको अविनासी चाहनाको रूपमा शिवलाई पाइन् ।

त्यसैले सोही दिनदेखि हिन्दु नारीहरूले आफ्नो शरीर र प्राणको शुद्धीकरण गरी व्रत बसेर हरितालिका तीज मेला भव्यताका साथ मनाउने गरिएको छ । अन्तमा पार्वतीले आफ्नो सपना साकार गरी शिवसँग विवाह गरिन् भन्ने किंवदन्ती पनि छ । त्यसैले यो पर्वलाई विवाहित हिन्दु महिलाले पतिको दीर्घायु, स्वस्थ र समृद्ध जीवनका लागि र अविवाहित महिलाले असल पति पाउने विश्वासमा यो पर्व मनाउने चलन छ ।

हिन्दु नारीहरूको विशेष यो चाड श्रीकृष्ण जन्माष्टमीको दिनपछि दाजुभाइहरू आफ्ना दिदीबहिनी तथा चेलीबेटीलाई लिनको लागि जाने प्रचलन छ । अष्टमी तिथिपछि आउने औंसीलाई कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिनको रूपमा मनाउँदै आएका छन् । बुबालाई विभिन्न उपहार दिएर साथै मीठामीठा खानेकुराका परिकारहरू बनाई खुवाएर आशीर्वाद लिने चलन छ । भदौ अमावस्यामा बुबाको मुख हेर्ने चलन रहेको र पवित्र घाँस कुश काटेर भित्र्याउने दिन पनि भदौ अमावस्यामा भएकाले दुवैलाई एकैदिन मनाउने चलन छ । यो कुशे औंंसी अर्थात् बुबाको मुख हेर्नेपछिका समयलाई हरितालिका तीज पर्वको रूपमा धुमधामसँग मनाइन्छ ।

तीजको पहिलो दिनलाई दरखाने दिन भनिन्छ । यसदिन वर्षौदेखि माइतीमा आउन नपाएका दिदीबहिनी तीजमा आउने र धेरै समयपछि भेट भएका साथीसँगीसँग नाचगानगरी रमाइलो गर्न पाउँदा ज्यादै हर्षित हुन्छन् । प्रायः दाजुभाइबाट पकाइने परिकारहरू सबै महिलाहरूले माइतीमा गएर दर खान्छन् ।

खिर, चामल, दूध घिउ, गेडागुडी, अचार र सागसब्जीबाट बनाइएका अनेकथरी परिकारलाई नै दरको नाम दिइएको हो । यो कुनै नयाँ खाना भने होइन । साथै, कोहीले माछामासुका परिकार पनि खाने चलन छ । यो दर रातको समय अर्थात् प्रथम प्रहर सूर्य उदय हुनु अगाडि लगभग बिहान २, ३ बजे भोजन गर्ने चलन छ ।

दोस्रो दिन अर्थात् हरितालिका तीजको दिन हो । यस दिन बिहान वा राति नै खाएको दरले दह्रो भएपछि महिलाहरू दिनभर उपवास बस्न सक्छन् भन्ने चलन छ । केही महिलाले यस दिन पानी समेत पिउँदैनन् । प्रायः महिलाहरू फलफूल, दूध र पानी पिउँछन् । यस दिन विवाहित र अविवाहित महिला दुवैले उपवास बस्ने गर्छन् । विवाहित महिलाले देवीदेवताप्रतिको भक्तिले आफ्नो पति र परिवारको दीर्घायु, सुख शान्ति र समृद्धिको कामना गर्छन् । साथै, अविवाहित महिलाहरूले दीर्घायु, स्वस्थ र असल पति पाउने आशामा उपवास राख्छन् ।

यो दिन घर वा माइत नजिकैको शिव मन्दिरमा दिदीबहिनी रातो वस्त्र र आभुषणले सञ्जिएर नाचगान गर्दै भगवान शिवजीको मन्दिरमा गई पूजा अर्चना गरेर रमाइलो गर्छन् । पशुपतिनाथको मन्दिरमा यस दिन धेरै महिला भक्तजनको घुइँचो लाग्छ । यस दिन महिलाहरू शिव लिङ्गमा दूध, बेलपत्र, फूल, मिठाई र सिक्का चढाएर प्रार्थना गर्छन् । साँझमा तेलको बत्ती रातभरि बालिन्छ । यो बत्तीको उज्यालोले पतिको दीर्घायु परिवारमा सुख, शान्ति र समृद्धि ल्याउने विश्वास रहेको पाइन्छ।

पछिल्लो समयमा महिलाले आफ्नो स्वस्थकर जीवनका लागि व्रत बस्ने चलन पनि बढ्दै आएको छ । लोक संगीत र नृत्यले तीजको परम्परागत मूल्य र मान्यतामा थप मनोरञ्जन गरेको हुन्छ । यस दिन विभिन्न रचनात्मक सामाजिक र पारिवारिक घटना, मनका वेदनासम्बन्धी शब्दलाई गीतको माध्यमबाट समूहमा गाएर भव्यताका साथ रमाइलो गरेर मनाइन्छ ।

यो दिन विभिन्न समुदायमा तीज गीत प्रतियोगिता गरेर पनि मनाउने चलन छ । त्यस्तै, केही नारीहरूमा भएको परिवारिक हिंसा, वेदना कष्टहरू साथै वर्षभरिका घटना तथा सामाजिक कुरालाई समेटेर गीत भाकामा गाइएका नारीका रोदनको रूपमा पनि यो चाडको परिचय बनेको छ । नेपाल सरकारले पनि नारीलाई यो हरितालिका तीज पर्वको दिनमा सार्वजनिक बिदा दिँदै आएको छ ।

तीजको तेस्रो दिन ऋषिपञ्चमी हो । यो दिन व्रतालु महिला बिहान सबेरै खोला, नदी, झरनामा गई पिना र रातो माटोले स्नान गरी वर्षदिनको हिसाब गरी ३६५ टुक्रा दत्तिवन जडीबुटी खाने चलन छ । त्यसपछि मध्याह्नमा सप्तऋषिको पूजा आराधना गरेर मनाइन्छ । पञ्चमीमा महिलाको मासिक धर्मको समयमा वर्षदिनका अन्जानमा भएका गल्ती र कमजोरीलाई शुद्ध पार्ने दिनको रूपमा पनि मनाउने किंवदन्ती छ । त्यसैले यो पञ्चमीको व्रतलाई पारिवारिक सुस्वास्थ्यको कामना र शुद्धीकरणको रूपमा पनि लिइन्छ ।

तीजको दिनमा हाम्रो समाजले महिलालाई अभिव्यक्तिको पूर्ण स्वतन्त्रता प्रदान गरेको छ ।  सञ्चार, जागरूकता र सचेतनाको कारण अहिलेका महिलाले यस अवसरलाई सामाजिक मुद्दाहरूको बारेमा चिन्ता र महिलाविरुद्ध हुने हिंसा र विभेदको आवाज उठाउन प्रयोग गरेका पनि छन् ।

हिन्दु नारीहरूको महान चाड हरितालिका तीज पर्वले समाजमा धेरै सकारात्मक कुराको स्थापना गरेको छ । यो पर्वको अवसरमा वर्षभरि नभेटिएका आफन्तजन माइती, दिदीबहिनी र साथीसँगीसँगको भेटले सामाजिक साम्प्रदायिकत्व बढाउन महत्वपूर्ण भूमिका खेलेको छ । महिलाले वर्षदिनमा हुने दुःख र कष्टलाई भुलेर माइतीघरमा आनन्दको महसुस गर्छन् ।

महिला जनजीवनमा बढ्दै गएको व्यस्तताका कारण तनाव मुक्त हुने अवसरको रूपमा पनि रहेको छ । दाजुभाइबीच हुने असमझदारीलाई यो तीज पर्वले दिदीबहिनीको माध्यमबाट पनि पारिवारिक मेलमिलापको वातावरण बढाउन ठूलो भूमिका खेलेको छ । त्यसैले यो पर्वलाई भाइचाराको सम्बन्धको चाड पनि भनेर बुझिन्छ ।

पछिल्लो दशकमा अधिकांश नेपालीहरू मोबाइल फोन, सञ्चारमाध्यम तथा सामाजिक सञ्जालको पहुँचमा पुगेको हुँदा आफ्ना दिदीबहिनी तथा चेलीबेटीहरू लिन जाने प्रचलन हराउँदै गएको छ । त्यस्तै, सहर बजारमा तीजको नाममा विभिन्न किसिमका विकृति फैलँदै गएको छ । केही महिला स्वयंले पश्चिमी शैलीलाई अपनाएर यो पर्वको महिमाको दुरूपयोग पनि गर्न थालेका छन् ।

तीज पर्वको रूपमा गाइने गीत र नृत्यमा धेरै परिवर्तन भएको छ । मौलिक भाकाहरू विस्तापित भएका छन् । तीज आउन एक महिनाअघिदेखि नै विभिन्न पार्टी प्यालेस रेस्टुरेन्टमा उत्ताउलो र भड्किलो तथा समाजमा विकृति ल्याउने गतिविधि र संस्कृतिको विकास भएको छ ।

त्यस्तै, सामाजिक सञ्जालमा अरूलाई देखाउन हरेक दिन महँगा वस्त्र लगाएका तस्वीर राख्नका लागि पनि खर्चालु भई परिवारमा समस्या बढ्दै गएको छ । अवैध मदिराको सेवनका कारण धेरै महिलाहरूको सडक दुर्घटना भएको समाचारहरू सुन्नु वा देख्नु परेको छ । त्यस्तै, गहनाहरू चोरी, डकैती र लुटपाट जस्तो अपराधिक जोखिम बढेको छ । त्यस्तै, लय, सुर र ताल नमिलेका पश्चिमी शैलीका गीतबाट प्रभावित भएका गीत चर्को बजाएर समुदायमा ध्वनि प्रदूषण तथा कोलाहल गर्ने क्रियाकलाप बढ्दै गएको छ ।

साना बाबुनानीका लागि पहिलो स्कुल घर र पहिलो शिक्षक आमा भनेर बुझिन्छ । तर यस्ता सामाजिक विचलन गराउने हाम्रा गतिविधि तथा क्रियाकलापले साना बालिकाहरूको मस्तिष्कमा कस्तो असर पार्छ भन्ने कुरा हरेक नारीले बुझ्नु आवश्यक छ । पछिल्लो समयमा महिलाहरू समानताको हकका धेरै कुरामा अगाडि छन् । नारीहरू सशक्त र आत्मनिर्भर बन्दै गएका छन् । चाहे भान्छामा होस् या बालबालिका हेरचाह अनि घरको काज सबै काममा महिलालाई श्रीमान्ले सहयोग गर्ने संस्कारको विकास भएको छ ।

विगत केही दशकमा विज्ञानको विकास र आधुनिकीकरणबाट तीजको महिमा व्रत बस्ने परम्परा र अन्य धार्मिक सम्बन्धका बारेमा आलोचनात्मक टिप्पणी नभएका होइनन् । त्यस्तै, पतिको खुट्टाको जल खाने प्रथालाई पनि टिप्पणी गरेको पाइन्छ । केही आधुनिक महिलाले पतिको खुट्टाको जल खाने प्रथालाई रुढीवादी धारणा भएको पनि अभिव्यक्ति दिएको पाइन्छ ।

जति चेतनाको विकास भए तापनि महिला हिंसा, कुटपिट, बलात्कार जस्ता जघन्य अपराधका समाचार हरेक दिन सुन्नुपर्दा अझै हाम्रो समाजको चिन्तन र सोचमा पछि परेको कुरा प्रष्ट देखिन्छ । त्यसैले यो स्वर्णीम समयमा हरितालिका तीज पर्वको अवसरमा मितव्ययिता र असल संस्कार स्थापना गर्ने सुनौलो अवसरको रूपमा लिनुपर्छ ।

यो समय विश्व महामारी कोरोना रोगको संक्रमणका कारण जस्तो असहज परिस्थिति भए तापनि हामी आफ्नो संस्कृतिलाई घरभित्र सीमित रूपमा मनाउने प्रयत्न गरौं । स्वस्थकर खाना खाऔं, आफ्नो कला संस्कृतिको जगेर्ना गरौं । विश्वभरि छरिएका हिन्दु नारीलाई यस गौरवमय पर्व हरितालिका तीजको उपलक्ष्यमा धेरैधेरै शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment